कतै नघुमेकी र नहिडेकी भक्तपुरकी ४ बर्षीया बालिकामा कोरोना संक्रमण !

रामगोपाल तमखु/भक्तपुर, १३ असार । भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका बोडे निलवाराही बस्तीको ४ बर्षीय बालिकामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरका एक पुरुषमा संक्रमण देखिएको जानकारी दिए पनि संक्रमित व्यक्ति मध्यपुर थिमि नगरपालिका वडा नं.९ निलवाराहीकी ४ बर्षीया बालिका भएको स्वास्थ्य कार्यालय कटुन्जे भक्तपुरका वरिष्ठ जनस्वास्थ्य अधिकृत कृष्ण बहादुर मिजारले बताउनु भयो ।

कतै नहिडेकी र कतै नघुमेकी बालिकालाई संक्रमण पोजिटिभ देखिए पछि सबै अचम्मित बनेका छन् । संक्रमित बालिकालाई पेट दुखेपछि उपचारको लागि काठमाडौंको सिनामंगल स्थित केएमसी अस्पतालमा लगिएको थियो ।

अस्पतालले एपेन्डिसाईटिसको अपरेसन गर्नु पर्ने भए पछि असार ११ गते कोरोना परीक्षणको स्वाब संकलन गरी पाटन अस्पताल पठाएको थियो । स्वाबको रिपोर्ट नआएसम्मको लागि बालिकालाई औषधि दिएर घर फर्काइएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले बताउनु भयो ।

बालिकाको स्वाब परीक्षणको दुई दिन पछि शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले रिपोर्ट कोरोना पोजिटिभ भएको पुष्टि गरेको हो । अहिले संक्रमित वालिकालाई थप उपचारको लागि पाटन अस्पताल लगिएको छ र घर सिल गरिएको प्रमुख श्रेष्ठले बताउनु भयो ।

बालिकासंग सम्पर्कमा रहेका सबैलाई होम क्वारेन्टाइनमै राखेर स्वाब संकलन गरी परीक्षण गर्ने पनि बताउनु भयो । संक्रमित बालिको ट्राभल हिस्ट्री नै नभएकाले कोरोना संक्रमणको रिपोर्टमा आशंका गरिएको छ त्यसैले पुनः स्वाव परीक्षणको लागि तयारी भइरहेको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।-न्यूज२४