नेपालमै जन्मिएकी भारतीय गायिका कौर भन्छिन्- लिम्पियाधुरा नेपालको हो, मोदीले फिर्ता गर्नैपर्छ

गायिका प्रिती कौरले आफू नेपालमै जन्मिएको र यहीँ केही गरेर मर्ने चाहना भएकोले आफूलाई नेपाली नागरिकता लिनबाट किन बञ्चित गरिएको हो ? भन्दै प्रश्न गरेकी छिन् ।
शुक्रबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको विशेष कुराकानीमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै गायिका कौरले यस्तो बताएकी हुन् ।

उनले नेपाली नागरिकता लिनको लागि आफू योग्य रहेको पनि बताईन् ।अहिले उनी भारतीय पासपोर्ट बोकेर हिँड्न बाध्य भएको बाध्यतापनि सुनाईन् । कुराकानीको क्रममा लिम्पियाधुरा नेपालको हो, भारतले फिर्ता गर्नैपर्छ बताएकी छिन ।प्रितीको प्रश्न छ, ‘मेरो जन्मभूमि र कर्मभूमि नेपाल । बिहे पनि यहीं गरें । तर नागरिकता नपाउने । अन्याय भएन र ?’

प्रितीको पहिलो गीत सन् २००४ मा रेकर्ड भएको थियो । त्यसको अघिल्लो वर्ष उनको सांगीतिक समूह ‘निभा’ ब्यान्ड प्रतिस्पर्धामा उत्कृष्ट ठहरिएको थियो ।

उनीबाहेक सबै सदस्य केटा थिए । रक–पपमा केटीको उपस्थिति न्यून थियो त्यतिबेला । टेकुस्थित न्यु फ्लोरेन्स स्कुलबाट एसएलसी गरेपछि विदेशी गीतहरू सुन्न थालिन् । बिस्तारै उनलाई लाग्न थाल्यो, म पनि यस्तै गाउन सक्छु । त्यही हुटहुटी पूरा गर्न उनले सुरुमा पूर्वीय संगीतको औपचारिक अध्ययन गरिन्, त्यसपछि ब्यान्डमा आबद्ध भइन् । त्यो यात्रा अहिलेसम्म जारी छ ।

अघिल्लो साता उनले आफ्नो युट्युब च्यानलमा नयाँ भिडियो सार्वजनिक गरेकी छन् । लकडाउनमै पतिसँग मिलेर घर र घरवरपर सो भिडियो बनाएकी हुन् । अरू पाँच गीत रेकर्ड भइसकेको र विस्तारै सार्वजनिक गर्ने उनले जानकारी दिइन् ।

नागरिकता प्राप्तिको संघर्षचाहिँ संगीतमा लाग्नु अगावैदेखिको हो । जब बुझ्ने भइन्, दिदी र भाइको साथमा सम्बन्धित सरकारी कार्यालय गइन् । जन्मका आधारमा नागरिकता पाइन्छ भन्नेमा ढुक्क थिए उनीहरू ।
‘हामीसँग बुबाआमाको नागरिकता मागियो, उहाँहरूको नेपाली नागरिकता थिएन । जन्मका आधारमा बनाउन पाइन्न भनेर हामीलाई फर्काइयो,’ करिब दुई दशकअघिको पल सम्झिइन उनले, ‘यता बन्दै नबन्ने भएपछि भारत गएर पासपोर्ट बनाएँ ।’