अन्तर्राष्ट्रिय विज्ञान अनुसार नदीको आधारमा कसरी सीमाना छुटाउने ?

डा. अम्बरिस पोख्रेल

म जल विज्ञानको पनि एउटा राम्रो विद्यार्थी भएको नाताले जानकारी प्रस्तुत गर्दछु ।

१. पधेरो: पधेरो वा कुवा एउटा बिन्दुमा उत्पन्न हुने गर्छ । तर त्यो बिन्दुमा बगेर आइपुग्ने सम्पूर्ण सतही पानीले ओगटेको क्षेत्रफल (पानी ढल), त्यो पधेरो वा कुवाको क्षेत्राधिकार भित्र पर्दछ । स्मरणीय कुरा: जमीन मुनिको क्षेत्रफल, जसबाट मूल फुट्ने गरेको छ र जमीन बाहिरको अर्थात् सतहको क्षेत्रफलमा समानता नहुन सक्छ ।

२. खोला: पधेरो हुँदै पानी बगेर जाने बाटो नै खोला हो। खोलाको हकमा खोल्सा हरु वा साना_ साना पधेरो वा कुवाहरुको पानी मिसिन पुगेका हुन्छन् । र त्यो खोलाको मुहान, त्यही कुवा वा पधेरो हो भने त्यसको क्षेत्रफल चाहिँ त्यसको सम्पूर्ण पानी ढलो समेत हुने गर्दछ ।

३. नदी: कुनै पनि ठूला वा साना नदीहरूमा विभिन्न साना साना खोलाहरू, खोल्सा हरु, खहरे खोलाहरु मिसिन आइपुगेका हुन्छन् । अर्थात् विभिन्न साना हाँगाहरू मिसिन आएर नै ठूलो नदी बनेको हुन्छ । यसरी पधेरो हुँदै खोला र खोला हुँदै नदीको निर्माण भएको हुन्छ । यसको क्षेत्राधिकार पनि खोला वा पधेरोको जसरी एक एक जोडेर हुने नै भयो ।

४. नदीको आधारमा अर्थात् जलाधार आधारमा यदि नेपालको पश्चिमी क्षेत्रको सिमाना कायम गरिएको थियो भने नेपालको सिमाना स्वतः काली नदीको उत्पत्ति बिन्दु हुन जान्छ । यसको अर्थ दार्चुला, गुन्जी, नाभी, कुटी हुँदै लिम्पियाधुराको त्यो अग्लो डाँडाको टुप्पो समेत नेपालको हो । अर्थात् डाँडाको टूपोको धार (Ridge of that mountain) बाट पुर्ब हुँदै अनि मात्र लिपुलेक आइपुग्छ । यसरी लिपुलेक त चिनियाँ संगको एउटा सीमा बिन्दु मात्र देखिन्छ ।

५. किन लिम्पियाधुरा नै मुहान भयो त?
विश्वव्यापी रूपमा प्रचलन रहेको मान्यता वा जल विज्ञानको सिदान्त के हो भने, नदीको जुन खोला वा खोल्सा सबैभन्दा टाढा बाट आउँछ, त्यही खोला वा खोल्सा वा पधेरो वा कुवा त्यो नदीको मुहान मानिन्छ । फेरि त्यो पधेरो वा कुवाको क्षेत्र कहाँसम्म रहन्छ भन्ने कुरा त माथि उल्लेख गरिसकेको छु । महाकाली नदीको सबैभन्दा टाढा बाट आउने नदी वा खोला, वा खोल्सा वा त्यहाँ रहेको तप_ तप थोपा चुहिने जे जस्तो पानीको स्रोत होस्, त्यो नै लिम्पियाधुराको फेदीबाट निस्किएको पानी हो । यसरी मुहानको पहिचान गरिने गर्दछ ।

६. कालापानी, लिपुलेक वा लिपु भञ्ज्याङ किन होइन ?
लिपुलेक अत्यन्तै नजिकको उद्गमस्थल भएको सानो खोला देखिन्छ। यो मूल मुहान होइन । जस्तै: यदि तपाईंले आफ्नो “कुम” लाई “टाउको” हो भनेर मान्नू भयो भने के हुन्छ लगभग त्यही हो यो कुरा । अर्थात् दुनियामा चली आएको प्रचलन, मान्यता र सिद्धान्त छोडेर “टाउको” नजिकै रहेको “कुम” कसरी टाउको भन्न सक्नु हुन्छ ? भन्न त सक्नु हुन्छ । तपाईंको इच्छा हो । तर संसारले स्थापित गरेको मान्यता संग मेल खान्छ त ? जरुर खाँदैन । लिपुलेक र लिपियाधुरा मा यही फरक छ ।