नेपालवाट ‘दुइ नम्वरी’ नायिका उगेन छोदेनलाई उद्धार गर्न भूटानले पठायो चार्टर विमान

चन्द्रा खरेल, इनेप्लिज

लुइभेल, केन्टकी । दीपेन्द्र लामाद्वारा निर्देशित चलचित्र दुइ नम्वरीकी भुटानी अभिनेत्री उगेन छोदेनलाई लिन भूटान सरकारले चार्टर्ड फ्लाइट पठाएको छ ।

पत्रकार तथा चलचित्र निर्देशक लामाले चार्टड फ्लाइट मार्फत नायिका उगेन छोदेन देश फर्किएको जानकारी दिए । उनी नेपाली फिल्म २ नम्बरीमा अभिनय गर्न ८० दिनअघि काठमाडौं आएकी थिइन् तर लकडाउनको कारण चलचित्र छायांकन अगाडि नवढेपछि नायिका स्वदेश फर्किएकी हुनु् ।

उगेनलाई लिन शनिवार बिहान भुटानबाट त्यहाँको सरकारी विमानसेवा ड्रुक एयरको एटिआर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएको थियो । काठमाडौंबाट बिहान ९ः०० बजे उगेन र अर्का एकजना भुटानी नागरिक लिएर विमान पारो विमानस्थल फर्केको निर्देशक लामाले जानकारी दिए ।

अहिले पारोको ओलाथाङ होटेलमा उगेनको २१ दिन लामो क्वारनटाइन सुरु भइसकेको छ । त्यसपछि उनी थिम्पु प्रस्थान गर्नेछिन् । स्थिति सामान्य भएपछि बाँकी छायांकन पूरा गर्न उनी फेरि नेपाल आउनेछिन् ।

नायिका उगेनले चलचित्रमा नायक दयाहांग राइको अपोजिटमा भूमिका निर्वाह गर्दैछिन् ।

हामी २ नम्बरी टिम उनको उद्धार कार्यमा सहयोग गर्ने भुटान सरकार, ड्रुक एयर र परिवारप्रति आभार व्यक्त गर्दछौं, निर्देशक लामाले भनेका छन् ।

नायिका उगेनले फेसवुकमार्फत आफु भूटान आइपुगेको जानकारी गराएकी छिन् । विमानस्थलवाट सोझै क्वारेन्टानइमा गएको जानकारी दिंदै उनले क्वारेन्टाइन पनि आफ्नो घरजस्तै भएको उल्लेख गरेकी छिन् ।

म माया र सहयोगका लागि नेपाललाई धेरैधेरै धन्यवाद दिन चाहन्छु, उगेनले भनेकी छिन् ।