धुर्मुस सुन्तली फाउन्डेसनको सम्योजनमा निसुल्क भोजन शुरु l

सामाजिक अभियन्ता धुर्मुस सुन्तली फाउन्डेसनको सम्योजनमा निसुल्क भोजन शुरु भएको धुर्मुस ले आफ्नो फेसबुक वाल मार्फत जानकारी गराउनु भएको छ ।

धुर्मुस लेख्नु हुन्छ : धुर्मुस सुन्तली फाउन्डेसनको सम्योजनमा निसुल्क भोजन शुरु| काेराेना संक्रमण र यसका कारण सरकारले लागू गरेकाे लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्ने मजदुर, असहाय तथा विपन्न परिवारुकाे समस्यालाई अात्मसात गर्दै धुर्मुस सुन्तली फाउन्डेसनको सम्योजन तथा प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लि. को सहकार्यमा ललितपुर महानगरपालिका १४ थसिखेल (प्रतिभा सहकारी भवन अगाडि) भोलि बाट निःशुल्क भाेजनकाे व्यवस्था गरिएकाे जानकारी गराउन चाहन्छाैं ।
समय : बिहान ९-११ बजेसम्म साँझ : ५-७ बजेसम्म । सम्पर्क : ९८५१०९२७०२, ९८५१०३५३५३

कोरोनाकै कारण अहिले निर्माण कार्य ठप गरिएको पनि पछिल्लो समय जानकारी गराएको समाचार :

प्रेस विज्ञप्ती : आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
नेपाल र नेपालीलाई खेलकूदको माध्यमबाट चिनाउने राष्ट्रिय महत्वको विषय बनेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ सम्पूर्ण देशभक्त नेपाली नागरिकको गौरव र भावनासँग जोडिएको वृहत परियोजना हो ।

यस परियोजनाको अस्थायी बारमा गत जेष्ठ १५ गते एकाबिहानै डोजर प्रयोग गरी अराजकता प्रदर्शन गरिएको असामान्य घटना सबैमा जगजाहेर नै छ। यसबाट सहयोगी मनहरूमा गहिरो चोट पर्न गयो र धुर्मुस सुन्तली फाउण्डेशनको रङ्गशाला निर्माण अभियानको आधार हल्लाउने काम भयो । तत्पश्चात उत्पन्न बिषम परिस्थिति, चुनौती र कर्मचारी माथिको खतरालाई ध्यानमा राखी तत्कालका लागि निर्माण कार्य स्थगित गर्न हामी बाध्य भयौँ ।

परियोजना सुचारु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्बपक्षिय ५ हजार १ सदस्यिय मुल सहयोग समितिको सचिवालय बैठकले रङ्गशाला निर्माणका लागि पटक पटक गरेको आह्वानसाथै जिल्लाबाट वातावरण सहज भएको प्रतिबद्धता व्यक्त भएपश्चात हामीले रङ्गशालाको कामलाई निरन्तरता दिने निर्णय गरेका छौं । हामी स्मरण गराउन चाहन्छौं, हामीले निःस्वास्र्थ, राष्ट्रभाव र सामाजिक दायित्व बोध गरी आफ्ना सबै निजी लाभका विषयहरुलाई भन्दा देशको विकासलाई शिरोपर गरी सबैको भावनालाई सम्मान गर्दै हरेक परियोजनाको नेतृत्व गरेका हौँ । हामीमा एउटै स्वार्थ छ, नेपाली भूमिमा सबैको साथ र सहयोगबाट निर्मित हाम्रो आफ्नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला हुनुपर्छ ।

आम नागरिकका आधारभूत आवश्यकताहरुलाई पूरा गर्नका लागि आवश्यक गाँस, वास र कपासको महत्वलाई बुझ्दै हामीले ४ वटा नमूना एकिकृत आवास, सरसफाईलाई पनि कुशतलापूर्वक सम्पन्न गर्दै विभिन्न सामाजिक कार्यहरुलाई समेत निरन्तरता दिँदै आएका छौं । पछिल्लो समयमा सबैलाई खड्किएको र खेलाडीहरुले समेत बोध गरेको आफ्नै अन्तराष्ट्रिय रंगशाला निर्माणको आवाजलाई सम्बोधन गर्न हामीले यो रंगशालाको अवधारणा सार्वजनिक गरि कार्य आरम्भ गरेको सर्वविदितै छ ।

