बेलायतमा आफ्नै परिवारमा कोरोना संक्रमण संग जुध्न पर्ला भन्ने सोचेको थिईन “म मरे पनि मेरो देश बांचिरहोस्”

डा पुरुषोत्तम पौडेल,
आज आफुलाई नै जोडेर केही मनका कुरा लेख्ने मन भयो । म संझन्छु “म मरे पनि मेरो देश बांचिरहोस्” भन्ने गित । यो रचना थियो प्रेम प्रकाश मल्ल र गायक थिए शिब शंकर । यो गित रेडियो नेपालमा धेरै बज्यो । आफु सानो छदा धेरै सुनेकोले, किन रचनाकारले आफुलाई भन्दा देशलाई बढि माया गरेर यो भनेका होलान् ? आफ्नो ज्यान पो ठुलो मान्न पर्छ भन्ने सोच्दथें । उनको भनाई सत् प्रतिसत् सत्य रहेछ । त्यो सोचाई त म उमेरले सानो र आफ्नै देशमा बुवाआमाको काखमा भएको कारणले आएको रहेछ । वास्तवमा भन्दा आफु आफ्नो देशमा आफ्नो बुवाआमा संगै हुदां आफुलाई यति शुरक्षित लाग्दोरहेछ कि आफुलाई कहिलै पनि दुःख पनि पर्दैन र मर्न पनि कहिलै पर्दैन भन्ने लाग्दोरहेछ । तर पनि मानिस नमरेका कहां पो छन् र ।

अहिले म परदेशमा छु । परदेशिनु पनि आ-आफ्नै बाध्यता तथा अबस्था हुन्छ । नत्र किन छोड्थ्यो मानिसले आफ्नो देश, घर, परिवार, साथीभाई र चार्ड पर्वहरु सबै । परदेशिनु सबैको जस्तै मेरो पनि एउटा अबस्था थियो । विदेशिएकै दिन देखि कुनै न कुनै कारणले मेरो मन पोलिरहेकोछ । अझ बढि कुनै वहानामा होस् मेरो देशमा जन अधिकार खोसिन लाग्दा होस्, भ्रष्टाचारीहरुले देशलाई लुछ्दा होस्, निर्मला जस्ता चेलिबेटी बलत्कृत र महिलाहरु बोक्सीको नाममा दु्र्बयवहारको सिकार हुदा होस् वा भुकम्पले थिल्थिल्याउदा, वाडी पैरो, दुर्घटनाहरु वा डिंगो, स्वईनफ्लु, बर्डफ्लु, कोरोना जस्ता महामारीको बिगबिगिले देश आहट भईरहेको अबस्थामा होस् मलाई पिडा हुन्छ । यहि नै मातृभुमी प्रति प्रेम भनेको भनेर बुझ्दछु ।

हो मेरो देशलाई पिडा हुदा मलाई दुख्छ । जसरी आफ्नो जन्मदाता र कर्मदाता आमा र बुवा प्रति जति प्रेम, स्नेह र सम्मान हुन्छ, आफ्नो जन्म भुमी प्रति पनि उत्तिनै हुने रहेछ, फरक त सजिबता र निर्जिबताको मात्र । निर्जिबताको कुरा गरौ भने पनि मातृभुमीको प्रेम र सम्मान भगवानका निर्जिब मुर्तिहरु जस्तै शक्तिशाली हुने रहेछ जसमा अटुट सम्मान र सम्बन्ध रहन्छ । छोराछोरीहरुमा भने फरक पांउछु । उनिहरु जहा जन्मे वा हुर्के त्यहि रमाएका र खुसी भएकै देख्दछु । तर नेपाल जाने भनेपछि उनिहरुमा पनि छुट्टै उत्साह र खुसी भएकै नै पांउछु । एक भतिजले १० बर्ष अगाडि भनेका कुरा यथार्थ लाग्छ, “हाम्रा बुवा हजुरबुवा पहाड छोडेर तराई झर्दा सधै दुःखी हुनुहुन्थ्यो, हामी तराई छोडेर काठमाण्डौ जादा छटपटिन्छौ तर अहिले देश छोडेर परदेशमा बस्नेलाई त्यस्तै छ, यस्तै रहेछ जिवन पनि” ।

