लकडाउन फितलो हुँदा संक्रमणको जोखिम झन् बढ्यो : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

आजको काठमाडौंको ट्राफिक जाम तथा घुमफिर डरलाग्दो छ | डेढ महिनाभन्दा लामो लकडाउनको अर्थ अब रहेन | दुवै सदनका सांसद, संसद सचिबालयका कर्मचारी तथा बडीगार्डलाई PCR टेस्ट गरेर नेगेटिभ रिपोर्ट आएपछि लकडाउन पूर्ण रुपमा खोलिएको छ | आज देखिएको भीडभाड र सुरक्षाकर्मीको मौनताले प्रष्ट हुन्छ कि सरकारले उनीहरुलाई बिशेष निर्देशन दिएको छ, लकडाउन खोल्नको लागि |

छिमेकी देश भारतमा कोरोना संक्रमित बढेकोबढ्यै छन् | सिमानाबाट नेपाल प्रवेश गर्नेको संख्या बढिरहेको छ | भैरहवा लगायतका ठाउँमा भारतबाट कामदार नेपाल आएर निर्माणको काम आज सुरु भएको छ | यो अवस्था सायद नेपालका सबै सिमाबर्ती जिल्लामा सुरु भएको छ |

सरकारले काठमाडांैबासीको Random Sampling को आधारमा न्युनतम ३०,००० जनाको PCR Test गरेर नेगेटिभ आएको भए लकडाउन केहि खुकुलो गर्न मिल्ने थियो | सिमाना १०० % शिल गरेर तथा सिमाबर्ती प्रत्येक जिल्लामा न्युनतम दश / दश हजारको दरले PCR Test गरेर सुरक्षित देखेको भए लकडाउनको मोडालिटी फेर्न मिल्ने थियो | कुनै जांच नगरि, पर्याप्त औषधि / उपकरणको ब्यबस्था नगरि, अन्य कुनै आकस्मिक तयारी नगरि तथा बिज्ञहरुको सल्लाह नलिइ मनगढन्ते रुपमा यसरी लकडाउन खोल्नु सरकारको गैह्रजिम्मेवारी कदम हो |

अहिलेसम्म लकडाउनले घरभित्र रहेका संक्रमितहरु आजदेखि सडकमा आएका छन् | संक्रमित र स्वस्थ घुलमिल भएका छन् | आजको घटनाले गर्दा भोलिदेखि लकडाउन उल्लङ्घन गर्नेको संख्या ह्वात्तै बढ्नेछ | यस्तो घनाबस्तीमा कोरोना संक्रमण फैलियो भने यो नियन्त्रण गर्न सरकारले सक्ने छैन | विश्व स्वास्थ्य संगठन ( WHO ) ले लकडाउन नखोल्न सरकारलाई बारम्बार भनिरहेको, जुन र जुलाईमा नेपाल तथा भारतमा कोरोना संक्रमण उच्चबिन्दुमा पुग्ने बताएको तथा नेपालमा तीसौं हजार संक्रमित हुनसक्ने बताएको परिप्रेक्ष्यमा लकडाउनमा एकैपटक यो किसिमको लापरबाही हुनु निकै खेदजनक छ | भिजन भएका, देश र जनताको माया भएका, व्यक्तिगत स्वार्थ नभएका बिज्ञहरुको समिति बनाएर यस्ता निर्णय गरेको भए नेपाल जोखिमको मार्गमा जाने थिएन |

सरकारले बस्तुस्थितिको मुल्यांकन गर्न नसकेपनि हामी जनताले परिस्थिति बुझ्नु जरुरी छ | सहरी क्षेत्रमा कोरोना संक्रमण फैलिन नदिन हामी जनता जिम्मेवार बन्नुको बिकल्प रहेन | कृपया ! जरुरी काम बाहेक घरभित्र बस्नुहोला | हाम्रो सानो असावधानीले हामी, हाम्रो परिवार तथा समाज संक्रमित हुनसक्छ | अहिल्यै यो स्तरको लकडाउन खोल्ने बेला भएको छैन |

सरकारले न्यून आय भएका बर्गलाई ठोस राहत दिएर लकडाउनलाई ब्यबस्थित गराउन जरुरी छ | मानबिय क्षति अपुरणीय हुन्छ | यो तथ्य सरकारले समयमै बुझोस् | जनस्वास्थ्यमाथि अल्पदृष्टिको कारण गम्भीर संकट नआओस |

अन्त्यमा कोरोना भाइरसले ठूलो सानो, यो पार्टीको / त्यो पार्टीको, यो पदको / त्यो पदको भन्दैन | जनपक्षीय कुरा उठान गर्न पार्टीको घेरा नहेरौं | हामी सबै एकै डुंगामा छौं | डुंगा डुब्यो भने हामी सबै डुब्नेछौं !