जनावरको राष्ट्रियता खोज्नेहरुले, मान्छेहरुको राष्ट्रियता चाहिं किन भुल्ने नि?

रुद्र ढकाल हलोवाला,

मेरो गाउँको भर्खरै घटेको एउटा घटनाले मेरो ध्यानाकर्षण गरायो। र “जनावरको राष्ट्रियता हुँदा मान्छेको राष्ट्रियता किन बिर्सने?” भन्ने कुरामा नयाँ बहस गर्नकोलागि बाध्य पार्यो। साथसाथै उक्त घटनाले मलाई के बहु-जातीय, बहु-धार्मिक बिशेषताको राष्ट्रियता बोकेको हाम्रो सिंगो देश नेपालको पहिचान केही पहुचवाला समुदायका कथित ठूलाबढा मानिसहरुको मात्रै “पेवा” वा “बीरता” हो कि, अरु समुदायहरुको पनि साझा फूलबारी हो, भन्ने पनि लाग्यो। यो कुराले मलाई साच्चै नै सोच मग्न पार्यो।

अझै अचम्म त एउटै आर्यखस् समुदायको मान्छेहरुले आफ्नै आर्यखस समुदायको अर्को समुदायलाई जातीयताको आधारमा कथित दलीत बनाई वर्षौंदेखि जबर्जस्ती हेपेर उत्पीडन गर्दै आएकोमा पुन अझै त्यही समुदाय का मानिसहरुमाथि आजको युगको लोकतन्त्रपछि पनि पुरानै राज्य प्रशासन संयन्त्रको आडमा उत्पीडन र अत्याचार नै गरिरहेको भन्ने समाचारले पार्यो। अनि नेपाल भन्ने देश नेपालीहरुको चाहिं हुँदैहैन कि जस्तो आश्चर्य पनि लाग्यो! अझै मेरो ध्यानलाई एक फेरी “जनावरको राष्ट्रियता हुँदा मान्छेको राष्ट्रियता किन बिर्सने?” भन्ने राष्ट्रिय बहसतिर पो गम्भीर रुपले तान्यो।

प्रसङ् आफ्नै गाउँको हो।

एउटा राष्ट्रिय जनावर मानिएको जनावर गाईको ताजा मासु खाएको निहुँमा बारपाक-सुलिकोट सौरपानी-४ अर्थात् मेरो आफ्नै गाउँ भित्रको ग्याजी गाउँका ४ जना ‘नेपाली’ थरका मानिसहरुलाई गोर्खाको जिल्ला प्रशासन कार्यालयले पक्राऊ गरी थुनामा राखेको छ भन्ने खबरले आज सारा नेपालीहरुको ध्यान मात्रै नभई विश्वकै ध्यान खिचिरहेको पाएँ। जुन खबरले मलाई भने सार्है लज्जित समेत बनायो। उसो त उहिले उहिले हाम्रा गाउँघरमा बाघले गाईबस्तुहरु मारेको बेला ती समूहका मानिसहरुलाई हाम्रो बाऊबाजेहरुले नै आफै उनीहरुको घरमा गएर डाकीवरी बोलाई-बोलाईकन नै ती घरपालुवा जनावरहरुको मासु खुवाउँथे। त्यसोभए ती मानिसहरुलाई किन पहिला त्यसरी माया गरेर गाईको मासु खान दिएको त? भनेर मलाई अहिले असाध्यै एकप्रकारको खुल्दुली लागिरहेको छ।

हाम्रा गाउँघरका सार्की र तामाङ् थरका मानिसहरुले परापूर्ब कालदेखि नै भीरबाट लडेर मरेको या बाघले खाएर बाँकी रहेको गाईगोरुहरुको मासु खाँदै आएका कुरा हामीले देख्दै आएका थियौं। ती सार्की तथा तामाङ्हरु मध्ये सार्कीहरु त हिन्दु नै थिए तर त्यसमा कसैको आपति पनि थिएन। तर आश्चर्यको कुरो त्यस्तो कुरो जानीजानी पनि आजसम्म सबैले किन बुझ पचाएर चूप बसी रहे त?