हो, म धेरै कुराले अहिलेको नेपाल भन्दा सम्पन्न देशमा छु । म मेरो आफ्नो सानो परिवार संगै छु । यातायात, शिक्षा, स्वास्थ्य, खानपान, रंगिचंगी भेष भुषा शहर बजार सबै राम्रो छ । तर मेरो मनले भने यि सबै क्षणिक र बिलासी देख्छु । दिउसोको उज्यालोमा त मलाई यि सबै कुराले भुलाउछ । म साझ घर फर्कन्छु । दिउसो जे खाए पनि, बेलुका नेपाली खाना दालभात, तरकारी, अचार खानै पर्छ । यि खाना एकदिन नखाए पनि अर्को दिन त चाहियो नै । अझ मेरी श्रीमतीलाई गुन्द्रुक, मसौरा, रायोको साग, लप्सीको अचार भए पुुग्छ । मौका मिले फुर्सदको समयमा परिवार संग दिउसो जानी नजानी मम, छोईला, चटपटे, समोसा, अनि पकौडा आदि आदि पकाएर त खाईन्छ नै । खादै गर्दा भन्छु, आज नेपाल कै जस्तो खाईयो तर पनि मेरो मन भने अघांउदैन । बिश्व भरिका खानेकुराहरु आफु भएको देशमा उपलब्ध भएपनि तिनको स्वादले मलाई र मेरो परिवारलाई कहिलै अकर्षण गरेन् ।

समय समयमा नेपालवाट गायक र गायिका आउदैछन्, कलाकार आउदैछन्, हास्य चब्यंगकार आउदैछन् या राजनेता आउदैछन् भन्दै फेसबुक र भाईबर भरि त्यहि मेसेज आउछन् । म पनि समय मिलाएर संभव भए सम्म र खवर पाए सम्म कार्यक्रममा पुग्छु । कति कार्यक्रममा त नेपाली खाना पनि दिने चलन छ । खाना पछि हलमा बसेर मजाले नेपाली कार्यक्रम प्रतक्ष्य हेर्छु, सुन्छु र रम्छु । त्यहा मेरो नेपाल देख्छु तर त्यो त २-३ घण्टा मात्रै हो फेरी मेरो आफ्नै परदेशमा रहेको जिवन त छदैछ । राति बिछ्यौनामा पल्टन्छु । घर परिवार, बुवाआमा, दाजुभाई दिदि बहिनि र ईष्टमित्र, साथीहरू सबैको संझना आईरहन्छ । त्यहि सम्झिदा सम्झिदै निदाउछु ।

सपनामा पनि नेपालमै घर परिवार, ईष्टमित्र र साथीभाईहरु संगको भेटघाट, घुमघाम, रमाईलो, मन्दिर गएको, डाडा चढेको, झरेको, खेतवारी आदि देख्छु । बिहान बिउझिदा आनन्दको सिमै हुदैन । अनि बिस्तारै मेरो दिमाख खुल्न थाल्दछ अनि फेरी उहि गरुंगो, भारी बोके जस्तो, छट्पटी भएजस्तो, केहि बिर्से जस्तो भान बढ्दै जान्छ । आफ्ना दैनिकि र कार्य ब्यस्तताहरुले केहि समय त आफु कहा छु मेरो धरातल के हो भन्ने नै बिर्सन्छु तर फेरी “खाली समय सैतानको घर” भनेझैं नेपाल, घरपरिवार, ठांउथलो सबै ताजा हुदै आउछ । मनले झोला बोक र देश फर्क भनिरहन्छ तर परिस्थितिले फेरी मलाई अल्झाई रहन्छ ।

सबै नेपालीले आफ्नो भुमिका अनुसार बिश्वका जुनसुकै कुनामा बसेर भएपनि आफ्नो देशलाई प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गरिनै रहेकाछन् । परदेशी नेपालीहरुको मुलुकको अर्थतन्त्रमा ठुलो योगदान त छदैछ । अझ थप देशमा आपदबिपदमा, आ-आफ्नो गांउ, जिल्ला र क्षेत्रहरुमा बाडि पैरो पिडितलाई सहयोग गर्ने, स्कुल बनाउने, हेल्थपोष्ट खोल्ने, एम्वुलेन्स सेवा संचालन गर्ने, छात्रबृत्ती दिने, कम्पुटर शिक्षा आादिमा सहयोग गरेर देश र सामाजिक बिकासको अभियानमा सरिक हुदै आएकाछन् । म र मेरो परिवार पनि यस्ता सहयोगी हातहरु बनेर बेला मौकामा नेपाल र समस्यामा परेका नेपालीलाई कुनै न कुनै रुपमा सहयोग गर्ने गर्दछौ ।

