प्रवासमा नेपालीहरु उच्च जोखीममा परेको देश : बेलायतमा कोरोनाले ४४ नेपालीको मृत्यु: दूतावास

लण्डन । लण्डनस्थित नेपाली दूतावासले हालसम्म बेलायतमा ४४ जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टी गरेको छ ।

यसअघि एनआरएनए यूकेले कोरोनाबाट मृत्यु हुने ५० नेपाली रहेको बताएपनि दूतावासले आफ्नो स्रोतबाट पुष्टी हुने विहीबारसम्म ४४ रहेको बताएको छ ।

दूतावासका प्रवक्ता शरदराज आरनका अनुसार मृत्यु हुनेमध्ये अधिकांश वृद्धावस्था र अन्य गम्भीर स्वास्थ्य अवस्थाका छन् । त्यस्तै, मृतकहरुमध्ये दुई तिहाईभन्दा बढी भूतपूर्व गोर्खा र उनीहरुका परिवारका सदस्यहरु छन् ।

कोरोना महामारी शुरु भएयता बेलायतमा कोरोना पुष्टी हुनेबाहेक अन्य २५ जना नेपालीको मृत्यु भएको दूतावासको भनाइ छ । जसमध्ये ८५ प्रतिशत भूतपूर्व गोर्खा परिवारकै छन् ।

उनीहरुमध्ये १५ जनाको अन्य कारणबाट मृत्यु भएको भएपनि १० जनामा कोरोनाको संक्रमण हो वा होइन भन्ने खुल्न बाँकी छ ।

प्रवक्ता आरनले मृतकका परिवारले आफ्नो प्रियजनको मृत्युको कारण खुलाउन नचाहेका कारण पूर्ण तथ्यांक संकलनमा कठिनाई भएको बताएका छन् ।

दूतावासको जानकारीमा बेलायतमा कोरोनाको संक्रमण भएका धेरै नेपालीहरु अहिले ‘रिकभर’ भइसकेका छन् ।

अझै पनि संक्रमित नेपालीहरुमध्ये करिब २० जना उपचारका क्रममा अस्पतालमै छन् । नयाँ संक्रमण हुनेहरुको संख्या न्यून छ ।
लेखक धुर्बराज अर्याल हुनुहुन्छ ‘नेपालीलिङ्क’ बाट साभार