सामान्य कुरा जसले कोरोना संक्रमण बढ्न दिदैनन् : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे
१. थुक्ने बानी बन्द गरौँ : सार्वजनिक स्थानमा थुक्नु असभ्यताको परिचय मानिन्छ | अहिले कोरोना संक्रमणको जोखिम बढेको समयमा बाटोमा, चौरमा तथा अन्य स्थानमा थुक्दा संक्रमित व्यक्तिले रोग सार्ने ठूलो माध्यम बन्छ | थुकमा कोरोना भाइरस २४ घण्टासम्म बाँच्न सक्ने अनुसन्धानले देखाएको छ | देखिने थुक तथा नदेखिने कण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ | खैनी, पान, गुट्खा, पान मसला, सुपारी, चुंइगम, भित्र दाना भएका साना फल आदि खाएर खुलेआम थुक्ने बानी आजैदेखि बन्द गरौँ |

२. मास्क, पंजा आदि जथाभावी नफालौं : आजकाल बाटो, पार्क, चौर लगायत सार्वजनिक स्थानमा मास्क, पंजा, हात सफा गरेको कपास, चुरोटको ठुटो जथाभावी फ्याँक्ने प्रचलन बढेको छ | ती सामान चरा, कुकुर तथा सवारी साधनले बिभिन्न ठाउँमा पुर्याउन सक्छन | बालबालिकाले समाउने तथा खेल्ने गर्न सक्छन | यो अभ्यासले संक्रमण एक ठाउँबाट अर्को ठाउँमा पुग्न सक्छ | तसर्थ आफुले प्रयोग गरेका मास्क, पंजा, कपास आदि फोहोर जम्मा गर्ने ठाउँमा वा घरभित्र खाडल खनेर त्यसमा राख्ने अनि नष्ट गर्ने गरौँ |

३. घरेलु पशुपंक्षीजन्य फोहोरको ब्यबस्थापन गरौँ :कुकुर, कुखुरा लगायत पशुपंक्षी पाल्ने व्यक्तिले बाटोमा दिशापिशाब गराउने काम नगरौं | कुकुर, कुखुरालाई पनि होम क्वारेन्टाइनमा राखौं | कुकुरका खुट्टाले संक्रमण घरभित्र ल्याउन सक्छ | त्यस्तै मल्मुत्रलाई घरमा खाडल खनेर त्यहि राख्ने गरौँ |

४. बाटो सफा राखौं :आफ्नो घर अगाडिको बाटो सफा गर्ने बानी बिकास गरौँ | बाटोमा रहेका सुर्ती, चुरोट, गुट्खा, जंक फुड लगायतका खोल बढारेर एउटा खाडलमा राखौं | हावा तथा पशुपंक्षीले यी खोललाई घरभित्र ल्याउन सक्छ |

५. जुत्ताचप्पल तथा आफ्नो सबारी साधनको टायर सफा गरौँ :जुताचप्पल तथा टायरमा संक्रमितको म्युकस, संक्रमितले फालेका मास्क, कपास लगायतका पदार्थ घरभित्र आउन सक्छन | तसर्थ घरबाहिर साबुनपानीले राम्रोसंग जुत्ताचप्पल सफा गरेर घाममा सुकाउने गरौँ | त्यस्तै टायरलाई राम्रोसंग धुने गरौँ |

६. सुरक्षित बनौं :घरबाहिर निस्कदा मास्क, चस्मा, पंजा लगाउने बानीको बिकास गरौँ | त्यस्तै विन्डचिटर, ट्राउजर र साबुनपानीले धुन मिल्ने सेन्थेटिकको जुत्ता लगाउने गरौँ | बाहिरबाट घर आएपछि ती कपडा, मास्क, पंजालाई घर बाहिर राख्ने गरौँ |

७. सफाइका सामान राखौं :घरको गेटनेर, मुल ढोकानेर, हरेक बाथरुममा, किचनमा, डाइनिंग हल, बेडरुम, बरण्डा आदिमा स्थान अनुसार ह्याण्ड स्यानिटाइजर, साबुनपानी, सफा टावेल अटुट रुपमा राख्ने गरौँ | यी सामान बच्चाको पहुँच नहुने गरि राखौं |

८. सौचालयको सफाइ :भारत लगायत धेरै देशमा सौचालयबाट कोरोना फैलिएको समाचार आइरहेका छन् | सम्भव भएसम्म छुट्टाछुट्टै सौचालय प्रयोग गरौँ | प्रयोग गरेपछि सफा गरौँ | कमन ट्वाइलेट भएको ठाउँमा पालो गरेर दिनको ३ पटक साबुनपानी, क्लोरिन झोल र लाइसोलले सफा गरौँ | प्रयोग गरेपछि हरेक व्यक्तिले सफा गरौँ | सार्वजनिक सौचालय, कार्यालयको सौचालय तथा साझा सौचालयमा सरसफाई नियमित गर्ने प्रबन्ध गरौँ | त्यस्ता सौचालयमा साबुन, स्यानिटाइजर राख्ने गरौँ | सौचालयको ह्याण्डील, चुकुल आदि छुनु अघिं र छोएपछि हात धुने / छोएका स्थानलाई स्पिरिटले सफा गर्ने गरौँ |