“अन्तराष्ट्रिय बिरुवा स्वस्थ्य वर्ष”– बन्दना भट्टराई

बन्दना भट्टराई , २३ जेष्ठ
हरेक कलिला पालुवाको आगमन भएपश्चात् अन्न बनेर भित्रनुसम्ममा एक बिरुवाले जसरी आफ्नो जीवन–चक्र सफल पार्छ त्यसरी नै एक कृषकले उक्त जीवन सफल पार्नकै लागि भनेर घाम , पानी , असिना केही नभनेर आफ्नो समय एक बिरुवामाथि खर्च गर्छन्। बिरुवाले वा वृक्षले मानिसको मात्र नभई सजीव प्राणीकै जीवन सुरक्षामा सहयोग गर्दछ सोही अनुरुप एक कृषकले आफ्नो मात्र नभई सबै वर्ग र जातका मानिसलाई बचाउन आफ्नो इलममा निखारता ल्याउँदै जान्छन । त्यसैले विरुवा र किसान मान्छे बचाउने अभियान सकृय रुपमा रहेको प्रस्टै देखिन्छ ।

विश्वव्यापी रुपमा हेर्ने हो भने संसारभर लगभग एक अर्ब जनसङ्ख्या कृषिमा आवद्ध छन् । त्यसैगरी नेपालको सन्दर्भलाई हेर्दा ६६ प्रतिशत नेपाली जनता नेपाली माटोसँग अथवा कृषिसँग आवद्ध छन् । देशको आर्थिक अवस्थालाई उकास्नको लागि कृषिक्रान्ति आवश्यक छ भन्ने कुरा हामी सर्बबिदितै छ । यमन , दक्षिण सुडान , अफगानिस्तान , भेनेजुएला , जिम्बाबे , कम्बोडिया , हाइटी र ब्रुनाइजस्ता देशलाई यूएनले भोकमरी हुनसक्ने देशको सूचीमा राखेको कुरा यतावत छ । यस्तै भोकमरीको समस्या आउने सम्भावना देखेर विभिन्न देशमा कृषि वैज्ञानिकहरू उत्पादन दर बढाउने कुरामा गम्भीर भएर लागिपरेका छ्न।

माटो, पानी, मल, बीउबिजन र मेहेनत भएको जमिनमा नै धेरै उब्जाउ हुनु सामान्य कुरा हो । किनकि धेरै उब्जनीका लागि उर्वर माटो, उन्नत बीउ, गोडमेल र उचित स्याहारको आवश्यकता पर्दछ । मानिसको हुर्काइमा जसरी पौष्टिक आहारको मात्रा चाहिन्छ त्यसरी नै बोट बिरुवाको लागि पनि मलजलको आवश्यकता पर्दछ। बोट बिरुवाको लागि मलजल पनि एक अति–आवश्यक तत्व हो । प्राङ्गारिक र रसायनिक गरेर मल दुई किसीमको हुन्छ । यी तत्वले जमिनको उर्वराशक्ति बढाउँदछ । भान्साबाट निस्केको तरकारी वा अन्य सड्नसक्ने वस्तुलाई खाल्डोमा कुहाएर बनाइएको मललाई प्राङ्गारिक मल भनिन्छ । यस्ता घरेलु मलले विरुवाको स्वास्थ्यमा कम हानी पुर्याउनुका साथै वातावरणमा समेत कम नोक्सान पुर्याउँछन ।

त्यसैगरी, रसायनिक मल विभिन्न रसायनको प्रयोग गरेर कारखानाबाट उत्पादन गरिन्छ । बोट बिरुवालाई छिटो खाद्य पदार्थको आवश्यकता भएमा रसायनिक मलको प्रयोग गरिन्छ । रसायनिक मल विभिन्न प्रकारका हुन्छन् ती मध्ये एमोनियम सल्फेट, सुपर फस्पेट, म्युरेट अफ पोटास पर्दछन् । प्राङ्गारिक मलको प्रयोग सजिलै गर्न सकिन्छ भने रसायनिक मलको प्रयोग गर्दा धेरै नै सावधानी अपनाउनु पर्दछ । मात्रा मिलाएर यसको प्रयो गरिएन भने जमिन र बोट बिरुवालाई नै यसले प्रत्यक्ष रुपमा असर गर्दछ ।