नेपालमा र नेपालीलाई छुस्रुक्क केहि होस् त सबैका फेसबुकका भित्ताहरुमा नेपालकै माया झल्केका पोष्टहरुले रंगिएको पाउछु र म पनि आफ्नो बर्कतले भ्याएको कमेन्ट लेखिहाल्छु । कमेन्ट लेख्दा कोहि अल्ली भाबुक भएर र कोहि यथार्थ लाई केलाएर लेख्छन् त कोहि अल्लि खरो भाषा पनि प्रयोग गर्छन् । तर आखिर यि सबै मुलुक प्रतिको मायाले त गरेका हुन् नि, भन्ने बुझ्दछु । म पनि नेपालमा राम्रो उदाहरणिय काम भएको बेला खुसी हुन्छु तर राज्यमा गलत भएको बेलामा वा जनआवाज उठाउन पर्ने बेलामा दुखी भएर आफ्नो वालमा लेख्ने गर्छु र साथीभाई भेट हुदा छलफल गर्छु । जोसुकै होस् मनको कुरा सालिनता साथ पोखिदिन्छु । कसैलाई मन परे वा नपरेकोमा मलाई प्रवाह लाग्दैन किनकि ति मेरो आफ्नो बुझाईका प्रतिबिम्व त हुन् नि ।

आजभोली त सोसल मिडियाले र अनलाईन मिडियाको बिकासले गर्दा सबैलाई अभिब्यक्त गर्ने अबसर मिलेकोछ र सबैलाई नजिक बनाईदिएकोछ । पहिला जस्तो खबर थाहा पाउन वा एउटा लेख छपाउन पनि धेरै गार्हो अवस्था छैन । यहि अवसरलाई सदुपयोग गरेर पाठकहरु माझ पुगोस् भनेर सोसल मिडियामा र अनलाईन खबर पोर्टलहरुमा पनि कहिले कांही समसामयिक बिषयमा आफ्ना बिचारहरु लेख्न मन लाग्छ र समय मिले सम्म लेख्छु पनि । यहि सोसल मिडियाको माध्यम मार्फत अहिले देश भित्रै मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने श्रमिक समुह लकडाउनको अबस्थामन शहरहरुमा खान र बस्नको समस्याका कारण आफ्नो कुम्लो काम्लो बोकेर लामो दुरी तय गर्दै आफ्नो घर फर्कदै गरेको देखियो । सरकारवाट पनि आबस्यक ब्यवस्था भएको छैन भन्ने सुन्दा मेरो पिडा थपिएको महसुस भएकोछ । ति राष्ट्र निर्माणमा सरिक श्रमिकहरुलाई काम गरिरहेकै ठांउमा नै राहत दिन त सक्थ्यो खानाको प्रबन्ध गर्न सक्थ्यो नि सरकारले । यस्तो आपद पर्दा खाडी मुलुकहरुमा रहेका नेपालीहरुलाई मुलुक फर्कन दबाव भन्ने कान्तिपुरमा छापिएको समाचार पढ्दा निकट भविस्यमा आईपर्ने कठिनाई को सामना अर्को समस्या देख्दछु ।

प्राय सधै बिहान उठेर पहिला नेपाली अनलाईन पोर्टलहरु हेर्छु । आफुलाई सर्सर्ती नेपाली न्युजहरु अपडेट गर्छु र त्यस पछि मात्र बिबिसि, सिएनएन आदि अरु स्थानिय र बिश्व समाचार हेर्ने गर्छु । अहिले जताततै कोरोना फैलिएको र यसकै प्रभावका खबरहरु छन् । म आफै बसेको देशमा कोरोना महामारीका कारण १८ हजार भन्दा बढि मानिसले कोरोना भाईरसका कारणले ज्यान गुमाई सके । करिब डेढ दर्जन जति नेपालीहरुले त ज्यान गुमाएको खबरहरु नेपाली पोर्टलहरुमा आएकाछन् भने धेरै संक्रमित भईरहेकाछन् । मेरै बरिपरि कोरोना भाईरस घुमि रहेको रहेछ ।

