३१ गते बुधबार बि.सं. २०७७ साल वैशाख पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्योतिर्विद कृष्ण प्रसाद कोइराला
आजको राशिफल बि.सं. २०७७ साल वैशाख ३१ गते बुधबार आजको राशिफल बि.सं.२०७७ साल वैशाख ३१ गते बुधबार ई. सं. २०२० मे १३ , नेपाल सम्बत ११४० बछलाथ्व षष्ठी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, ज्येष्ठ कृष्ण षष्ठी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शुक्ल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ०५ः१६ बजे, सूर्यास्त साँझ ०६ः४५ बजे हुनेछ । आज जन्म लिने बच्चाको मकर राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल वा धनियाँ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय विहान ५ बजेर १६ मिनेट देखि ८ बजेर ३९ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइ हाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । प्रयाससाध्य समय छ धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनसक्छ । प्राविधिक काममा सफलता प्राप्त हुने छ । विद्यार्थीहरूको आत्मविश्वास जाग्नेछ र मान्यजन तथा अभिभावकको आशीर्वादले काम गर्नसक्ने दिन छ, श्रममूलक काममा मन जानेछ । स्वास्थ्य सबल रहने छ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – नवौं भावमा चन्द्रमा रहेकाले सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्नसक्छ । त्यसैले सामाजिक वा सांस्कृतिक क्रियाकलापमा सहभागी बन्नु राम्रो हुन्छ । व्यक्तिगत मानसम्मानको रक्षाका लागि प्रयास हुनेछन । रोकिएका काम ढिलो गरी बन्नेछन। धार्मिक वा सांस्कृतिक महत्वको यात्राको सम्भावना छ । झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाटको सम्भावना छ । गृहिणीहरूलाई कामधन्दामा सहयोग प्राप्त हुने समय छैन, जेगरे पनि पाखुरी खियाउनै पर्छ, यद्यपि धन, मान र प्रतिष्ठामा कमी हुनेछैन । छात्रछात्राले कर्म गरेअनुरूप भाग्य निर्माण हुने दिन छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – प्रेमसम्बन्धमा निरसता छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । स्वास्थ्यप्रति पनि सचेत हुनुहोला । आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, लामो दूरीको यात्रा प्रारम्भ गर्नु हुँदैन । तपाईंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, बोलेर भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । गृहिणीहरूलाई सन्तानपक्षको सहयोग मिल्नेछ । कर्मचारीका लागि पनि समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । परिवारजन र आफन्तजनसँग आत्मीय सम्बन्ध कायम हुनेछ । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । साझेदारीमा गरिएको व्यवसायबाट लाभ लिन सकिने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । मनमा शान्तिको अनुभूति हुनेछ । छात्रछात्राको मन सिर्जनात्मकता र व्यवहारिकतातर्फ आकर्षित हुनेछ । गृहिणीहरूले घरायसी समस्या समाधान गर्न सक्नेछन। माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुनसक्छ । दूरदराजको यात्राको सम्भावना छ । वैदेशिक प्रयोजनका लागि गरिएको प्रयास सार्थक हुनेछ । स्वास्थ्यका दृष्टिकोणले समेत यो राम्रो समय छ । आर्थिक लाभ हुनेछ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । खासगरी विद्यार्थीहरूले बौद्धिक क्रियाकलापप्रति झुकाव बढाउनु जाति हुन्छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । गृहिणीहरूलाई भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन। सन्ततिपक्षबाट पनि खुसीको समाचार प्राप्त हुने छ । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – चौथो घरको चन्द्रमाले मानसिकतामा थोरै विचलन ल्याए पनि प्रणयसम्बन्ध र प्रेमको वातावरण बन्नेछ । सन्तति पक्षको साथसहयोग प्राप्त हुनेछ । घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । छात्रछात्राले परिश्रम गरेबमोजिम प्रतिष्ठा प्राप्त गर्नेछन । कर्मचारीहरूले हाकिम वा विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त गरी रोकिएको काम बनाउने समय छ । सबै जातकको मन बढ्ने योग छ र सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – सामाजिक काममा संलग्न हुनुपर्ला । खासगरी छात्रछात्राले सहकार्यका माध्यमबाट विशेष ज्ञान प्राप्त गर्ने दिन छ । प्रायः सबैले पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सक्नेछन, आकाङ्क्षा पूर्ण हुनेछन । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन। अर्थलाभका अवसर आउने छन। धार्मिकरसामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवामिष्ठान्न र परिकार मिल्नेछ । प्रतिष्ठा बृद्धि गर्ने समय चल्दैछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका चाहना पूरा नहुनाले ठाकठुक पर्नसक्छ । घरायसी परिबन्दले खर्चको मात्रामा बृद्धि हुने सम्भावना छ । गहना, कपडा वा धातुको कुनै वस्तु किन्दै हुनुहुन्छ भने मोलतोल गर्न नबिर्सनु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ । आवश्यकता अनुरूप बन्दव्यापारमा समय दिन सकिंदैन । छात्रछात्राले अनावश्यक विवादबाट जोगिने समय हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मनमा नयाँ आशा जाग्न सक्छ, नयाँ कामको खोजीमा मन लालायित हुनेछ । शिरमा रहेको चन्द्रमाको प्रभाव कमजोर छ, त्यसैले बोलीमा संयमता अपनाउनु होला, किनभने तपाईंको विचार, भावना र इच्छाको कदर हुनेछैन । यद्यपि परिश्रम र आत्मबलले कार्य सफल हुने देखिन्छ तर गरेको काम दीर्घकालसम्म अडिलो नबन्न सक्छ, त्यसैले तुरुन्त पूरा हुने काममा मात्र हात हाल्नु राम्रो हुन्छ । बुद्धि र विवेकको सकेसम्म प्रयोग गर्नु जायज हो, हतारमा गरेको निर्णय फेर्नु पर्ने बाध्यता सिर्जना हुन्छ । सामाजिक र परोपकारी काममा जस पाइँदैन, यद्यपि सहभागी भएमा दीर्घकालिक उपलब्धी हासिल हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुपर्छ । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । प्रणयसम्बन्धमा चिसोपन आउने छ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले दिक्क लाग्नेछ । छर–छिमेकमा पनि सानातिना असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धामा पराजय ब्यहोर्नु पर्छ । दुर्गमस्थान र टाढाको यात्राको सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु नै ठिक हुनेछ । कल्पना र भावनामा केन्दित भइने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक पक्ष सबल बन्नेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीको सहयोगबाट छात्रछात्राले नयाँ ज्ञान प्राप्त गर्ने योग छ ।