रसायनिक मल प्रयोग गर्दा बोट बिरुवाको जरालाई प्रत्यक्ष असर नगरी प्रयोग गर्नुपर्दछ । अन्यथा बिरुवा ओइलाउने ,सुक्ने र मर्नेजस्तो समस्या देखा पर्दछ । प्राङ्गारिक मलको प्रयोगबाट माटोको उर्वराशक्तिमा ह्रास नआए पनि रसायनिक मलको अत्याधिक प्रयोगमा भने माटोको उर्वराशक्तिलाई नै असर पुर्याउँछ र बिषादी र मलको प्रयोग गरिएको खाद्यपदार्थले मानव शरीरमा प्रत्यक्ष रुपमा नै असर गर्दछ । रसायनिक मलको प्रयोगमा सुरुमा उत्पादन धेरै देखिने भएता पनि बिस्तारै उत्पादनमा कमी हुन थाल्दछ । साथै रसायनिक मलको प्रयोग हुँदा माटोको अम्लियपन पनि बढ्ने घट्ने क्रम बाट जाने र माटो बिग्रने सम्भावना अत्याधिक रहन्छ ।

यसरी औद्योगिक रसायनको उत्पादनले वायुमण्डलमा “ क्लोरोफ्लीरो कार्बन” बढेको कुरा वैज्ञानकिहरूले स्वीकार गरेका छन् । त्यस ग्यासको प्रभावले ओजनको मात्रा घट्दै गएको छ । ओजनको मात्रा घटेर सतहमा प्वाल पर्यो भने सूर्यको परावैजनी किरण सोझै पृथ्वी मा पर्दछ जसको प्रभाबले ग्लोबल वार्मिङ निम्ताएको छ । यसबाट पृथ्वीमा जीवको अस्तित्व नै सङ्कटमा परेको छ । हिजोआज समयमा नै वर्षा हुँदैन , यदि वर्षा भए पनि अल्पवृष्टि , अतिवृष्टि र अनावृष्टि हुने गर्दछ । तसर्थ मौषम परिवर्तन नै बद्लिएको छ। यसरी मौषम परिवर्तनले गर्दा कृषी क्षेत्रमा सोझै असर परेको देखिन्छ । खाद्य गुणस्तर नियन्त्रण विभाग नेपाल ( १९९५–२००७ ) ले अध्ययन गरे अनुसार १०३४ खानाको नमुना संकलन गर्दा १२.१ प्रतिशत खाना किटनासक भएकै कारण दूषित भएको देखिएको छ ।

अर्थात उपभोक्ताले यस्तै खाद्यान्नको उपभोग गर्दै जाने हो भने मानिसको स्वास्थ्यमा नै असर पुग्ने कुरा अनुमान लगाउन सकिन्छ । बिरुवाको स्वास्थ्य भनेकै स्वस्थ्य वातावरण हो । कृषि क्षेत्रलाई आधुनिकिरण साथै जमिनमा हालिने बिषादीको पनि ख्याल राख्नुपर्दछ । बिषादीलाई न्यनीकरण गर्नु नै आजको आवश्यकता हो । र मलको प्रयोग , यसका फाइदा , दीर्घकालिन नतिजा , न्यून रसायनको प्रयोग र अर्गानिक खेतीको चेतना सबै कृषकमाझ पुर्याउनु अति आवश्यक छ ।आज एकातिर विश्वव्यापी रूपमा मानवहरु माहमारीको शिकार भइरहेको छन् भने विरूवा हरु पनि हातासिएका छन् । कृषि क्षेत्रमा बढ्दै गइरहेको अनुकूलता ,आउँदै गरेको सलहको आतङ्कबाट बोट बिरुवा लाई कसरी बचाउने भन्ने कुरा अहिलेको गम्भीर प्रस्न बन्दै गइरहेको हामी माझ यथावत छ।

त्यसो त बिरुवा हाम्रो लागि दाहिने हात नै हो भनेर सम्झे पनि हुन्छ । नेपालको सन्दर्भलाई नै हेर्ने हो भने नेपालसँग धातुजन्य खानी छैन र खनिज खोजको लागि प्रर्याप्त पूर्वाधार पनि छैन । तर हामीसँग बिरुवा भने अथाहा मात्रामा छ । त्यसमा गर्व गर्न चाहीँ पर्छ। मान्छेको जीवनमा जतिपनि सामान प्रयोग हुन्छन् त्यसमा लगभग ८० प्रतिशत बिरुवाबाट नै बनेको भेटिन्छ ।

