बाजुराका क्वाईरेन्टाईनमा मानिसहरुलाई भेडा बाख्रा सरह राखिएका छन्

वीरेन्द्र रावल,

धनगढी ,बैशाख २०। सुदूरपश्चिमको अतिदुर्गम विकट पहाडी जिल्ला बाजुराका नौ वटै स्थानीय तहमा बनाइएका क्वाईरेन्टाईनमा राखिएका मानिसहरुको दैनिकी निकै कष्टकर रहेको गुनासाहरु बाहिर आउन थालेका छन् ।

भारत लगायत जिल्ला बाहिरबाट बाजुरा पुगेका २ सय ९९ जना सर्वसाधारण मानिसहरुलाइ हाल क्वारेन्टाइनमा राखिएको छ । भारतमा मजदुरी गर्ने र अध्ययनको शिलशिलामा जिल्ला बाहिर बस्ने विद्यार्थी लगाएर २ सय ९९ जना क्वारेन्टाइनमा राखिएको कुरा स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनु भएको छ।

बाहिरबाटगाउँ पुगेका मानिसहरुका लागि हालको स्वास्थ्य निर्देशिका अनुसार १४ देखि २१ दिनसम्म नियमित क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । भने नियमित चेकजाँच र सुरक्षा र संरक्षण अनिवार्य भनिएको छ । तर एकसाथ ठूलो मात्रामा सर्वधारण क्वारेन्टाइनमा राख्नु परेपछि स्थानीय तहलाई व्यवस्थापनमा चुनौति थपिएको पनि जनस्वास्थ्य अधिकृत पन्तले बताउनु भएको छ।

सरकारले खानेपानी, शौचालय, चिकित्सक सहीतको स्वास्थ्य जाँच, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीकै जत्तिको सुविधा सहीत दैनिक खानाको व्यवस्था र भौतिक दुरी कायम गरेर सुत्ने आवास व्यवस्थापनको मापदण्डमा तोकेको भएतापनि बाजुरा जिल्लाका स्थानीय निकायले निर्माण गरेका कुनैपनि क्वाईरेन्टाईनमा मापदण्ड अनुसारको व्यवस्था हुनुत परै जाओस् कैदीको भन्दापनि कष्टपूर्ण तरिकाले मानिसहरु कोचा कोच गरेर बस्न बाध्य भैरहेको कुरा स्थानीय युवा रोहन बडुवालले जानकारी दिनु भएको छ।

एकै स्थानीय तहले ६३ जनासम्म क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्नु परेपछि व्यवस्थापनमा चुनौति थपिएको जनप्रतिनिधीले दुःखेसो पोख्नु भएको छ । १ सय १७ जना बाहिरिए लगत्तै हाल २ सय ९९ जना क्वारेन्टाइनमा छन् । ती मध्ये सबैभन्दा कम बुढीनन्दा नगरपालिकामा छन,भने सबैभन्दा बढी स्वामिकात्र्तिक खापर गाउँपालिकामा रहेको बताइएको छ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार बुढीगंगा नगरपालिकामा ४२ जना, बडिमालिका नगरपालिकामा ११ जना, बुढीनन्दा नगरपालिकामा ६ जना, त्रिवेणी नगरपालिकामा ५६ जना, स्वामिकात्र्तिक खापर गाउँपालिकामा ६३ जना, जगन्नाथ गाउँपालिकामा ४८ जना, हिमाली गाउँपालिकामा ७ जना, गौमुल गाउँपालिकामा १८ जना र खप्तड छेडेदह गाउँपालिकामा ४८ जनालाई क्वाईरेन्टाईनमा राखिएको छ।

उनीहरुको बसाइ र खानपीन अवस्थाको निकै दयनीय रहेकोले कोरोना संक्रमण भन्दा पनि खानपानको समस्याले मानिसहरु विरामी होलानकी भन्ने चिन्ताले सताएको अधिकांश क्वाईरेन्टाईनमा रहेका मानिसहरुले गुनासो पोख्न थालेका छन् ।

