एकैदिन १५ जना कोरोना संक्रमित भेटिएपछि नेपालीहरु तनाबमा !

नेपालगञ्ज– नेपालगञ्जमा एकै दिन १५ जना कोरोना संक्रमित भेटिएपछि संक्रमितहरु बस्दै आएको क्षेत्रका साथै अन्य क्षेत्र पनि सील गर्न थालिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं. १ धम्बोझीको सर्वपक्षीय भेलाले वडालाई सील गरेको छ। प्रहरी, स्वास्थ्यकर्मी र अत्यावश्यक कामबाहेकलाई वडामा प्रवेश निषेध गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए।

‘वडाको चारैतिरको नाकालाई सील गरेका छौँ। सबै राजनीतिक दल, टोल विकास समिति र धम्बोझी क्लबका पदाधिकारीले यो निर्णय गरेका हो’, वडाध्यक्ष रिजालले भने, ‘तरकारी ठेला लगायत अनावश्यक रुपमा कसैलाई पनि वडामा प्रवेश गर्न दिइँदैन।’

संक्रमितको संख्या थपिएसँग नेपालगञ्जका स्थानीयमा त्रास बढेको वडाध्यक्ष रिजालले बताए।

थप ६ जनामा कोरोना देखिएसँगै बाँकेमा संक्रमितको संख्या १६ पुगेको छ। आइतबारमात्रै १५ जना थपिएका छन्।

भेरी अस्पताल, नेपालगञ्जमा शनिबार स्वाब लिइएका ९० जनामध्येमा १५ जनामा कोरोना देखिएको हो। त्यही समूहका अझै केहीको रिपोर्ट आउन बाँकी नै छ।

यही वैशाख १७ गते मस्जिदमा स्वाब लिइएका ६० वर्षीय एक पुरुषमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका व्यक्तिको स्वाब लिइएको थियो। अझै केहीको स्वाब लिने तयारी भइरहेको छ।

कोरोना देखिएका व्यक्तिहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको छ। बाँकेमा खजुरास्थित क्यान्सर अस्पताललाई आइसोलेसन कक्ष बनाइएको छ। नेपालगञ्जका पहिलो कोरोना संक्रमति ६० वर्षीय पुरुषलाई सोही आइसोलेसनमा राखिएको छ।

आइतबार कोरोना देखिएका सबैलाई त्यहीँ लैजाने तयारी भएको बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले जानकारी दिए। ‘कोरोना संक्रमितको नाम आइपुगेको छ। हामीले खोजेर सबैलाई आइसोलेसन कक्षमा लैजाने तयारीमा छौँ’, डीएसपी सिंहले भने।

आइतबार देखिएका अधिकांश संक्रमित वडा नं. ८ का हुन्। पहिलो दिन संक्रमण देखिएका ६० वर्षीय व्यक्ति वडा नं. ८ को जुलाहनपुरुवाको मस्जिद र मदरसामा पढाउन जाने गर्थे। यही टोललाई अहिले सुरक्षाकर्मीले सील गरेर राखेका छन्।