बि.सं. २०७७ साल जेष्ठ ५ गते सोमबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ आजको राशिफल बि.सं. २०७७ साल जेष्ठ ५ गते सोमबार
आजको राशिफल बि.सं.२०७७ साल जेष्ठ ५ गते सोमबार ई. सं. २०२० मे १८ , नेपाल सम्बत ११४० बछलाथ्व एकादशी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण एकादशी, चन्द्रमा मीन राशिमा, उतरभाद्र नक्षत्र, प्रीती योग, बालब करण । नेपालमा सूर्योदय बिहान ०५ः१४ बजे, सूर्यास्त साँझ ०६ः४८ बजे हुनेछ । आज जन्म लिने बच्चाको मीन राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय बिहान ५ बजेर १४ मिनेट देखि ६ बजेर ५५ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – सरकारी वा प्रशासनिक काममा सफलता मिल्नेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन भने गरेका कामबाट प्रशस्त लाभ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुने योग छ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधनलाई उपयोग गर्न सकिने छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । व्यापारमा फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । नाम, दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – मनमा डर र त्रासको निवास भएकाले दिक्क लाग्नसक्छ, तर परिश्रम र मिहिनेतको प्रयोग गरेमा अन्त्यमा खुसीको वातावरण बन्नसक्छ । नयाँ जिम्मेवारीले दूरगामी भविष्यमा सकारात्मक परिणाम प्राप्त हुनेछ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा मिल्नसक्छ । प्रतिष्ठा प्राप्तिका लागि अलि बढी मिहिनेत र सङ्घर्ष गर्नुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन, गोपनीयतामा ध्यान पुर्याउनुहोला । सवारीमा सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ । स्वास्थ्य कमजोर रहनेछ । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – मन फुरुङ्ग हुनेछ । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । विभिन्न अवसरको प्राप्ति हुनाले मन प्रसन्न रहनेछ । सुन्दर पहिरनमा ठाँटिएर अरूको मन लोभ्याउन सकिने छ । मनग्ये धनलाभ हुनेछ । व्यवसायको सिलसिलामा रमाइलो यात्रा हुन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । व्यापार–व्यवसायमा लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)– आर्थिक क्रियाकलापमा सोचेअनुरूप फाइदा उठाउन सकिन्छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ । तर्क र बहसमा पकड भएकै दिन छ, त्यसैले मान–सम्मानको रक्षा हुनेछ । गरेका काममा देखिएका विघ्नबाधा हटाउन सकिने छ । व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिने छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन । विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आत्मबल दह्रो बनाउनु पर्छ, सोचेको काममा विजय प्राप्त हुनेछ । विगतमा दिएको वचन पूरा गरिने छ । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्न गोपनीय बाटोमा हिंड्नु राम्रो हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ । टाढिएका साथीभाइ नजिकिने छन । पारिवारिक भेटघाटको समय छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग लिन÷दिन सकिने दिन छ । उद्योग तथा बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ । कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक काममा लगानी गरिने छ । पुरानो समस्यालाई निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – भौतिक साधन जुट्नेछन र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । सहयोगीहरूले सकेको सहयोग गर्नेछन। शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ । विभिन्न अवसरले पछ्याउने छन । उचित काममा सही निर्णय लिन सकिने छ ।