ब्यङ्ग्य कविता : दुई पाइलटकाे जहाज

कहिले पुग्ला गन्तव्यमा दुई पाइलटको जहाज
हल्लै अति मन्द गति मात्र ठूलो आवाज!

एउटा सिटमा दुइटा पाइलट बसे जाना जानी
मै चलाउछु जहाज भन्दै गर्दै खिचातानी

एक्लै छोड्दा एक अर्कामा शंका भा र हो कि ?
हिड्दा रछन एक अर्कालाई संगै संगै बोकी!

साँघुरो त्यो एउटा कुर्ची दुइटा पाइलट बसी
गन्तव्यमा पुग्ने हो कि जल्छ भुइमा खसी ?

दाँया बाँया बस्ने पाइलट एकै ठाँउमा बस्दा
तिमी पनि बाचौला र भुइमा जहाज खस्दा?

जहाजलाई गति दिने मात्र एउटा चाबी
त्यहि चाबिमा हुँदा आज दुइटा पाइलट हाबी

कुहिरो भित्र अल्मल्लिएर हराए झैँ बाटो
गति बिहिन जहाज भयो हुँदा मनमा फाटो

एउटा ताक्छ दक्षिण दिशा अर्को ताक्छ उत्तर
सिधै अगि बढ्ने जहाज भयो ठाडो पुच्छर

दुइटा ब्रान्डका फरक इन्जीन परिक्षणी उडान
न त मिल्छ आकार गति न कसिलो जडान

नराम्ररी हल्यो जहाज खस्लै जस्तो गरी
क्यबिनको ढोका खोल्दै निस्की एउटी परी

सुन्दरी त्यो एअर होस्टेज रैछै स्वरकी धनी
सबै यात्रु शान्त पार्दै गीतैबाट भनि

सम्बृद्धीकाे उडान हाे हुन्छ घच्याकघुचुक
चिम्म गर्नुस पेटी कस्नुस हुन्न थच्याकथुचुक

उसले भने सुन्थेकी खै भने जस्तो गरी
यात्रु सबै जम्मा भए उसकै वरिपरी

दुइ पाइलटको मनमुटाबमा खस्ने हो कि जहाज
लौ न नानी भित्र गएर सुनाउ न यो आवाज

एउटा मुख्य अर्को सहायक हुनु पर्ने ठाँउमा
जहाजै पो धराप भयो गठबन्धनको नाउँमा !!!!

(ब्यङ्ग्य कवि पन्त नेपाली साहित्ययकाे पहिलाे ब्यङ्ग्य काव्य काेइलीका समेत लेखक हुन)