के स्वास्थ्यको दृष्टिकोणले कसैलाई मरेको ‘सिनो’ खान दिनु जायज कुरो थियो त? शुरुमै यो कुराको किन खोजीनीति र बिरोध भएन त, पहिलाको हिन्दु राष्ट्र हाम्रो देश नेपालमा? यदि कसैलाई मरेको ‘सिनो’ या अर्को जंगली जनावरले आक्रमण गरेर मारी संक्रमित (कन्टामिनेटेड) पारेको प्रदुषित बासी तथा अयोग्य मासु खान दिन हुन्थ्यो भने, आजको जमानामा स्वास्थ्यको दृष्टिकोणले ताजा मासु नै खान खोज्दा किन चाहिं निन्दा गर्ने त अब?? अनि यसलाई हामीहरुले किन पहिलेको अमानबीय अपराधमा पछुतो नमानी अहिले आपति मात्रै जनाउने त? हैन भने कुनैथरी जात बिशेषलाई अर्कोथरी जात बिशेषको मान्छेहरुले यो चीज खा या यो चीज नखा भन्ने अधिकार यो संसारमा कहीं कतैपनि छैन र त्यस्तो जबर्जस्ती गर्न पाउनु पनि त हुँदैन नि आजको २१ औं शताब्दीको लोकतान्त्रिक जमानामा। अझै यसमा स्वतन्त्रता र मानाबधिकारको कुरो पनि जोड्न मुनासीब नै होला।

त्यस्तै फेशन र कपडाको कुरोमा पनि यहि कुरा लागू हुन्छ। कसैले कसैलाई जबर्जस्ती यही रंगको पहिरन या कपडा र यस्तै रंगको धोती या यस्तै रङ् र डिजाईनको लंगौटी, यसरी नै लगा या यस्तै बख्खु मैले झैं नै गरी ‘लौ ओढ्’ भनेर जबर्जस्ती भन्न मिल्दै मिल्दैन। आफ्नो जिऊलाई जस्तो लगाउँदा सुहाउँछ या जसरी लगाउँदा सजिलो अनुभब हुन्छ, आफैले नै आफ्नो खुशी अनुसार छानेर लगाउन पाउनु पर्छ, यस्तो निजीकुराहरुमा कसैले जबर्जस्ती उर्दी लगाउनु उचित हुँदैन, आजको जमानामा। त्यस्तै कसैलाई जबर्जस्ती कुनैपनि खाने कुरा या औषधी समेत खुवाउनु या कोचाउनु पनि हुँदैन। जुन अचेलको जमानामा अमानबीय तथा आपराधिक कार्य नै ठहर्छ। त्यस्तै खानपानमा पनि किन कसैले कसैलाई जबर्जस्ती किसिमले निन्दा गर्ने त?

एकचोटी लण्डनमा घरबेटीसंग यस्तै खानाको कुरोमा मेरो बिबाद पर्यो। घरबेटी मुस्लिम थियो। म हिन्दु, बाहुन्। मैले सानैदेखि पोर्कको मासु खान्थें। मलाई हाम्रा प्रधानमन्त्री के पी ओलीको नयाँ शब्दकोषले भने जस्तो पोर्कको “बोसिलो” र “फ्याटिए” लाम्टो अँझै पनि मिठो लाग्छ। पोर्कको बाक्लो छालाको लाम्टोमा चोईसम् को साग हालेर पिरो पिरो मसलेदार पार्दै तेलको भुटुनमा भुटेको मेरो आफ्नै रेसिपी मेनुलाई म “पोर्क पर्याक्पुरुक” भनेर भन्न रुचाउँछु। यसो जमघट हुँदाको बेला मैले बनाएको यो “पोर्क-पर्याक्पुरुक” मेरा साथीहरुले उधुम मिठो मानेर रौसीसंग खुबै खान्थे पनि।

