कोरोना संक्रमणबाट दीर्घरोगी कसरी बच्ने ? : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे,
कोरोना भाइरसले हामीलाई मार्दैन | मृत्यु हाम्रो आफ्नै कारणले हुने हो | हामीमा अन्तर्निहित रोग वा अवस्थालाई सन्तुलनमा राख्न सकेमा दीर्घरोगी समेत डराउनु पर्दैन | यो लकडाउन तथा सेमी लकडाउनको बेलामा उच्च सतर्कता तथा यी उपाय अपनाएर आफुलाई सुरक्षित राख्न सकिन्छ |

१. मुटुको रोग, उच्च कोलेस्टेरोल, उच्च रक्तचाप छ भने नुनको सेवन कम गरौँ, घ्यु तथा बोंसोको सेवन नगरौं, बिहान आधा घण्टा र बेलुका आधा घण्टा व्यायाम गरौँ | खाना ठिक्क मात्रामा खाने गरौँ | सकभर साकाहारी भोजन गरौँ | सागसब्जी, फलफुल तथा गेडागुडी प्रसस्त खाने गरौँ | Almond लगायतका ड्राइ फ्रुट खाने गरौँ | धपेडी हुने गरि व्यायाम नगरौं | ८ घण्टा सुतौं | आफुले सेवन गरेका औषधि नछोडौं | समयसमयमा रक्तचाप, कोलेस्टेरोल तथा मुटुको जांच गरौँ | भिटामिन सि, जिंक, फिस आयल लगायतका सप्लिमेन्ट सेवन गरौँ | योग, ध्यान गरौँ | मानसिक तनाब ब्यबस्थापन गरौँ | चुरोट, सुर्ती तथा मदिरा पूर्ण रुपमा त्याग गरौँ |

२. मधुमेह छ भने बिहान / बेलुका ३० / ३० मिनेट व्यायाम गरौँ | चिनी, ग्लुकोज, मिठाइ, गुलियो बिस्कुट, कोल्ड ड्रिंक्स सेवन नगरौं | औषधि नियमित सेवन गरौँ | करेला, लसुन, प्याज, मेथी, परबल, लौका लगायतहरियो सागसब्जी तथा कम गुलियो फलफुल सेवन गरौँ | ठिक्क मात्रामा खाना खाने गरौँ | एक छाक रोटी, एक छाक भात सेवन गरौँ | बिस्तारै पेट घटाउने प्रयत्न गरौँ | समयसमयमा ब्लड ग्लुकोज टेस्ट गरौँ | घटबढ भए आफ्नो चिकित्सकसंग सम्पर्क गरौँ |

३. दम लगायत श्वासप्रश्वासको समस्या छ भने बिशेष सतर्क बनौं | नियमित सेवन गर्ने औषधि नछोडौं | अदुवा, ज्वानो, कागतीको रस, बेसार, तुलसी, दालचिनी पकाएर बिहान बेलुका खाने गरौँ | मनतातो पानी सेवन बराबर गरौँ | चिसोबाट बचौं | अदुवा, मरिच, ल्वांग राखेको कालो चिया पटकपटक खाने गरौँ | अनुलोम / विलोम लगायत प्रणायाम नियमित गरौँ | खोकी धेरै लागेमा, सास फेर्न गाह्रो भएमा तुरुन्त जांच गरौँ | संक्रमणबाट बचौं | चुरोट एक सर्को पनि सेवन नगरौं |

४. कलेजोमा बोंसो जमेको छ भने अर्थात मोडरेट वा डिफ्युज फ्याटी लिभर छ भने पेट घटाउने खालको व्यायाम गरौँ | अनुलोम / विलोम पनि गरौँ | घ्यु, बोंसो, डीप फ्राई गरेको खानेकुरा सेवन नगरौं | गुलियो एकदम कम सेवन गरौँ | ग्रिन टि तथा सुप खाएर मात्र खाना खाने गरौँ | अन्न ५० % घटाएर सागसब्जी तथा रसिला फलफुल खाने गरौँ | जगिंग वा Brisk Walk एकदम लाभदायक हुन्छ |