जिल्लामा ३० स्थानमा क्वारेन्टाइन बनाईएको छ । त्यो मध्ये २६ स्थानमा सर्वसाधारण बसेका छन् । विद्यालयलाई नै क्वारेन्टाइन बनाईएपछि कतै शौचालयको कमि छ, भने कतै खानेपानीका अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।

बुढीगंगाको त्रिशक्ती माविको क्वारेन्टाइनमा बस्नेहरुलाई कुहीएको चामलको भात खुवाउँदा पखाला समेत लागेको गुनासो आएको छ । त्रिवेणी नगरपालिकामा सुरक्षा विना १ जनालाई मात्र क्वारेन्टाइनमा राखिएको अवस्था छ । खप्तड छेडेदह गाउँपालिकामा भेडालाई हुलमा राखे झै गरी राखिएको अवस्था रहेको पाइएको छ।

नियमित स्वास्थ्यकर्मीबाट चेकजाँच भईरहेपनि मापदण्ड अनुसार क्वारेन्टाइनमा सुविधा र सुरक्षा नदेखिएको स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताउनु भएको छ । क्वार्यरेन्टाईनमा रहेका मानिसहरुको अवस्थाको बारेमा अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोल अनि जिल्ला स्तरीय समिति र स्थानीय तहमा सम्बन्धी पालिकाको प्रमुख संयोजक रहने र प्रमुख जिल्ला अधिकारी सदस्य समेत रहेको समिति बनाइएको भएतापनि दुर्गम पहाडी गाउँपालिकाहरु बढी भएका कारण तीं स्थलहरुमा कोही पनि नजाने गरेको गुनासाहरु समेत सुनिन थालेका छन्।

आंशिक अनुगमन गरिएपनि अवस्थामा सुधार आएको छैन् । सुरक्षा र सरसफाइ नहुँदा उनीहरुलाई थप स्वास्थ्य समस्या आउने खतरा रहेको देखिन्छ । स्थानीय तहले क्वारेन्टाइन निर्माणका नाममा झारो टार्ने काम मात्र गरिरहेका छन् । रकम खर्च गरेका छन, तर सुविधा र सुरक्षाको भने कुनै ग्यारेन्टी नदेखिएको स्थानीय विमल रावतले बताउनु भयो।

उनीहरुले समयमा खाना खान समेत पाएका छैनन् । पाएपनि सफा र मापदण्ड अनुसारको खान नपाएको गुनासो गरेका छन् । चामलको गुणस्तरदेखि दाल तरकारी सबैमा समस्या देखिएको छ । लगातार पानी परिरहने, हावा हुरी पनि चलिरहेको कारण क्वारेन्टाइनमा बसेकालाई ओढ्ने ओछ्याउनेको समेत अभाव भएको पनि स्थानीय बिमल रावतले बताउनु भयो।

लक डाउनका काण सबै क्षेत्रमा गएर मानिसहरुको उचित रेखदेख गर्न नसकिएको अधिकाकँश जनप्रतिनीधीहरुले स्वीकार गर्नु भएको छ।

क्वारेन्टाइनमा रहेका महिला, बालबालिका र वृद्धवृद्धाहरुको हकमा बढी समस्या र असुविधा रहेको गुनासाहरु बाहिर आउन थालेका छन् । कथंकदाचित भारतीय क्षेत्रबाट थप नेपाली कामदारहरु वा जिल्ला बाहिर बाट बाजुरामा मानिसहरु आएर उनिहरुलाई क्वार्यरेन्टाईनमा राख्ने अवस्था आएको खण्डमा बाजुरा जिल्लामा निकै ठूलो समसया सृजना हुन सक्ने भएकाले पूर्व तयारीका लागि बेलैमा बिचार पुगाउनु पर्ने माग आम बाजुराबासीहरुको रहेको छ । – इनेप्लिज