सन् २०१४ सालको कुरो हो। म त्यतिबेला एक्लै बसेर दक्षिण पूर्बी लण्डनमा युनिभर्सिटी पढ्थें । एकदिन ती मेरा बंगलादेशी मुस्लिम घरबेटीले पोर्कको मासु आफ्नो फ्ल्याटमा नपकाईदिए हुन्थ्यो जस्तो गर्यो। मैले भनें हेर बाबु तँ र म दुवै धार्मिक सहिष्णुता भएको देश बेलायतमा बस्छौं। तँ मुस्लिम, म हिन्दु। तैले पोर्कको मासु खांदैनस् भने मैले पनि गाईको मासु खान्नँ। लौ भन्, तेरो फ्ल्याटमा म बसुन्जेल गाईको मासु न पका न त हुन्छ? मान्छस्? त्यसपछि ऊ सहमतिमा आयो। पछि त्यो घरमा बस्दा अरुपनि निकै भयङ्कर कुराहरु देखियो। त्यतातिर अहिले नलागौं। जे होस् यहाँ मेरो भनाईको तात्पर्य खानामा कसैले पनि कसैलाई जबर्जस्ती यो खा या यो नखा भनी जबर्जस्ती गर्नै मिल्दैन।

त्यस्तै जबर्जस्तीको अर्को प्रसङ्गमा बिहेवारीको कुरामा पनि आफ्नै बाबु आमाले पनि आफूले जन्माएको र हुर्काएको आफ्नै छोराछोरीहरु हुन् भन्दैमा या नजीकको नातेदार हो भन्दैमा कसैले कसैसंग जबर्जस्तीसंग बिहे गरीदिनु या कसै पराईसंग अरु कुनै प्रलोभन र फाईदाकोलागि जबर्जस्ती बिहे गर्नु या गराईदिनु पनि अहिलेको जमानामा ठूलो गैह्र कानूनी अपराध नै हो। दर्दनाक बलत्कार भन्ने कुरो जबर्जस्ती बिहेमा स्वतः हुन्छ। जबर्जस्तीको बिहे पछी हुने जोरजुलुमको यौन सम्बन्ध त्यसैपनि बलात्कार हुने नै भई हाल्यो। फेरीपनि भोजन कै कुरो गरौं।
मासुकै कुरो गर्दा बरु महामानव “बुद्द” जन्मेको देशको सरकारले यो पुण्य भूमिमा कसैले पनि अब आयन्दा खुलेआम काटमार नगर्नू भन्दै या खुलेआम बाहिर मासु काट्दा दुर्गन्ध फैलने र झिंगा तथा लामखुट्टेहरुको माध्यमबाट खतरनाक ब्याक्टेरिया अनि भाईरसहरु समेत फैलिएर संक्रमण हुन सक्ने खतरालाई औंल्याउँदै अब आएन्दा कतैपनि कसैले देख्नेगरी बाहिर खुल्ला रुपले कुनैपनि जनावरको मासु असुरक्षित तवरले काटमार तथा बध नै नगर्नू भनेर सरकारले ठाडो उर्दी लगाउन सक्ला। अनि ‘मासु नखाऔं’ भनी आग्रह गर्दै ‘शाकाहारी बन’ भनेर जनचेतना फैलाउन भने सक्ला। उस्तै परे यसै कुरालाई उत्प्रेरित गर्ने किसिमले पाठ्यक्रमकै बिकास गर्न पनि सक्छ। तर कसैलाई माछामासु नै नखाऊ भनेर उर्दी नै जारी गर्न या थुनछेक गर्न भने कुनैपनि सरकारले मानिसहरुलाई कदापि सक्दैन र मिल्दैन अहिलेको जमानामा किनकि यो मानिसको व्यक्तिगत स्वतन्त्रताको कुरा हो।

