राष्ट्रिय आविस्कार केन्द्रलाई रुक्माङ्गद कटवाल ट्रष्टको एक लाख सहयोग

मुना न्यौपाने
काठमाडौँ, वैशाख २२ । डा। महावीर पुनद्वारा स्थापना गरिएको राष्ट्रिय आविस्कार केन्द्र नेपाललाई रुक्माङ्गद कटवाल ट्रस्टले आर्थिक सहयोग गरेको छ । ट्रष्टले आविस्कार केन्द्रलाई गत आइतबार एक लाख रुपैया प्रदान गरेको ट्रस्टले जनाएको हो ।

शिक्षा, स्वास्थ्य, गरिबी निवारण, विपत्त व्यवस्थापन राष्ट्र, राष्ट्रियता र अन्य सामाजिक कार्यहरू विगत ७ वर्षदेखि गर्दै आइरहेको परोपकारी संस्था रुक्माङ्गद कटवाल ट्रष्टले देशको सर्वाङ्गिण विकासका लागि कठिन परिस्थितिका बाबजुद दिन रात खटिरहेको राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गरिएकोमा खुशी व्यक्त गरेको छ ।

आविस्कार केन्द्रले हाल विश्वभर सन्त्रासको रुपमा फैलिएको कोभिड–१९ को महामारीमा पिपिइ लगायतका सामग्रीहरू निर्माण कार्यमा खेलेको भूमिका प्रशंशायोग्य रहेको भन्दै ट्रष्टका अध्यक्ष पूर्व प्रधानसेनापति रुक्माङ्गगत कटवालले धन्यवाद दिनुभयो ।

हाल ट्रष्टले देशभरका आर्थिक अवस्था कमजोर भएका असहाय, अपाङ्ग तथा सीमान्तकृत वर्गका ५३ जना विद्यार्थीहरूलाई प्राविधिक तथा व्यवसायिक विषयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको ट्रष्टका सचिव जगतबहादुर कटवालले बताउनुभयो ।