५. मृगौलाको समस्या छ भने हल्का व्यायाम गरौँ | औषधि नियमित खाने गरौँ | रोग प्रतिरोधात्मक क्षमता बढाउन ताजा खाना खाने गरौँ | घरमा आइसोलेट भएर बसौं | डाइलाइसिस गरेका बिरामीले नियमित डाइलाइसिस गरौँ | इम्युनोसप्रेसान्ट औषधि सेवन गरेका बिरामीले थप आइसोलेसनमा बसौं | कोरोना संक्रमण कुनै हालतमा पनि नसरोस् भनेर पूर्ण सतर्क बनौं |

६. युरिक एसिड बढेको छ भने पानी प्रसस्त खाने गरौँ | रातो मासु, गेडागुडी तथा पुरानो अचार खाने नगरौं | योग गरौँ | लसुनको सेवन लाभदायक हुन्छ | रगतमा युरिक एसिड जांच गरेर चिकित्सकको सिफारिसमा नियमित औषधि सेवन गरौँ |

७. थाइराइडको समस्या छ भने खाइरहेको औषधि नछोडौं | समयसमयमा रगत जांच गरौँ | स्वस्थ आहार, बिहार तथा आचार अबलम्बन गरौँ |

८. मानसिक रोग भएका व्यक्तिले ब्यायाम, योग, ध्यान, प्रबचन श्रबण तथा श्वासको अब्यास नियमित गरौँ | आत्मबल बढाउने खालका पुस्तक, लेख पढ्ने तथा मोटिभेसनल स्पीच सुन्ने गरौँ | निद्रा नलागेमा ओशो वा रविशंकरको ‘ हठयोग निद्रा ‘ सुनेर निदाउने अभ्यास गरौँ | सुत्नुअघिं दुधको सेवन गरौँ | सामाजिक संजाल तथा समाचार सिमित समयमात्र हेर्ने गरौँ | कमेडी कार्यक्रम, रमाइला फ्लिम हेर्ने गरौँ | मनोपरामर्श तथा मनोबिदको सल्लाहको अनुसरण गरौँ | औषधिसेवीले औषधि नछोडौं |

९. क्यान्सर भएका व्यक्तिले औषधि, केमो, रेडियोथेरापी जे अवलम्बन गर्नुभएको छ, त्यसलाई नियमित गरौँ | भिटामिन सि, इ, जिंक, कड लिभर आयल, गुर्जोको चिया लगायत इम्युनिटी पावर बढाउने सप्लिमेन्टको नियमित सेवन गरौँ | आइसोलेसनमा बसौं |

१०. पक्षघात भएका व्यक्तिले सहयोगीको सहयोगम हल्का व्यायाम गरौँ | रगत पातलो हुने लगायतका औषधि नछोडौं | होम आइसोलेसनमा बसौं | कागती, हरियो लसुन, हरियो प्याज, धनियाँ , पुदिना, सुन्तला, मौसम, अमला लगायत फलफुल सेवन गरौँ |

यो बाहेक अंग प्रत्यारोपण गरेका व्यक्ति, इम्युनोकम्प्रोमाइज्ड बिरामी, कुपोषण भएका व्यक्ति आदिलाई अवस्था अनुसार औषधि, पोषण तथा सेल्फ आइसोलेसनमा बसौं | कोरोना भाइरसले हाम्रा अंगमा एट्याक गर्दा हाम्रा अंग बलिया भएमा हामीले जित्नेछौं | त्यस्तै कोरोना भाइरससंग भेट नहुने बाताबरण सिर्जना गर्नु सबैभन्दा सुरक्षित उपाय हो | त्यसैले दीर्घ औषधिसेविहरु घरमा बस्ने, सरसफाइमा तथा खानपिनमा ध्यान दिने लगायतका रक्षात्मक उपाय अबलम्बन गर्नु उत्तम उपाय हो |

(पाण्डे जनस्वास्थ्य विज्ञ हुन् । यो सामाग्रि उनको फेसबूकबाट लिएको हो)