हुन त पुरानो चर्च किनेर गाईको गोबरले लिप्दै नलिपी त्यत्तिकै बाहिरबाहिर गहुतले छर्केर त्यै पुरानो चर्चलाई नयाँ मन्दिर मान्ने हिन्दु पुरातन अतिबादी मित्रहरुलाई यो कुरो मन नपर्न सक्ला तर आउनुहोस् अझै पुरानो परम्परागत रीतिरिवाज र धर्मकर्म कै कुरो गरौं फेरी। यदि हाम्रो धर्म र रीतिरिवाजहरु हाम्रा पुराना बाऊ बाजेहरुले नै बनाएका हुन् र हामीहरुले त्यसैलाई मान्दै र पछ्याउंदै आएका हौं भने, बाऊबाजेकै पालादेखि नै कसैलाई वा कुनै समूहका मान्छेहरुलाई स्वतन्त्र या जबर्जस्ती रुपले खान बाध्य पारिएको गाईगोरुको मासु अहिले आएर आफैं स्वतन्त्र रुपले खान खोज्दा हामीहरुले किन अंकुश या प्रतिबन्ध लगाएर थप टाउको दुखाउने त? र ती नेपाली दाजुभाईहरुलाई मासु खाएकै निहुँमा संसारै हँसाएर थुन छेककै बहस किन गर्ने त? मेरो बिचारमा यो अति नै नाजायज र पाखण्डी कुरो हो। के नेपाल भन्ने सिंगो राज्य अनि हाम्रो एकिकृत राष्ट्रियता केही क्षेत्री, बाहुन, नेवार, गुरुङ, मधेसी आदि केही गाई पुज्ने या गाईको मासु नखाने कथित उपल्लो जाती या हिन्दु समूहको ‘पेवा’ या ‘बीरता’ मात्रै हो त? के अरु जातीहरु हाम्रो देशको राष्ट्रियताकोलागि लड्दै लडेनन् होला त?
के साझा देशको साझा कानूनले या कुनै जाती बिशेष या खास धर्मको बाहुल्य भएको समाजको केही मान्छेहरुले पुरानो राज्य शक्तिको आडमा अर्को जातको या धर्म मान्ने अर्को समाजको मान्छेहरुलाई हेप्दै कुनै जनावरलाई ‘जिउँदै नखा’ र कुनै जनावरलाई चाहिं ‘मरेपछिको सिनो मात्रै खा’ भनेर आफैले बनाएको जबर्जस्तीको नियम कोचाउन मिल्छ त आजको आधुनिक जमानाको नेपालमा?

बरु सम्पूर्ण या कुनैपनि जनावरको खुल्ला रुपले गरिने हत्या र हिंसालाई अनि मासुजन्य पदार्थको खुला र असुरक्षित ब्यापारलाई नै देशैभर प्रतिबन्ध किन नलगाउने?? अनि कुनैपनि जनावरलाई क्रुर तवरले मार्न नै नपाउने कानून किन नबनाउने त?
हो पक्कै पनि गाई आजसम्म नेपालको “राष्ट्रिय जनावर” नै हो। तर राष्ट्रिय जनावर भन्दैमा कृषि प्रयोजन या दूधकोलागि सबैको नीजि घरगोठमा पालिएको घरपालुवा जनावरलाई जबर्जस्ती राष्ट्रियकरण गर्न मिल्ने कि नमिल्ने त? अब गम्भीर रुपले बहस गरिनु पर्छ। यदि त्यसो हो भने गाईको गोठहरुलाई मात्रै किन अन्धाधुन्द राष्ट्रियकरण गर्ने त? हरेक नेपालीको व्यक्तिगत घर जग्गाहरु पनि त सिंगो राष्ट्रकै एकीकृत राष्ट्रिय सम्पति हो नि, उसोभए घरजग्गा पनि गोठ जस्तै गरी, जम्मै घरगोठ जतिलाई नै समग्रमा राष्ट्रियकरण किन नगर्ने त? अब त्यसो हो भने सबै निजी घरजग्गाहरुलाई पनि राष्ट्रियकरण किन नगर्ने त अब?

यदि नीजि घर अनि नीजि जग्गाहरुको नीजि हकभोग र भोगचलन हुन्छ भने कसैले पालेको गाईभैंसी, भेडाबाख्राहरु पनि त्यसको धनीको व्यक्तिगत हक अनि आफूखुशीले भोगाधिकार किन नहुने त? अर्थात् त्यस्ता नीजी बस्तुहरुको व्यक्तिगत निजी भोगचलन, खपत या समूहगत प्रयोजनकोलागि किन प्रतिबन्ध लगाउने त? अर्थात् बस्तु र बजारकै कुरो गर्ने हो भने सम्पूर्ण बजारलाई नै किन राज्यद्वारा नै नियन्त्रित र ब्यबस्थित नगर्ने त?

