प्रजिअ घिमिरे : दशगजा मिचेर बनाएको बाँध भारतले नभ,त्काए नेपालले भ,त्काउछ!

बालबिक्रम कार्की, रौतहट, १३ जेठ । स्थानीयको प्रतिकारको कारण रोकिएको रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा मिचेर भारतले निर्माण गरेको बाँधको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ ।

अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्का, सशस्त्र प्रहरी रौतहटका प्रमुख रविनराज कर्णजीत लगायतको उपस्थिति रहेको थियो । भारतीय पक्षले पक्षले बारम्बार बाँध निमार्ण कार्य रोक्ने भनेर सम्झौता गरेपनि नरोकेपनि स्थानीयवासीले गरेको प्रतिकार पछि अहिले बाँध निर्माण कार्य रोकिएको छ ।

यसपटक पुनः गरिएको अनुगमनमा नेपाली सर्वेयरहरुले नाप्दाखेरी बाँध निर्माण गर्ने क्रममा भारतले केही ठाउँमा दशगजा मिचेको पाइएकाले सो मिचिएको भाग भत्काउन २४ घण्टाको समय दिएको प्रजिअ घिमिरेले बताउनुभयो ।

यदि २४ घण्टाभित्र भारतीय पक्षले दशगजा मिचिएको स्थानको बाँध नभत्काए नेपाली पक्षले भत्काइदिने तयारी गरेको जानकारी पनि उहाँले दिनुभयो । ‘हामीले दशगजा मिचेर बनाइएको बाँध हटाउन भारतीय पक्षलाई भनेका छौँ ’ उहाँले भन्नुभयो, ‘यदि भारतीय पक्षले अटेर गरे हामी आफै दशगजा मिचिएको स्थानको बाँध हटाउने छौँ ।’

सो स्थानमा भारतले बाँध निमार्णको लागि बोरामा वालुवा हालेर थुपारिरहेको छ । सो अनुगमनको क्रममा भारतीय पक्षका स्थानीय अधिकारीको पनि सहभागिता रहेको थियो । यसअघि भारतीय पक्षले नेपाली पक्षसँग गरेको सम्झौता लत्याउँदै एकपक्षीय ढंगबाट बाँध निमार्ण कार्य जारी राखेपछि स्थानीयहरु सो कार्यको प्रतिकारमा उत्रिएका थिए ।

सो क्रममा भारतीय पक्ष र स्थानीय बीच तनावको अवस्था समेत उत्पन्न भएको थियो । स्थानीयको प्रतिकार पछि भारतीय पक्षले बाँध निर्माण कार्य भने अहिलेलाई रोकेको छ । प्रतिकारमा उत्रिएका स्थानीयलाई सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी वलले पनि साथ दिएर भारतीय पक्षलाई एकतर्फी ढंगबाट निर्माण गर्न लागेको बाँधको कार्य रोक्न दवाव दिएको थियो ।

भारतले लकडाउनको अवधिमा पनि निरन्तर बाँधको उचाइ बढाइरहेको छ भने बाँधको छेउमा बोरामा वालुवा हालेर वलियो हिसावमा बाँध निमार्ण गरिरहेको छ । हालसम्म सो बाँधमा साविकको भन्दा पाँच फिट बढी अग्लो र वर्षाको पानीले नभत्कने गरी वलियो बनाइसकेको स्थानीयवासी बताउँछन् । सो बाँधको कारण वर्षाको पानीले निकास नपाउँदा वर्षेनी सो क्षेत्र डुबानमा पर्ने गरेको छ ।- न्यूज२४नेपालबाट