कोरोनाले थोरैलाई मार्नेछ, धेरैलाई बचाउनेछ – डा. रवीन्द्र समीर

डा. रवीन्द्र पाण्डे,
खुसी कुनै पदार्थ हैन | यो मनको अवस्था हो अर्थात् State of mind हो | त्यस्तै दुख एबम तनाब पनि मनका अवस्था हुन् | यी अवस्थासंग समभाव राख्ने, बिचलित नहुने तथा धैर्यता भएको व्यक्ति जीवनको लामो यात्रामा आनन्दित हुन्छ | कोरोना संक्रमणको कारण लकडाउन, सेमी लकडाउन वा नियन्त्रित जीवन बिताउनु परेपनि यो युगलाई हामीले खुसीसाथ स्वागत गर्नुको अर्को बिकल्प छैन | खुसी पदार्थ नभएपनि पदार्थले खुसीको बाटोमा हिंड्न सहयोगी पक्कै हुन्छ | यो अवस्थामा जीवनलाई सार्थक बनाउन उल्लेखित बुँदा उपयोगी हुनेछन|

– घरमा थर्मोमिटर, ब्लडप्रेसर सेट, पल्स अक्सिमिटर, ग्लुकोमिटर ( सुगर जाँच्न ), पारासिटामोल, खोकी तथा सास फेर्न सजिलो हुने औषधि राख्नुहोस् | खानेकुराको स्टक राख्नुहोस् | पानी, इन्टरनेट, बिजुली लगायतका अत्यावश्यक कुरा ब्यबस्था गर्नुहोस् | यसले तपाइंलाई तनावरहित बनाउनेछ | – यो बेलामा तपाइंले आफ्नो जीवनशैली परिवर्तन गर्ने अवसर हो | रक्सी, चुरोट, सुर्ती, गाँजा, स्लिपिंग ट्याब्लेट तथा अन्य लागु पदार्थ बिस्तारै घटाउँदै छोड्न सकिन्छ|

त्यस्तै आफुले चाहे अनुसारको आफ्नो शारीरिक तथा मानसिक परिवर्तन ल्याउन सकिन्छ | जस्तै ; तौल घटाउने वा बढाउने, ब्यायाम, योग, ध्यान, नाचगान आदि गर्ने | मधुमेह भएका व्यक्तिले कार्बोहाइड्रेट कम खाने, ब्लडप्रेसर भएका व्यक्तिले नुन, चिल्लो कम खाने आदि गरेर आफ्नो औषधिको मात्रा घटाउने यात्रामा जान सकिन्छ | यदि तपाईं रिसाहा हुनुहुन्छ भने रिसलाई नियन्त्रण गर्ने अभ्यास गर्ने यो सुनौलो अवसर हो | हाँस्ने, जोक पढ्ने, कमेडी फ्लिम हेर्ने, आफ्नो सर्कल बढाउने जस्ता काम गर्न सकिन्छ | आफ्नो कामबाट तनाब भएको छ भने काम फेर्ने यो राम्रो अवसर हो | तपाइले जीवनभर त्यहि काम गर्नुपर्छ भन्ने छैन | यसको लागि योजना बनाउने समय हामीसंग छ |

-सकारात्मक बिचार भएका, आशाबादी प्रकृति भएका तथा सहयोगी नयाँ साथी बनाउने, पुराना साथीहरुसंग सम्पर्क नबिकरण गर्ने र आफुसंग भएको क्षमता उजागर गर्ने यो उपयुक्त समय हो | – तपाइंसंग केहि यस्ता उपयोगी बिषयहरु छन् जुन अरुलाई पनि उपयोगी हुन्छन | त्यस्ता बिषय सेयर गर्ने, आफुलाई थाहा भएका सुबिधा तथा अवसर अरुलाई जानकारी दिने लगायतका सामाजिक काम गर्ने यो उपयुक्त अवसर हो |

– सकारात्मक कुरामा खुसी हुन सिक्नुहोस् | मनमा आउने काम, क्रोध, लोभ, मोहजस्ता मनोवृत्तिबाट आफुलाई अलग राख्ने प्रयत्न गर्नुहोस् | मेरो कसैसंग तुलना छैन, प्रतिष्पर्धा छैन, बैमनश्यता छैन, मनमुटाव छैन, पूर्वाग्रह छैन भन्ने भावलाई हुर्काउन प्रयत्न गर्नुहोस् | भ्रष्ट्राचार गर्ने, शोषण गर्ने, अप्रिय काम गर्ने लगायतका दुस्कर्म त्याग्ने यो राम्रो अवसर हो | हामीलाई थोरै कुराले पुग्दछ, जसरी अहिले पुगिरहेको छ | सबै मिलेर काम गर्ने, संगै बाँच्ने, संगै हाँस्ने संस्कार सिक्ने यो राम्रो मौका हो | आफुले गरेको गल्ती र अरुले आफुमाथि गरेको अन्यायप्रति क्षमाशील हुने यो राम्रो समय हो | आफु सुध्रिने यात्रा गाह्रो भएपनि यो अत्यन्तै सुन्दर छ |