अर्को कुरो के ती आरोपित नेपाली व्यक्तिहरुले त्यो राष्ट्रिय जनावरलाई राष्ट्रिय निकुञ्जबाट नै चोरी शिकारी गरेर ल्याएर खाए त? हैन भने यदि व्यक्तिगत घर गोठको कुनै पशुलाई राष्ट्रियकरण गरेर राष्ट्रियता देखाईन्छ भने मानिसको राष्ट्रियतालाई किन हरण गर्ने त? के नेपाल ती गोर्खाली नेपालीहरुको हैन भनेर भन्न कसैले सक्छ र मिल्छ त? के नेपालको संबिधानले कुनैपनि नागरिकलाई स्वतन्त्रसंग हिडडुल गर्न, बोल्न र आफ्नो ईच्छा अनुसार आफूलाई मनपरेको भोजन खाएर जिबिकोपार्जन गर्न पाउने अधिकारबाट बन्चित गरेको छ? के हाम्रो देशको कानूनले कुनैपनि समूहको मान्छेहरुलाई यो जनावरको मासु खा र यो जनावरको मासु नखा अनि यो जनावर जिउँदै नखा, यो जनावरको मरेपछि मात्रै सिनो खा भनेर ठाडै भन्न पाउँछ? भन्ने कुरो पनि स्वभावैले उठ्छ।

उसोभए बधशाला सम्बन्धी ऐनले कुनैपनि जनावरहरुलाई कसैले देख्ने गरी काट्न पाउने या नपाउने भनी गाईड गरेको छ कि छैन त? यस्ता कुराहरुलाई हाम्रो नेपालको कानूनले कसरी परिभाषित गरेको छ होला भनेर जान्न पनि मन लाग्यो मलाई।
धार्मिक र नैतिकताको प्रश्नलाई पनि त्यतिकै ईन्कार गर्न सकिन्न। केही वर्ष पहिले बैज्ञानिकहरुले गाई र मान्छे को स्टेम सेललाई क्रस गर्दा बेलायतका धार्मिक संघ संस्थाहरुले मानवीय नैतिकताको आधारमा बिरोध जनाएका थिए। तर उपर्युक्त मासुको भोजनको कुरालाई धार्मिक र नैतिक हिसाबले पूर्बाग्रह राख्यौं भने संविधानत नेपाल बहुजातीय बहुभाषिक राष्ट्र भई सकेको अबस्था छ।

कि नेपाल पहिलेको जस्तै विश्वकै एकमात्र नमूना “हिन्दु” राष्ट्र भएको भए राष्ट्रिय रुपले नै कुनै अल्प संख्यक समुदायलाई उनीहरुको कसूर भन्दै जबर्जस्ति अभियोग या महाअभियोग लगाउन मिल्थ्यो र जेलमा कोच्न पनि मिल्थ्यो। तर नेपाल अब एकमात्र हिन्दु राष्ट्र सम्बिधानत नै रहेन। त्यो कुरो अब नैतिक, धार्मिक र नैसर्गिक हिसाबले कदापि मिलेन। अनि किन हामीले आवाज बिहीन मानिसहरुलाई अर्घेल्याईं गर्ने र त्यतिकै अरुलाई बिनासित्तिको दु:ख दिने त?