हामीले सहयोगको लागि अपिल गर्न मिल्ने र सहयोग रकम जुटाउने परिस्थिती विस्तारै बन्दै गएको अनुभूति हामीले गरेका छौं । यो अभियानमा स्वतःस्फूर्त अभियन्ता बनेर यस परियोजनालाई अपनत्व ग्रहण गर्दै जोडिनुहुने महानुभावलाई हामी सदैव स्वागत गर्दछौं । यो हामी सबैको साझा अभियान र दायित्व पनि हो । हाम्रो अभियान राष्ट्र र भावी सन्ततीका लागि हो । अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण परियोजनाको नेतृत्व गर्न वा यसमा सहकार्य गर्न ईच्छुक व्यक्ति, संघसंस्थासँग सहकार्य गर्न हामी तयार छौं, यो राष्ट्रिय गरिमाको परियोजनामा कुनै व्यक्ति, संघसंस्था वा निकाय जोडिएर काम गर्छ भने पनि हामी सक्रिय अभियन्ता भएर सघाउन तत्पर छौँ । राष्ट्रिय गौरवका यस्ता विषय नागरिक स्तरबाट बन्न सके राष्ट्र निर्माणको गतिमा तिव्रता आई राज्यलाई सहयोग हुनुका साथैं खेलाडीहरुमा आत्मसम्मानको अनुभूति हुने अनि खेलाडीको मनोवल उच्च हुन्छ भन्ने उत्कट चाहना पनि हो ।

सहयोगी मनहरूप्रति हरपल आभारी छौँ । जिम्मेवारी प्रति प्रतिबद्ध छौँ । कुनै पनि राष्ट्रिय महत्वका परियोजनाहरु एक्लैलाई गर्न असम्भवप्रायः छ, त्यसैले हामीलाई उर्जा थप्ने, हौसला प्रदान गर्ने, साथ र सहयोग गर्ने आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुको अपार स्नेहकै कारण यो लक्ष्यसम्मको यात्रामा हामी निरन्तर खटिईरहन सक्षम भएका छौँ ।

हाल विकसित हुँदै गएको वातावरण प्रति हामी आभारी छौँ । यस्तो वातावरण निर्माण गर्न सहयोग गर्नुभएका स्वदेश तथा विदेशमा रहनुभएका नेपाली राष्ट्रप्रेमी, विकासप्रेमी, खेलप्रेमी महानुभावहरूमा धन्यवाद ज्ञापन गर्दछौँ । अभियन्ता साथीहरूबाट प्राप्त राय, सल्लाह सुझाव, राजनैतिक दल, उद्योगी व्यवसायी संघ संस्था, युवा, बुद्धिजीवी, खेलाडी, समग्र चितवनबासी लगायतको विश्वास र विकासको चाहनाको उच्च कदर गर्दछौँ । कलाकार र सम्पूर्ण सञ्चारकर्मीहरूबाट प्राप्त हौसला, प्रेरणा र विकासप्रतिको चाहनाको उच्च सम्मान गर्दछौं । चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय सहयोग समितिको रङ्गशाला निर्माणका लागि रकम जुटाउने र अन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त भई काममा फर्कनका लागि गर्नु भएको आह्वान र अनुरोधप्रति हामी विस्वस्त छौँ । साथै यहाँहरूको इच्छा, चाहना, अनुरोध, प्रतिबद्धताप्रति हाम्रो पूर्ण सम्मान र समर्थन छ ।

र, हामी स्थगित निर्माण कार्यलाई सुचारु गरी ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण कार्यमा आआफ्नो स्थान र क्षेत्रबाट ऐक्यबद्ध भइदिनुहुन अपिल गर्दछौँ । हरेक काम समयमा नै कम लागत तथा पारदर्शी ढङ्गबाट हुनुपर्छ भन्ने कुरामा हामी सदैव सजग र सतर्क छौँ ।
जे नहुनु थियो भयो । त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिवद्ध रहनुहुनेछ ।

सिताराम कट्टेल
अध्यक्ष
धुर्मुस सुन्तली फाउण्डेशन