– आफ्नो पारिवारिक जीवन सुन्दर बनाउने यो राम्रो अवसर हो | यो समयमा आफ्नो पारिवारिक सदस्यसंग जति सक्यो धेरै समय व्यतित गर्नुहोला | कुनै मिस अन्डरस्टान्डिन्ग छन् भने त्यसलाई विश्वासले जित्नुहोस | केटाकेटीसंग घुलमिल हुनुहोस् | दिनको आधा घण्टा उनीहरुलाई नैतिक शिक्षा, आफ्नो संस्कार, पारिवारिक महत्व तथा राष्ट्रप्रेम सिकाउनुहोस् | सबैजना मिलेर पकाउने, घर सफा गर्ने, करेसाबारीमा काम गर्ने तथा खेल्ने गर्नुहोस् | सबैको रुची अनुसारका फ्लिम हेर्नुहोस् | एकले अर्कोको रुचिलाई बुझ्दै तदनुसार आफुलाई लचक गराउनु भयो भने सबै परिवारको रुचि तथा दृष्टिकोण मिल्दै जानेछ | एक अर्कोको भावना बुझ्ने प्रयत्न गर्नुहोस् | खुसी र चिन्ता बुझ्नुहोस् | यसले जीवन मधुर हुनेछ |

– कोरोना संक्रमणको महामारीले संसार ठप्प भएको छैन | आफ्नो समयमा सुर्योदय भएको छ, आफ्नो समयमा सुर्यास्त भएको छ | मानवजन्य प्रदुषणले विषाक्त भएको हावा स्वच्छ भएको छ, पशुपंक्षी रमाएका छन्, समुन्द्रमा माछाहरु नाचिरहेका छन् | फूल फुलेका छन्, रुख सफा देखिएका छन् | अर्थात संसार चलिरहेको छ | तसर्थ स्वच्छ हावा, सफा प्रकृति आदि हजारौं चिजमा ब्यापक सुधार भएको छ | यो स्वच्छताको अनुभव लिएर खुसी हुन सिकौं | आहा ! भन्न सिकौं |

– हरेक पदार्थ तथा जीवको आयु हुन्छ | त्यो समयको आयु सकियो | यो समयको पनि आयु सकिनेछ | त्यसपछि अर्को समय आउनेछ | त्यो समयले हामीलाई पारिवारिक, प्रकृतिप्रेमि, सहयोगी तथा निर्लोभी बनाउनेछ | हामी सबैको जसरी जन्म हुन्छ, वृद्धि हुन्छ, रोग लाग्छ, मृत्यु हुन्छ, यो शाश्वत तथ्य हो | जति दिन हाम्रो स्वास्थ्यले धान्छ, त्यति दिन हामी बाँच्नेछौं | स्वास्थ्यले धान्न छोड्यो भने अरबौं खर्च गरेपनि हामीले मृत्युलाई टार्न सक्दैनौं | तसर्थ मृत्युप्रति सकारात्मक हुन हामीले सिक्नु पर्दछ | मृत्यु मोक्ष हो, समाधि हो, स्वर्ग हो |

– हामीले आफ्नो ब्रेनलाई फर्म्याट गर्नु जरुरी छ | हामीभित्र रहेको असन्तुष्टि, तृष्णा र महत्वाकांक्षालाई फर्म्याट गरेर मानवता, प्रेम र भाइचाराको सफ्टवेयर इन्स्टल गर्नु आबश्यक छ | त्यो तनावपूर्ण र मृगतृष्णारुपी जीवनलाई सरल र सरस बनाउने त्यो सफ्टवेयरले हामीलाई वास्तविक जीवनको आनन्द र अर्थ दिनेछ | माया, दया, करुणा, समबेदना, सह अस्तित्व, सदाचार तथा सात्विक जीवन बनाउने यात्रामा आजै लागौं |

– कोरोना भाइरससंग हामीले डर मान्नुपर्दैन | कोरोना भाइरस हावाबाट उडेर आउने होइन | हामीलाई खोज्दै आउने होइन | संसारभर अझै ब्यापक भएपनि डर मान्नु पर्दैन | आफैलाई लागेपनि डर मान्नु पर्दैन | ३ % मृत्युदर भएको यो भाइरससंग ३ लाख % त्रास मान्नुपर्ने अवस्था छैन | हामीभित्रको क्षमता बलियो छ भने हामीले कोरोना भाइरसलाई परास्त गर्छौं | हामीभित्र क्षमता कमजोर छ भने कोरोना भाइरसले हामीलाई पराजित गर्छ | यो विजय र पराजयको यात्रा पहिले पनि थियो, पछि पनि हुनेछ | जन्मेदेखि नै हामी लड्दै आएका छौं, कमजोरलाई जित्दै आएका छौं, बलियोसँग पराजित हुँदै आएका छौं | यो नियमित प्रक्रियालाई हामीले आत्मसात गर्नुपर्छ |

– एकदिन हामी सबै यो भाइरससंग जम्काभेट हुनु नै छ | रोगको रुपमा वा खोपको रुपमा | यो भाइरसले थोरैलाई मार्नेछ, धेरैलाई बचाउनेछ – एन्टिबोडी बनाएर |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)