आहिले, हामी आफैमा संक्रमण पुष्टि भएकोछ । मैले पनि बेलायतमा र बिशेष गरि आफ्नै परिवारमा यो कोरोना संक्रमण संग जुध्न पर्ला भन्ने सोचेको थिईन । अहिले हामी यस भाईरस संग लडिरहेका छौ । तर आत्मा बिश्वास, उपलब्ध सुचना, साथी भाईहरुको अनुभव र सद्भाबले रोगसंग लड्न मद्दत पुगिरहेकोछ । सबै ठिक हुने आशामा छौ । तर मलाई भन्दा पनि मेरो देश र नेपाली समुदायमा के भईरहेको छ आज अर्को नेपाली लाई डस्यो कि भन्ने चिन्ताले सताउन भने मलाई छोडेको छैन । नेपालीको कोरोनाका कारण बिदेशमा मृत्यु भयो रे, नेपालमा अर्को केस भेटियो रे भने पछि यो भुसको आगो सल्के जसरी एक मानिस वाट अर्को मानिसमा थाहै नभै सर्ने भाईरसले कतै मेरै देश बिस्तारै आक्रान्त हुदै त छैन? खवर हेर्न समेत डराउछु । कोरोना कै कारण करिव ३० परदेशिएका नेपालीहरुको ज्यान गैसकेको छ भनिएकोछ । यसको पिडा र परिवारमा यसवाट पर्न गएको असरको भयाबह छ सामना गर्नै किठिन छ । तर पनि बिदेशिएका नेपालीले त्यति नै संख्यामा नेपाल भित्र ज्यान गयो रे भन्ने सुन्न सकिदैन ।

कहिले युद्ध, कहिले भुकम्प, कहिले बाडिपैरो त कहिले आगलागीले थला पर्ने गरेको सानो अर्थतन्त्र र प्रजातन्त्रिक अभ्यासमा वामे सर्दै गरेको मेरो देश कतै कोरोनाको चपेटामा भुम्रिन पर्यो भने के गति होला? अहिले सम्म ४५ वटा केसहरु फेला परेपनि यसको असर बढ्दै गयो भने, भन्ने कल्पना गर्दा पनि डर लाग्छ । अहिले अमेरिका, युरोप कोरोनाको केन्द्र नै बनिरहेकाछन् । अहिले सम्म बिश्वमा १८३ हजारले ज्यान गुमाईसके जसमा यो बिश्वमा अझ कतिले ज्यान गुमाउन पर्ने हो र साधन र श्रोतहरुको प्रयोग गर्न पर्ने हो यकिन छैन। अरु देशमा जतिले दुखद् रुपमा ज्यान गुमाए पनि मेरो देशमा यसका कारण कसैले ज्यान गुमाउन नपरोस् । एउटा मात्र ज्यान गयो भने राज्य थप सतर्क हुदै ठुलै साधनश्रोतहरु ब्यवस्था गर्न पर्नेहुन्छ । यसवाट मेरो सानो देश आर्थिकरुपमा धेरै पछाडि धकेलिनेछ, धरै थप नेपालीले फेरी अर्थतन्त्र बचाउन र रोजगारीको लागि बर्षौ बिदेश धाउन र दुःख, कष्ट, एकान्त महसुस गर्न पर्नेछ । हुन त सबै देशहरु आर्थिकरुपमा खुम्चिन पुगेकाछन् । तर मेरो मन मानिरहेको हुदैन ।

यहि लकडाउनमा परिवार संग बसेर एउटा हिन्दी सिनेमा पनि हेरेको थिए “सुपर ३०”। बिहारका आनन्दकुमारको वास्तविक जिबन कथामा आाधारित सिनेमा रहेछ । त्यसमा भनिएको थियो “आपत्ति वाट नै आबिष्कारको जन्म हुन्छ” । यसले बिश्वलाई नया अबस्थामा त बदल्ने अवसर दिनेछ । यसपछि बिश्वब्यापिकरण र परनिर्भरता र सस्तो श्रमिक खोज्ने नितिमा परिबर्तन हुने देखिन्छ भने सम्वन्धित देशहरुले पनि जिम्मेवार भएर जनताका सेवा सुबिधा, आवस्यक उत्पादन र रोजगारी ब्यवस्था आफ्नै देशमा गर्न पर्ने देखिन्छ । यस बिश्वमा यो कोरोना आकस्मिक आपत्ति पछि हुने परिबर्तनले नेपाललाई पनि सुधार गर्ने र अगाडि बढ्ने अबसर प्राप्त हुनेछ । मनमा निकै सकारात्मक कुरा पनि खेल्छन् । यदि यसो भयो भने त रोजगरी र शिक्षामा बिदेश भौतनरिने आजका नेपालीहरु भोली अरुलाई रोजगारी दिन सक्ने नि त हुन सक्छन् नि। अहिले पो बिश्वब्यापिकरणले थिच्चिएर र मिचिएका मुलुक अगाडि बढ्ने अबसर प्राप्त नभएर हो की, हेरौ ।