लाइभ अन्तरवार्तामै बाबुरामले प्रधानमन्त्रीलाई ‘भष्मासुर’ भनेपछि…

काठमाडौं।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार नियन्त्रित रेडियो नेपालमा अन्तर्वार्ता दिने क्रममा प्रयोग गरेको एउटा शब्दले बबण्डर भएको छ।

रेडियो नेपालबाट सोमबार बिहान साढे ६ मा प्रत्यक्ष प्रसारित अन्तरसम्वाद कार्यक्रममा बोल्दै डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भष्मासुर’ भनेका थिए।

सरकार नियन्त्रित सञ्चारमाध्यमबाट प्रधानमन्त्रीलाई नै डा. भट्टराई ‘भष्मासुर’ भनेपछि रेडियो नेपालले सोमबार प्रेस विज्ञप्ति नै निकाल्नु परेको छ। रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले डा. भट्टराईले प्रधानमन्त्रीविरुद्ध प्रयोग गरेको शब्दले दुखित बनाएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा उनी त्यतिमै रोकिएका छैनन्। प्रत्यक्ष प्रसारण भएकाले सम्पादन गर्न नसकेकोमा उनले क्षमा नै मागेका छन्। ‘डा. भट्टराईले प्रधानमन्त्रीलाई प्रयोग गरेको भाषा र विचारले हामीलाई दु:खी तुल्याएको छ’, उनले भनेका छन्, ‘उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण भएकाले आवश्यक सम्पादन गर्न नसिकएको हुँदा क्षमा चाहन्छौं।

कार्कीले अब उप्रान्त रेडियो नेपालको अन्तर्वार्ताका लागि अतिथि चयन गर्दा गम्भीररुपमा सचेत हुने वाचा पनि कार्कीले गरेका छन्।