इजरायलबाट आयो सुखद खबर कोभिड १९ नियन्त्रणका लागि

काठमाडौं, १४ जेठ- कोभिड १९ नियन्त्रणका लागि इजरायलबाट सुखद खबर आएको छ । त्यो सुखद खबर भनेको कोभिड १९ नियन्त्रणका लागि इजरायलको सिको गर्न सकिने बोधका साथ तेल अभिभ स्थित नेपाली दुतावासको आयोजनामा नेपाली र इजरायली चिकित्सक बीच भएको छलफल कार्यक्रम हो । किनकी, कोभिड १९ को संक्रमण फैलन नदिन तथा स्थितीलाई कसरी नियन्त्रणमा लिन सकिन्छ भन्ने उदेश्यले भर्चुअल कन्फ्रेन्स मार्फत छलफल गरिएको छ । दूतावासले मे २६ मा भर्चुअल मिटिङ सम्पन्न गरेको हो ।

सो क्रममा इजरायलका लागि नेपाली राजदुत डा. अन्जान शाक्यले कोभिड १९ नियन्त्रणमा लिन ईजरायलका सफल प्रयोग तथा भूलहरुबाट नेपालले सिक्न सक्ने बताएकी छिन् । ‘सापेक्षिक रुपमा कोरोना संक्रमण केही अगाडि देखि सुरु भएको र हाल संक्रमणलाई धेरै हदसम्म नियन्त्रण गर्न सफल देश ईजरायलबाट केही ढिलो संक्रमण सुरु भएको र हाल फैलँदै गरेको देश नेपालले संक्रमण नियन्त्रण गर्न व्यवस्थापकीय, नीतिगत, चिकित्सा तथा अन्य क्षेत्रमा ईजरायलका सफल प्रयोग तथा भूलहरुबाट धेरै कुरा सिक्न सक्ने तथ्यलाई मध्यनजर गर्दै दूतावासले सो छलफल चलाएको हो’ राजदुत शाक्यले भनिन । कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै राजदूत डा. अन्जान शाक्यले यस बिषम परिस्थितिमा नेपाल र ईजरायलका चिकित्सकहरु बीचको सहकार्यलाई घनीभूत बनाउन एक नेपाल-ईजरायल कोरोना संक्रमण व्यवस्थापन समूह गठन गर्दा प्रभावकारी हुने बिचार समेत व्यक्त गरिन । त्यसैगरी नेपालका लागि ईजरायली राजदूत बेनी अोमरले उक्त छलफललाई राम्रो शुरुवातको सं ज्ञा दिदै सर्हाना गर्नुका साथै यसको निरन्तरताको कामना पनि गरे ।

उक्त कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, स्वास्थ्य सेवा विभाग, नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक श्री रोशनी लक्ष्मी तुइ तुइ, शुक्रराज ट्रपिकल सरुवारोग अस्पतालबाट डा. अनुप बास्तोला, नेपाल मेडिकल काउन्सिलबाट प्राध्यापक डा. भगवान कोइराला, भेरी अस्पताल नेपालगन्ज, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान, जुम्ला, सेती अस्पताल, कैलाली , पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, चिकित्सा शास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलगायतका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत चिकित्सकहरु/चिकित्सा अधिकारीहरु तथा स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, स्वास्थ्य पत्रकारहरु, जनस्वास्थ्यविज्ञहरु, चिकित्सा अधिक्षकहरुसहित ईजरायलबाट प्रोफेसर डा. इली स्च्वार्त्ज् र प्रोफेसर डा. मिल्खाएल एल अल्कान गरि करिब ६० जनाको उपस्थिती रहेको थियो ।

नेपाली पक्षले कोरोना संक्रमणसम्बन्धी वर्तमान स्थिति, समस्याहरु तथा अन्य जिज्ञासाहरु राखेको थियो भने ईजरायली डाक्टरहरुले आफ्नो अनुभवबाट गर्न मिल्ने, गर्न पर्ने र गर्न नहुने बिषयहरुमा आ-आफ्नो राय प्रस्तुत गरेका थिए । एक घण्टाका लागि गर्ने भनिएको उक्त कार्यक्रम करिब दुई घण्टासम्म चलेको थियो । उक्त कार्यक्रम फलदायी देखिएको निर्क्यौलका सहित निरन्तरताका लागि आपसी सहकार्य बढाउने सहमतिका साथ कार्यक्रम समापन भएको थियो। छलफलका लागि ईजरायली डाक्टरहरुसँग समन्वय गर्ने कार्य ईजरायली आर्किटेक्ट डा. अदा गन्सचले गरेकी थिईन भने जनस्वास्थ्य विभाग, धुलिखेल हस्पिटलका सहप्राध्यापक डा. बिराजमान कर्माचार्य कार्यक्रम संचालकको भूमिकामा रहेका थिए ।