ढलमा कोरोना देखियो भनेर आत्तिनु पर्दैन : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे,

ढलमा कोरोना देखियो भनेर आत्तिनु पर्दैन | यस्तो किसिमको परीक्षण सर्भेको लागि गरिन्छ | टाइफाइड, हैजा लगायतका रोग समुदायमा छ कि छैन भनेर पनि यो खालको परीक्षण गर्ने पुरानो बिधि हो |

ढलमा एक्टिभ कोरोना भाइरस हुँदैन | कोरोना भाइरस जीवित कोषमा मात्र बाँच्न सक्छ | ढलको परीक्षणबाट कोरोना भाइरसका टुक्रा, भाइरसको फोहोर वा जिन देखिने हो | यसबाट मानिसमा कोरोना संक्रमण सर्दैन | ढल मिसिएको पानी खाँदा पनि कोरोना संक्रमण सरेको प्रमाणित भएको छैन |

स्पेनको बार्सिलोनामा गत २०१९ मार्च महिनामा ढलको परीक्षणमा कोरोना भाइरस देखिएको थियो | त्यस्तै ब्राजिलमा २०१९ नोभेम्बर २७ मा गरिएको थियो | २०१९ को डिसेम्बरमा इटलीमा पनि यो परीक्षण गरिएको थियो | तर त्यो समयमा त्यहाँ कोरोना संक्रमणको महामारी फैलिएको थिएन | ढलमा देखिनेबित्तिकै महामारी हुँदैन | तर यसले के संकेत गर्छ भने समुदायमा संक्रमण छ, परीक्षण तीब्र गतिमा गर्नु जरुरी छ |

अहिले नेपालका ७७ जिल्लामै कोरोना संक्रमण देखिएको छ | काठमाडौं लगायत सहरी क्षेत्रमा कोरोना परीक्षण एकदम न्यून छ | यो निकै ठूलो विडम्बनाको बिषय हो | तसर्थ स्वास्थ्य मन्त्रालयमा नयाँ कर्मठ टिम नभएसम्म संक्रमण बढ्दै जाने तर परीक्षण घट्दै जाने भइरहेको छ | नीजि प्रयोगशाला र त्यहाँ रहेका जनशक्तिलाई उपयोग गरेर PCR टेस्टको दायरा बढाउन सकिन्छ | यो किन भइरहेको छैन, अनुसन्धानको बिषय हो |

हामी जनताहरु सकभर घरभित्र बसौं, बाहिर जानुपरे सहि तरिकाले मास्क, चस्मा र पंजा लगाऔं | ६ फिटको व्यक्तिगत दुरी कायम गरौँ | भीडभाडमा नजाऔं | साबुनपानीले पटकपटक हात धुने बानी गरौँ | हातले अनुहार छुने बानी त्याग गरौँ |