लक्ष्मी न्यौपानेले ल्याइन् मौलिक तिज गीत ‘मै माग्थें बालापन’

बाबुराम सिग्देल
काठमाडौं । केही समय अगाडि नेपाली लोकगीत तथा सांगीतिक क्षेत्रमा निकै चर्चित र आम नेपाली दर्शक स्रोताको मन मस्तिष्कमा बस्न सफल लोकप्रीय गायिका लक्ष्मी न्यौपानेले यतिबेला फेरि नजिकै आइरहेको तिजको अवसर पारेर आफ्नो बालापनकाे सम्झना गर्दै ‘मै माग्थेँ बालापन’ बोलको गीत ल्याएकी छन् ।

उनको आफ्नै मिठासपूर्ण तथा समधुर आवाज गीतमा रहेको छ भने गायिका न्यौपाने आफैँले शब्द सिर्जना गर्नुका साथै संगीत समेत भरेकी छन् । त्यस्तै, संगीकार कमल सौरागको संगीत संयोजन रहेको छ । उक्त गीतको भिडियोमा स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन रहेको छ भने सुरेश श्रेष्ठले छायांकन गरेका छन् ।

सोही भिडियोमा निर्देशक तिमिल्सिना र मोडल रिना थापा मगरले परम्पराका मौलिक पहिरनमा धमाकेदार नृत्यको साथ अभिनय गरेका छन् । बालापनमा साथी संगीसँग खेलिने तथा चाडपर्वमा गरिने नाचगानका विषय र खानपिनका परिकारको विषयलगायत गीतको शब्दमा समावेश गरिएको छ । उक्त भिडियो गायिका लक्ष्मी न्यौपानेले आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।

पछिल्लो समय लोक संगीतका विभिन्न गीत र तिज गीतमा समेत मौलिकाहिन शब्द साथै भिडियोमा पनि छाडा पहिरन देखाएको बेला आफ्नै सिर्जनामा यस मौलिक गीत र भिडियो बजारमा ल्याएको गायिका न्यौपानेले जानकारी दिइन् । उनलाई नेपाल सरकारले केही दिनअघि एक भब्य कार्यक्रमकाबीच अन्य विभिन्न कलाकारहरुसँगै स्रष्टा सम्मान समेत गरेको छ ।

सरकारले सिर्जनाका विभिन्न विधामा योगदान दिएका स्रष्टालाई सम्मान गरेको हो । गत सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा संस्कृति, साहित्य, ललितकला, संगीत तथा नाट्य क्षेत्रमा काम गरेका स्रष्टालाई सम्मानित गरिएको थियो । संस्कृतिमन्त्री योगेश भट्टराईले विभिन्न विद्यामा योगदान पुर्याएका स्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरेका हुन ।

त्यसक्रममा गायिका लक्ष्मी न्यौपाने पनि नगद रु ५० हजारसहित सम्मानीत भएकी थिइन् । हाल देशमा परम्पराका मौलिकता भुलेर विभिन्न कलाकारहरुले विकृती तथा विसंगती भित्र्याइरहेका छन् । कलाकारबीच नै गीतका शब्द–सिर्जना चोरी भयो भन्दै एक अर्काप्रति आरोप–प्रत्यारोप लगाउँदै आएका छन् । तर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आफूले चाहेर पनि यस्ता गतिविधी नियन्त्रण गर्न प्रतिष्ठानसँग पूर्णरुपमा कानून नभएकाले चुप रहन परेको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजीले बताए ।

युट्यूबमा भ्युअर्स बढाएर पैसा कमाउने यद्देश्यले पछिल्लो समयका केही कलाकारले यस्ता कार्य गर्ने गरेको पाइन्छ । यस्तै कारणले पूराना अग्रज कलाकार तथा स्रष्टा ओझेलमा परेका छन् । गीत संगीतकै माध्यमबाट व्यवसायिक धन्दा चलाएर केही त्यस्ता व्यक्तिले कलाकारीताको मूल्यांकन गिराएकोप्रति ध्यानाकर्षण भएको पनि अध्यक्ष बिजीको भनाइ छ ।