विश्व अर्थतन्त्रको सेरोफेरोमा धान दिबसलाई सम्झंदा

गोर्खाको बारपाक-सुलिकोट ४, सौरपानीका किसानहरु धान रोप्दै

आज पन्ध्र असार अर्थात् नेपालको “धान दिबस” हो। यो उपलक्षमा म सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु। धान दिबस भन्दा पनि आज “अन्न” दिबस भनेर मान्दा सुहाउने थियो जस्तो लाग्छ मलाई। बास्तबमै भन्नु पर्दा कथित औधोगीकरण र आधुनिकतातिर लम्कँदै गरेको विश्वमा, अन्न उब्जाउनेहरुलाई एकदमै कम महत्व दिने गरिएको छ। बिकसित देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी) लाई हेर्ने हो भने कृषिजन्य उत्पादनको योगदान एकदम नगन्य प्रतिशत मात्रै देखाईएको हुन्छ। जसले जे भने पनि आखिर नभई नहुने त अन्न नै हो त!

तरपनि कथित बिकसित देशहरुमा यसलाई किन नगन्य र न्यून पारियो त? अनि कथित बिकसित देशहरुमा सेवा मूलक कुराहरुको मात्रै किन चर्को र महँगो मूल्य राखिएको हुन्छ त? ती बिकसित मानिएका देशको अर्थतन्त्र खाली सेवामूलक गतिबिधीले मात्रै धानेको देखाईन्छ र त्यसैको आधारमा विश्वअर्थतन्त्रमा ती पूँजीबादी देशको मुद्राको भाऊ मात्रै जबर्जस्ती महँगो गराईएको पाईन्छ। युरोप, बेलायत र अमेरिका कै कुरा गर्ने हो भने उहिले उहिले कृषि नै मुख्य आयश्रोत रहेछ। पछि आएर मात्रै ब्यापार ब्यबसाय अनि त्यसमा पनि अहिले आएर खाली सेवा मूलक अर्थतन्त्रको भरमा मात्रै यी देशहरुको अर्थतन्त्र टिकेको छ। साच्चै भन्ने हो भने के नैतिकताको आधारमा विश्वमा यस्तो असमानता कायम गर्दै सोही ब्यबहार गरिनु ठीक हुन्छ त? के यो जायज हो त?

विश्वमा असमानता आउनुको पछाडि यो पूँजीबादी अर्थ प्रणालीको नै ठूलो हात छ भन्ने कुरा धेरै विद्वान वर्गहरुलाई सजिलै पच्न गाह्रो हुन्छ। जसले जे भने पनि आखिर मान्छेको प्राण धान्न नभई नहुने त अन्न नै हो नि, हैन र? तर पनि किन आज अन्न उब्जाउनेको हातमा भन्दा अरुकै हातमा धेरै सम्पति अर्थात् त्यही सम्पतिकै आधारमा विश्वमै बढी क्रयशक्ति अनि आर्थिक, राजनैतिक र सामाजिक शक्ति पनि तिनैको हातमा गईरहेको छ त? किन विश्वका किसान बर्गहरुको जीबन कहिल्यै माथि उकासिएन त? किन खाली बिचको दलालहरु र ब्यापारीहरुको मात्रै जिबनस्तर राम्रो छ त? मलाई जहिले पनि यही कुराको खुल्दुली लागी नै रहन्छ। आखिर रोग र भोकले धनी गरीब भन्दैन रहेछ भन्ने कुरो त पक्कै पनि अहिलेको कोरोनाले नै देखाईरहेको छ।

समयको हिसाबले हेर्ने हो भने अझैपनि अन्य कुराहरु उब्जाउन भन्दा खाद्यान्न उब्जाउन र लगाउने कपडाहरु उत्पादन गर्न एकदमै गाह्रो र धेरै समय लाग्ने कुरा हो। तर यति कुरा जान्दाजान्दै पनि किन नभई नहुने खानेकुराहरु र लगाउने बस्तुहरु भन्दा अरु सेवा मूलक चीजहरुको मूल्य मात्रै बढ्ता गराईन्छ? किन बिचमा बसेर बेच्नेको हातमा मात्रै बढी नाफाको हिस्सा हुन्छ? बेलायतकै कुरा गरौं विश्वका कुनाकुनाबाट आएको खाद्यान्न अन्य कुराहरुको तुलनामा निकै सस्तो गरी बेचिएको हुन्छ। अर्थात् अन्य बिल भन्दा खानाको बिल एकदमै सस्तो छ तर त्यसको तुलनामा सय बर्ष पुरानो थोत्रो घरको कोठामा बस्न र यातायातको साधनबाट हिडडुल गर्न भने एकदमै महँगो छ। समग्रमा एउटा कागजको खोस्टो अर्थात् “भिषा” अति महँगो छ।

साच्चै भन्नु पर्दा यी कथित बिकसित भनिएको पश्चिमा पूँजीबादी देशहरुले यसरी नै आफूखुशी विश्व अर्थतन्त्रलाई साम दाम दण्ड भेदको नीति मार्फत जबर्जस्ती आफ्नो हातमा लिएर असमनता कायम गर्दै विश्वभरका धेरै भन्दा धेरै मानिसहरुलाई ठगी रहेका रहेछन्। अनि हाम्रा कथित धर्म गुरुहरु र विद्वान बर्गले तिनैको दलाली गर्दै वकालत गरिरहेकाछन्। अझै पनि प्राय धर्म गुरुहरु र कथित पढेलेखेका विद्वानहरुको कृषकहरुलाई हेर्ने नजर भिन्दै छ। कहिले काहीं यस्तो लाग्छ कि कोरोना जस्तै कुनै महामारी आएर धेरै धर्मगुरुहरुको र कथित बाठाटाठा विद्वान कहलिएका अर्थशास्त्रीहरुको आँखा टक्लक्कै फोरिदियोस्। हैन भने काम गर्ने किसानहरुको पनि दिन फेरिने गरी अर्थनीतिहरु फेरिईनु पर्छ। मलाई आशा छ कि, कोरोनाले अबश्यै पनि विश्वलाई फेर्नेछ।

–उही हलोवाला

असार पन्ध्र २०७७ धान दिबसको दिन गोर्खाको बारपाक-सुलिकोट ४, सौरपानीका किसानहरु धान रोप्दै