दुवै पद नछाड्ने ओलीको अडान : ओली–दाहाल वार्ता

काठमाडौँ — नेकपाभित्र शक्ति बाँडफाँडलाई लिएर आन्तरिक रुपमा संवाद भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाड्न नसकिने अडान लिएका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग मंगलबार दिउँसो बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले बरु सम्भावित परिस्थितिको सामना गर्ने तर पद नछाड्ने अडान लिएका हुन् । बैठकपछि ओली र दाहालले आफू निकट नेताहरुलाई बताएअनुसार प्रधानमन्त्री दुवै पद नछाड्ने अडानमा देखिएका थिए ।

स्थायी कमिटीका एक सदस्यका अनुसार अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतमलगायतको समूहले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद छाडेर पार्टीको अन्तरविरोधको निकास दिनुपर्ने प्रस्ताव आन्तरिक रुपमा ओलीलाई अगाडि सारिसकेका छन्। आजको भेटमा पनि अध्यक्ष दाहालले समस्याको निकास दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको एक नेताले बताए । तर, ओलीले दुवै पद नछाड्ने बताएका हुन् । आजको भेटमा ओली र दाहालले खुलस्त आ–आफ्ना कुरा राखेको पनि ती नेताले बताए ।

अध्यक्ष दाहाल बालुवाटार जानु अघि वरिष्ठ नेता नेपाल निवास कोटेश्वर पुगेका थिए ।दाहालसँग भेटवार्ता सकिएलगत्तै प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई बोलाएर भेटेका थिए ।निकासको विषयमा दुवै अध्यक्षबीच कुरा नमिलेपछि बाँकी छलफलको लागि बुधबार सचिवालय बैठक बोलाउने विषयमा भने सहमति भएको छ । सचिवालय बैठक अगाडि ओलीले अर्का अध्यक्षसँग आफ्नो अडान राखेका हुन् । बुधबार पाँच बजेलाई सचिवालय बैठक तय भएको छ ।यस्तै, ओली निकट नेताले पनि प्रधानमन्त्री र पार्टी कुनै पदबाट ओलीले राजीनामा नदिने बताएका छन् ।

‘समस्या सबैमा हुन्छन्, सुधार्दै जाने हो । उहाँ (प्रधानमन्त्री) पार्टीलाई एकताबद्ध गरेर जाने पक्षमा हुनुहुन्छ । त्यसका लागि हदैसम्म लचिलो देखिन तयार हुनुहुन्छ । त्यति हुँदा हुँदै पनि विभिन्न षड्यन्त्र गरेर केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हट्नुस् भन्नु र हटाउन खोज्नु भनेको मतलब पार्टी फुटाउनु हो,’ ओली निकट नेता कर्ण थापाले भने ‘त्यसकारण उहाँले प्रधानमन्त्री र अध्यक्ष छोड्ने भन्ने हुँदैन, त्यो संभावना पनि छैन । बरु सबै षडयन्त्रविरुद्ध लड्नु हुन्छ ।’अध्यादेश प्रकरणले विवाद उत्कर्षमा पुगेपछि दाहाल–नेपाल समूहका २० स्थायी कमिटी सदस्यले हस्ताक्षरसहितको पत्र लेखेर स्थायी कमिटी बैठकको माग गरेका छन् ।

पार्टीभित्रै दबाबमा परेका ओलीले यसलाई आलटाल गर्दै आएका छन् ।बरु, अप्ठ्यारोमा परेका प्रधानमन्त्री ओलीले पछिल्ला केही दिनयता वरिष्ठ नेता नेपाल समूहलाई फकाउने कोसिस पनि गरेका थिए । मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री ओली र नेता नेपालबीच ‘वान टु वान’ वार्ता भएको थियो । त्यहाँ सहमति जुट्न नसकेपछि दुवै समूहका नेताहरू दोस्रो चरणको वार्तामा बसेका थिए ।कोटेश्वरस्थित एक सरकारी भवनमा तीन घण्टा लामो वार्तामा पनि नेपाल समूहलाई फकाउने ओली पक्षको प्रयास सफल हुन सकेन ।

त्यो छलफलमा नेपाल समूहले स्थायी कमिटी बैठक बसेर छलफल गरिनुपर्ने माग गरेको छ ।बुधबार सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा बहुमत पुर्याउन मंगलबार साँझ आफू निकट र अन्य समूहका सांसदहरुलाई बोलाएर छलफल गरेका छन् । उनले सोमबार पनि केही सांसदहरुलाई बोलाएर पछिल्लो परिस्थितको बारेमा व्रिफिङ् गरेका थिए । अन्य समूहका सांसदलाई फकाएर प्रयास पनि ओलीले गरेका छन् ।कान्तिपुर