२ महिनापछि सुनको बजार भाउ सार्वजनिक आजको बजार भाऊ

काठमाडौं । दुई महिनापछि सुनको बजार भाउ सार्वजनिक गरिएको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले बुधबारदेखि सुनको भाउ सार्वजनिक गरेको हो । लकडाउनका कारण सुनचाँदीको कारोबार पनि बन्द हुँदा बजार भाउ तोक्न बन्द गरिएको थियो ।

महासंघले बुधबार सुनको बजार मूल्य प्रति १० ग्राम ७३ हजार ८ सय अर्थात् तोलाको ८६ हजार १ सय तोकेको छ । चाँदीको बजार भाउ तोलाको ८ सय ९० तोकिएको छ ।

महासंघका अध्यक्ष रमेश महर्जनले अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको भाउ निरन्तर तोकिएकाले नेपाली उपभोक्तालाई सूचना होस् भन्ने अभिप्रायले सुनचाँदीको भाउ तोकिएको बताए । उनले लामो समयदेखि सुनचाँदीको नतोकिँदा उपभोक्ता र व्यवसायी अन्योलमा रहेको बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघले भने लकडाउन नखोल्दासम्म सुनचाँदीको बजार भाउ नतोक्ने जनाएको छ ।

महर्जनले बुधबारदेखि नियमित सुनचाँदीको दरभाउ प्रकाशित हुने बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघलाई बजार भाउ तोक्न आग्रह गरे पनि नतोकेपछि महासंघले तोकेको महर्जनले बताए । विगतमा सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको बजार भाउ तोक्दै आएको थियो ।