“राधाको नजरमा कृष्ण” – कविता

यसमा कबितामा राधाले कृष्णको नकारात्मक टिप्पणी गरेकी होइनन् । यहाँ कृष्ण र द्वारकाधीश एउटै व्यक्ति हुन्; चरित्र फरक हो । उमेर, मानप्रतिष्ठा, सम्पत्ति र जिम्मेवारी बढ्दै जादा कृष्ण द्वारकाधीश बने । राधाका अनुसार कृष्ण प्रेम र त्यागका प्रतीक हुन्; यसका विपरित द्वारकाधीश हृदयशून्य व्यक्ति हुन् । बस्तुतः प्रेममा हुँदासम्म मायालु र निश्छल मनका कृष्ण पछि प्रेमबाट विमुख हुँदा युद्धमा होमिन परेको कुरा औंल्याउँदै कृष्णलाई ऐना देखाएकी हुन् । कृष्ण प्रेममा हुँदा एक औंलाले गोवर्धन उठाएर गाउँमा सबैको रक्षा भयो तर पछि प्रेमबाट विमुख भई त्यही औंलामा सुदर्शन घुमाएर सबै विनाश भयो भन्ने राधाको तर्क हो ।

जति नै महान् कार्य गरे पनि, जति नै युद्ध लडे पनि आज पनि सबैका मनमन्दिरमा चक्रधारी कृष्ण हुँदैनन्, उनै बाँसुरी लिएका कृष्ण हुन्छन् भनेर राधा ढुक्क छिन् । आखिरमा आफ्नो प्रेम अमर भई जहाँ पनि राधाकृष्णसँगै हुने कुराले राधा खुसी छन् ।

“राधाको नजरमा कृष्ण” – कविता
राधा कृष्ण थिए सखा र सँगिनी प्रेमी अझै सुन्दर ।
सानैमा छुटिए पछाडि कहिले भेटै भएनन् तर ।।
प्यारा बालकका उनै बचपना आदर्श हाम्रो भयो ।
लीला जो प्रभुको थियो र पिरती उत्कर्षमा त्यो गयो ।।

त्यस्ता बालक कृष्ण कर्मपथमा जो द्वारकाधीश भै’ ।
राधाको ममता भुले पनि यहाँ पूजिन्छ राधासँगै ।।
ती राधा अनि कृष्ण एक सुरमा घुम्दै थिए स्वर्गमा ।
देखादेख भयो दुबै युगलको एकान्त उद्यानमा ।।

झ्याप्पै भेट हुँदा गरून् र अरु के सम्झी कुरा प्रेमका ।
मुस्काइन् तब राधिका तर कठै आँखा झुके कृष्णका ।।
आफैमा विचलित् थिए तर उता राधा थिइन् मत्थर ।
सोधिन् बालसखासितै “कुशल छौ हे द्वारकाधीश्वर !” ।।

जो राधा पहिले हरेक पटकै “ए कृष्ण” बोलाउँथिन् ।
जे गर्दा पनि “कृष्ण कृष्ण” मनमा राखेर टोलाउँथिन् ।।
बोलाइन् जब नाम “कृष्ण” नभनी “हे द्वारकाधीश्वर” !
त्यो सम्बोधन कृष्णले जब सुने आत्मा भयो घायल ।।

भन्छन् “व्यङ्ग्य गरेर आज नभने है द्वारकाधीश्वर ।
तिम्रै कृष्ण म हूँ उही प्रियतमा कृष्णै भने हुन्न र ?” ।।
राधा छक्क परिन् भनिन् नजिक गै’ “यो नाममा अर्थ छ ।
मायाबाट अलग्गिने हृदयमा आपत्ति के पर्दछ ? ।।

चढ्दा उन्नतिका सबै शिखरमा जो भावशून्यै भयौ ।
हाम्रै त्यो यमुना भुलेपछि तिमी खारा समुद्रै भयौ ।।
औंलामा अडिने सुदर्शन थियो त्योमाथि विश्वास भो ।
औंलाकै लयमा समर्पण हुने झन् बाँसुरी भार भो ।।

औंला एक उठाउँदा समयमा कल्याण भो’ गाउँमा ।
भुल्यौ प्रेम गयौ सुदर्शन चले विध्वंश भो’ युद्धमा ।।
हौ संभाहक धर्मका, विजयका उर्जा तिमी न्यायका ।
गीता ज्ञान दिने गुणी हृदयले कस्तो लियौ फैसला ।।

आफ्ना सैनिक मर्न कौरवसितै छाडेर आएपछि ।
आफै पाण्डवका प्रदर्शक भयौ आफै भयौ सारथी ।।
तिम्रा सैनिक जो थिए सब जना तिम्रै प्रजा हैन र ?
त्यस्ता सैनिकको सुरक्षक हुनु दायित्व क्यै’ छैन र ? ।।

तिम्रै सामु सबै प्रजा कति मरे मार्ने उनै अर्जुन ।
त्यो बेला मन क्यै’ विदिर्ण नहुने कस्ता तिमी हौ भन ।।
हुन्थ्यौे पो कसरी सुकेछ करुणा यो भिन्न व्यक्तित्वमा ।
यस्तै भेद छ कृष्णमा र छलिया यी द्वारकाधीशमा ।।

केही आश हुँदैन हेर जगमा यी द्वारकाधीशको ।
सोही कारण हुन्छ मूर्ति घरमा राधा र त्यै कृष्णको ।।
गीता ज्ञान दियौ त्यहाँ पनि कहाँ राधा प्रसङ्गै छ र ?
“राधेकृष्ण” भनी समापनसँगै हाम्रै छ चर्चा तर” ।।