हाम्रो समस्या भनेको हामीले किताबमा संसार पढ्यौँ तर व्यवहारमा हामीले लागु गर्न सकिरहेका छैनौ । यदि हामीले बिरुवाबाट उत्पादन हुने इथानोल र बायो डिजलजस्ता पदार्थलाई व्यवहारमा अँगाल्न सकेको भए इन्धनमा हामी कुनैपनि देशको भरमा बाँच्ने अवस्था आउने थिएन । यी निम्न कुराहरूको प्रमुख कारण नै कृषि माथिको हाम्रो बुझाई , कृषिलाई हेप्ने नीच दृष्टि पनि पर्दछ । कृषिले नै गरेर केही देशले केही वर्षमै कायापलट ल्याएको कुरा सर्बबिदितै छ । तर हामीले कृषकलाई गरिब र कृषिलाई गरिब व्यापार भनेर हेर्न थालेपछि हामी र हाम्रो देश सुस्ताएको हो । तर अहिले यस अवधिमा चाँहि हामी सबैले कृषिको महत्त्व लाई नजिक बाट नियाल्न पायौँ।

हाम्रो घरको लागि हाम्री आमा देवी हुन् भने धरतीको लागि बिरुवा पनि देवी नै हुन् । जुनकुरा हामीले बुझिरहेका छैनौ । पञ्चतत्वले बिरुवाको जन्म हुदैछ र त्यही बिरुवाले मान्छे र पशुपंक्षीको जन्ममा सघाउँदछ । बिरुवा र मान्छेको जीवन चक्र एक अर्कामा पूर्ण छन् । यो कुरा हामीले विद्यालयको बन्द कोठा पढ्यौँ र त्यसलाई परिक्षामा लेख्यौँ तर व्यवहारमा भने उतार्न सकेनौँ । यो नै हाम्रो मुख्य समस्या हो । हामीले बुझ्न जरुरी छ कि सुरक्षा नै हाम्रो दिगोविकाशको सम्भावना हो । त्यसको लागि हामीले कृषि बुझ्न आवश्यक छ र कृषि बुझ्नको लागि सर्वप्रथम प्रकृति चिन्नु आवश्यक छ । र प्रकृति भनेकै बोट बिरुवाको संगम पनि हो ।

हामीलाई दिएको शिक्षाले उच्च स्तरको डाक्टर बनाइरहेको छ , उच्चस्तरको पाइलट बनाइरहेको छ र अरु धेरै तर यी कुराको प्रश्न एउटा मात्र प्रश्न थप्ने हो भने नेपाली शिक्षा प्रणालीलाई जवाफ दिन हम्मेहम्मे पर्ने अवस्था छ । जस्तो कि, हामीलाई दिएको शिक्षाले कुनै उच्चस्तरको कृषक बनाएको छ ? मुख्य समस्या यहीनेर छ । हामीलाई प्रकृति चिन्ने र बोट बिरुवासँग नजिकिने शिक्षाको कमी छ । त्यो पर्खाललाई तोडेर हामीले कृषि चिन्न सक्यौ भने देशको आर्थिक र भौगोलिक विकाशका बोट बिरुवा नै विकाशको सूत्रधार बनेर आउनेछन् ।

युनाइटेड नेसनले वर्ष २०२० लाई “अन्तराष्ट्रिय बिरुवा स्वस्थ्य वर्ष” भनेर घोषणा गर्नुको मुख्य कारण नै व्यक्ति , समाज र राष्ट्रलाई बिरुवाको स्वस्थ्य सम्बन्धमा ध्यान आर्कषण गराउनु पनि एक हो । हरेक नागरिक सचेत भयो भने भोकमरीजस्ता समस्या भविष्यमा देखा पर्दैनन् । गरिबी न्यूनीकरण, समाजको विकाश र स्वस्थ्य कृषि प्रयोजनले देशको आर्थिक स्थितीमा नै टेवा पुर्याउँदछ साथै विश्वव्यापी रुपमा उत्पादन फस्टाउँदछ ।
जय कृषि, जय देश