अहिले RDT अर्थात र्यापिड टेस्ट गर्नुको कुनै अर्थ छैन : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे,

कोरोना संक्रमणको लागि नेपालमा गरिएको RDT टेस्ट रोग निदानको लागि नभएर सर्भे, अनुसन्धान वा प्रकोप नियन्त्रण पछि गर्ने परिक्षण बिधि हो | यो टेस्टले शरीरमा भाइरस छ कि छैन भनेर देखाउंदैन | यसले जांच गरेको व्यक्तिमा रोगसँग लड्ने एन्टीबोडी मात्र देखाउने हो | रोगको प्रकोप सुरु भएको नेपालजस्तो देशको लागि यो परिक्षण गर्नु भनेको हामीले यति हजार वा लाख नागरिकको जांच गरेका छौं भन्नको लागि मात्र हो | संक्रमण भएको 7-8 दिनदेखि महिनासम्म यसमा एन्टीबोडी देखिन सक्छ | रोग सुरु भएको वा तत्कालै रोग सरेको यो टेस्टबाट थाहा हुँदैन |

एक त यो टेस्टका किट गुणस्तरहीन छन् | ३० – ४० % भन्दा धेरै गलत रिपोर्ट आउँछ | त्यसमा पनि संक्रमण सुरु भएको अवस्थामा यो जाँचको कुनै अर्थ छैन | उदाहरणको लागि उदयपुर लगायत ठाउँका दर्जन ब्य्कतिहरुमा RDT टेस्टले नेगेटिभ रिजल्ट दिएको थियो | यदि उनीहरुलाई PCR टेस्ट नगरेको भए उनीहरुले सयौं / हजारौं जनालाई यो रोग फैलाउन सक्दथे | सरकारले धेरै जिल्लामा दशौ हजारलाई यो परिक्षण गरिरहेको छ | रिपोर्ट नेगेटिभ आइरहेको छ | यदि RDT टेस्ट पोजिटिभ आयो भने उसलाई PCR टेस्ट गरिएको छ | यो राम्रो पक्ष हो | यसबाट कमसेकम पोजिटिभ देखिएको व्यक्ति सतर्क रहन्छ, PCR टेस्टको अवसर पाउँछ | तर RDT मा नेगेटिभ देखियो भने उ ढुक्क भएर सबैसंग भेटघाट गर्छ र धेरै जनालाई रोग सार्न सक्छ | यो निकै संबेदनशील बिषय हो |

PCR टेस्टमा सिधै भाइरसको जिन देखिने भएकोले यो बिधि विश्वासिलो छ | यसमा संक्रमण भएको सुरुको अवस्थादेखि रोग निको भएको केहि दिनपछिसम्म पोजिटिभ देखाउंछ | नयाँ रोग फैलिएको बेलामा PCR टेस्ट नै गर्नुपर्छ | घांटी वा नाकको स्वाब संकलन, त्यसको सुरक्षण, परिवहन र परिक्षण राम्रोसंग गर्यो भने PCR टेस्टबाट ७० % सहि रिपोर्ट आउँछ | नेगेटिभ देखिएका व्यक्तिलाई दोहोर्याएर PCR टेस्ट गर्ने हो भने ९० % रिपोर्ट आउँछ | PCR मा पोजिटिभ देखिएपछि त्यो पोजिटिभ नै हुन्छ, नेगेटिभ देखिएमा मात्र परिक्षण दोहोर्याउन पर्ने हो |

अहिले नेपालले जतिसक्यो PCR मेसिन किन्नुपर्छ | RDT किटमा पैसा खेर फाल्नु जरुरी छैन | युरोप, अमेरिकाजस्ता देशले त कोरोना संक्रमण थेग्न सकेका छैनन् भने नेपालजस्तो स्रोतसाधन, जनशक्ति, आइसीयु, भेन्टिलेटर आदि न्यून भएको देशले संक्रमण थेग्न सक्दैन | तसर्थ भएका RDT किटलाई स्टोरमा राखौं | अर्को बर्ष संक्रमण निर्मुल भयो कि भएन भनेर सर्भे गर्न काम लाग्छ | जति सक्यो PCR मेसिन किनौं, PCR टेस्टको दायरालाई ब्यापक बनाऔं | सरकारले मात्र नसके सयौं निजि अस्पताल छन्, तिनीहरुलाई PCR टेस्ट गर्न सहजीकरण गरौँ | कोरोना संक्रमण जित्न PCR परिक्षणको दायरा बढाएर संक्रमित समुहलाई आइसोलेसनमा राखेर उपचार गर्ने तथा स्वस्थ्य व्यक्तिलाई संक्रमितबाट सुरक्षित राख्नुको बिकल्प हामीसंग छैन |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)