बायोलोजिकल प्रोडक्टको हिसाबले भन्ने हो भने मासुजन्य उपभोग्य बस्तुलाई जथाभाबी खुल्ला र छाडा रुपले काटमार गर्न र बेच्न दिनु हुँदैन। यसरी कुनैपनि मासुजन्य पदार्थ माथि खुल्ला काटमार र बिक्री वितरण माथि भने राज्यले प्रतिबन्ध लगाउन मिल्छ तर यसो गर्दा गाईको मासुलाई मात्रै नभई सबै जनावरहरुको मासुलाई निश्चित स्थान तोकेर खुल्ला काटमार गर्न र बेच्न प्रतिबन्द लगाउन सकिन्छ। तर सडेगलेको बासी या सिनो मासुलाई भने बायोलोजिकल रोगको खतरा तथा बाताबरणीय प्रदुषणको हिसाबले नै प्रतिबन्ध लगाउनै पर्छ।
कोरोनाको महामारी पछि नराम्रोसँग चेतेको विश्वको ताजा अनुभबको कुरा गर्ने हो भने र साँच्चै नै भन्नु पर्दा अब आयन्दा कुनैपनि देशको सरकारले या विश्वले नै अहिलेको अबस्थामा कसैलाई पनि मरेको जनवारको ‘सिनो’ खानबाट कडा रुपले प्रतिबन्धित लगाउनु पर्छ। किनकि यदि यस्तो सिनोबाट ‘कोरोना’ जस्तै कुनै अर्को महामारी फैलियो भने संसारमा अर्को ठूलो आपत आईलाग्न सक्छ।

यसमा विश्व खाद्य संगठन र विश्व स्वास्थ्य संगठनकै आचार संहितालाई नेपालले पनि मान्नु पर्ने हुन्छ, सायद मानिरहेकै होला पनि। त्यसोभए के बिश्व खाद्य संगठनले ताजा गाईको मासुलाई नखा भनेर कुनै देशको कुनै समूहलाई प्रतिबन्ध लगाउन मिल्ला त?
अर्कोतिर यदि मरेको जनावर खान प्रतिबन्ध गर्ने हो भने ताजा र स्वस्थ माछामासु खानबाट किन कसैलाई बन्चित गर्दै थुनछेक गर्ने त? म एक ब्राह्मणको छोरो हुँ र गाईलाई अहिले सम्म नै पुज्छु र ढोग्छु पनि। मैले आजसम्म गाईको मासु खाएको पनि छैन। तर मैले त्यसो गरें भनेर संसारको अरु मानिसहरुलाई पनि जबर्जस्ती ‘मैले जस्तै गर’ ‘मैले जस्तै खाऊ’ या ‘मैले जे जे खान्छु, तिमीहरुले पनि त्यही त्यही खाऊ’ अनि ‘मैले जे धर्म मानेको छु, तिमीहरु पनि त्यही धर्म मान्नु पर्छ’ भनेर मेरो धर्म, रीतिरिवाज र संस्कृति जबर्जस्ती थोपर्न पनि म सक्दिन। सबैलाई आ-आफ्नै स्वतन्त्रता छ र म त्यसको आदर पनि गर्छु। तर मलाई पनि अरुले जबर्जस्ती उनीहरुको धर्म, संस्कार र रीतिरिवाज नथोपरुन् र अनावश्यक रुपले मेरो निन्दा पनि नगरुन्।

मलाई खट्किएको एउटै कुरो राष्ट्रिय जनावरको नाउँमा देशैभरका सबैका सबै गाईहरुलाई राष्ट्रियकरण गर्दै, राष्ट्रिय जनावर भनी समान देख्न सक्ने हाम्रो कथित उच्च हिन्दु जातीय अहंकारी आँखाले सम्पूर्ण मानब समुदायलाई चाहिं किन समान देख्न नसकेको होला? अनि सबै जातका गाईहरुलाई राष्ट्रिय जनवार देख्ने हाम्रा आँखाहरुले सबै जातीका नेपालीहरुलाई पनि एउटै राष्ट्रको समान नागरिक भनी देख्न किन नसकेको होला?

त्यसकारण गाई एउटा जनावरको यति बलियो राष्ट्रियता हुँदा झन् मान्छेहरुको चाहिं राष्ट्रियता किन भुल्ने त? के नेपालको राष्ट्रियता एउटा जाती बिशेष र समुदायको मात्रै हो त? के हाम्रो नेपाल बीर गोर्खाली नेपालीहरुको चाहीं हैन?
~उही हलोवाला, हाल लिभरपुल, बेलायत।