टनकपुरलाई दाइजोमा र महाकालीलाई दुराने कोशेलीमा सुम्पिनेहरुको सत्तामा हालीमुहाली रहुँन्जेल चाहे सिमा मिचोस वा नेपालीको घाँटी थिचोस यी कहिल्यै देशको हितमा सोच्ने छैनन् ।

एक नारायण पौडेल साउदी,

टनकपुरलाई दाइजोमा र महाकालीलाई दुराने कोशेलीमा सुम्पिनेहरुको सत्तामा हालीमुहाली रहुँन्जेल चाहे सिमा मिचोस वा नेपालीको घाँटी थिचोस यी कहिल्यै देशको हितमा सोच्ने छैनन् । आखिर चुनावी रास्ट्रबादले सत्तामा पुर्याए पछि अब त्यो रास्ट्रबादी चुनावी नाराको के काम ?? झण्डै दुई तिहाईको बलियो सरकार , हलो अड्काउने कमजोर प्रतिपक्षी र जनताको अथाह साथ समर्थन हुँदा पनि सचिब स्तरीय कुटनैतिक प्रयासले भ्यागुतो निलेको सर्पले बार्दलीबाट ताली पिट्दा भ्यागुतोलाई बाहिर निकालीदिन्छ भनेर सोच्नु आफैले आफुलाई मुर्ख बनाउनु हो।

हो हामी कमजोर छौ , गरिब छौ, सानो छौ छिमेकीसङ्ग बम र बारुद बोकेर लड्न सक्दैनौं तर अलिकति हिम्मत त गर्नु नि सत्ता हिमायतीहरु हो । के कतार बिशाल र बम बारुद बोकेर साउदी अरबको नेतृत्वमा अन्य ६ मुलुकको नाकाबन्दी र थिचोमिचोलाई डटेर सामना गरेको थियो ?? यो पनि सत्य हो कतारी जनता झै हामी धनी छैनौं हाम्रो प्रतिब्यक्ती आय पनि हजार भन्दा माथी छैन तर कमसेकम आफ्नो माटो , आफ्नो भुमी, आफ्नो सार्बभौमसत्तालाई दुष्ट छिमेकीले पटक पटक चिथोरी रहँदा , कोपरी रहँदा , लुछिरहँदा हामी जनतालाई दुख्ने , एकताबद्ध हुने , आवाज गुन्जिने , बिद्रोहको ज्वाला दन्किने ,आक्रोसले बैरी माथी धावा बोल्न तयार हुने तर सत्ताको सिंहासनमा अट्टाहास हाँसिरहेको मेरो सरकार, मेरो रक्षामन्त्री , मेरो परराष्ट मन्त्रालय अझै प्राबिधिक कुराहरु जोहो गर्न भ्याएको छैन । महाकाली पारीको बारी बैरीले कप्लक्कै निलेर भुडी सहितको नक्सा निकाल्दा पनि मेरो देशको सरकार आफ्नो भुभागको नक्सा बनाउन १ बर्षमा पनि भ्याउदैन । अझ बैरीसङ्ग लुकलुक काम्दै उसैसङ्ग लोलोपोतो गर्दै न्यायप्रेमी जनताको माटोको मायालाई , रास्ट्रको आवाजलाई माईतीघरमा घेरा हाल्छ हातमा हतकडी थमाउछ ।

आफ्नो माटो मिच्ने बैरीको हात काट्न रास्ट्रिय आह्वान गर्दै सिमानामा पहरेदार हुनुपर्ने नेपाल प्रहरी आफ्नै दाजुभाइलाई माथिको आदेशमा बुट बजार्न हतारिन्छ । रास्ट्रमाथि आईपर्ने सकटमा बोल्नुपर्ने , बैरीको अगाडी छाती थाप्न तयार हुनुपर्ने ९६ हजार सेनाको इतिहास के सत्ताका मतियारहरुको चस्मा , जुत्ता र झोला बोक्न मात्रै हो र त ?? के नेपाल आमामाथी संकट आईलाग्दा बलभद्र कुवर, भक्ती थापा र भिमसेन थापाका सन्तान भन्दै गर्बले छाती मात्रै फुलाउने कि आफ्नो आमामाथी बैरीले बुट बजार्दा आमाको रक्षार्थ सिमानासम्म जाने हिम्मत गर्ने ??

१९५० को सुगौली सन्धीले नै ठगिएका इतिहासका वीर नेपाली हामी सबा सय बर्ष ठुल्दाईको कृपा र अनुग्रहले त्यस्तो बिरतामय इतिहासलाई कुल्दचै यति लाचार र निकम्मा हुँदै जाने हो भने एक दिन जसरी वीर गोर्खालीको इतिहास बनेको थियो त्यसैगरी इतिहासको पानामा नमेटिएला भन्न सकिन्न ।

प्रधानमन्त्री ज्यु , आफ्नै नातेदार बैनि वा भान्जीको माया र कृपामा पाएको जवान मृगौलाको हिम्मत जुटाएर आफ्नो माटोको लागि , नेपाल आमाको लागि , नेपालको रास्ट्रीयताको लागि पुन एक पटक साँचो अर्थमा इमान्दार भएर जवान हुनुहोस । उठ्नुहोस प्रधानमन्त्री ज्यु तपाईं उठ्दा के प्रतिपक्षी , के बिरोधि , के युबा , के बृद्ध के बिद्यार्थी के नागरिक समाज सबै जनता देशको खातिर तपाईं सङ्गै जुरुक्क उठ्नेछन । तपाईं उठ्दा देश उठ्छ । खस्केको सान र गुमेको मान मात्रै होइन नेपाल आमा बचाउन पनि अब एक पटक उठ्नुहोस प्रधानमन्त्री ज्यु , फलाम तातेकै बेला तपाईं घन उठाउनुहोस हामी होस्तेमा हैसे गर्नेछौ । पुन एकपटक वैरीलाई घुडा टेकाउन प्रधानमन्त्री ज्यु आगे आगे हम जनता पिछे पिछे ……….
नेपाली हामी रहौला कहाँ नेपाल रै नरहे