२४ घण्टा अघि बुलेटको गतिमा आएको पीडा आज कछुवाको गतिमा छ र सहनसक्ने पनि भएको छ ।

सच्ची मैनाली अमेरिका,

२४ घण्टा अघि बुलेटको गतिमा आएको पीडा आज कछुवाको गतिमा छ र सहनसक्ने पनि भएको छ । बुलेटले कछुवाको गति लिएपनि दुख भने निरन्तर दिईनैरहेको छ ।

कुनै बेला डङ्रङै ढालिदिन्छ त कुनै बेला उठ्न त दिन्छ तर बारम्बार जिस्क्याई रहन्छ, सताईरहन्छ । आज त
३ घण्टा भन्दा बढि सुत्न पनि दिएन । कुनै बेला अलिकति श्वास फेर्न गार्हो हुने, बेला बेलामा अलिकति छाती दुख्ने बाहेक एक दुईपटक मात्रै खोकि थपिएको छ ।

डक्टरले पनि COVID-19 कै संका गर्यो । हरेक ८ घण्टामा 1000mg को Tylenol र Tami Flu खान र रेष्ट गर्नुभन्ने डक्टरको सल्लाह छ ।

यस बिच मेरो फोनमा यहॉहरूको माया स्वरूप फोन कल, मेसेन्जर,भाईबर, रेगुलर मेसेजमा मेसेजको बाढि आएको छ । तर चाहेर पनि जवाफ फर्काउन सकेको छैन । कतिले त मेरो फोन नउठेपछि आत्तिएर एक अर्कोलाई फोन गरेर जानकारी लिएको पनि थाहा पाएँ । शायद तपॉईंहरूको ठाउँमा म भएको भए मलाई पनि त्यस्तै हुन्थ्यो होला । धेरै जनाले मेरो अवस्था update गर्न अनुरोध गर्नुभएको छ । केहि मेसेज हेरें, केहिलाई रिप्लाई गरें तर सबैको जवाफ दिन यतिखेर म असमर्थ भएकोले फेरि एकमुष्ठ Status नै लेखेको छु ।

यतिखेर म आफ्नो घरमा नै आईसोलेसनमा छु । COVID-19 को संका गरिएपनि मेरो लागी यतिखेर कुनै टेस्ट उपलब्ध छैन ।

मैले कोरोना भए नभएको टेस्ट गर्न किन नपाउने? मेरो डक्टरको भनाई अनुसार-

म पुर्ण रूपमा स्वस्थ ब्यक्ति भएको र मलाई डाईबेटिज, मुटुको रोग लगायतका कुनै अरू रोग नभएको, म स्वास्थ्य कर्मी नभएको र म कोरोना संक्रमित पेसेन्टको सम्पर्कमा सिधै नआएको हुँदा मैले कोरोना टेस्ट किट अभावका कारण टेस्ट गर्ने criteria meet गर्दिन । त्यसैले अहिले अलि अलि छाती दुखेको र बेलाबेलामा श्वास फेर्न अलि अलि गार्है भएपनि श्वास फेर्न निकैनै गार्हो नभएसम्म मैले कोरोना टेस्ट गर्न पाउँनेछैन । श्वास फेर्न गार्हो भई हिरिक हिरिक नै पारेमा भने मलाई ईमरजेन्सि रूममा जान सुझाव दिईएको छ ।

यहॉहरूको जानकारीको लागी – यतिखेर कोभिड पोजेटिभनै देखिईसकेका पेसेन्टहरूलाई पनि घरमै आईसोलेसनमा बस्न भनिएको छ । उनीहरू पनि श्वास फेर्न गार्हो भई हिरिक हिरिक नभईन्जेलसम्म ईमरजेन्सिमा जाने परिस्थिति छैन । अहिले अमेरिकाको परिस्थिति हेर्दा संक्रमित नभएकाले पनि अस्पतालबाटै संक्रमण बोकेर आउन सक्ने भएकोले अनावश्यक रूपमा अस्पताल नगएकै राम्रो भन्ने सल्लाह बिशेषज्ञहरूको छ । यतिखेर कोरोनाको अघि अरू सबै समस्याहरू गौण छन् । कोरोना पोजेटिभनै भएपनि ईमरजेन्सि जान र टेस्ट criteria meet गर्न पनि श्वास फेर्न नसकेर हिरिक हिरिक नै हुनुपर्ने अवस्था छ ।

शायद त्यसैले यसलाई महामारी भनिएको होला । महामारीमा यस्तै हुने रहेछ । त्यसैले बेलैमा सबै सजग रहौं । सबैले बुझौं, यो सामान्य परिस्थिति होईन । कोरोना लागेर यससंग संघर्ष गर्नुभन्दा कोरोना लाग्नै नदिने बाटो रोज्ने हर सम्भव कोशिस गरौं, साबधानी अपनाऔं तर कोरोना लागीहालेमा भने डटेर यसको सामना गरौं । नआत्तिऔं! आफु पनि बचौं र अरूलाई पनि बचाऔं!

मैले लेख्न सक्दासम्म अपडेट दिनुपर्ने अवस्थामा निरन्तर लेखिरहनेछु । यहॉहरू नआत्तिनुहोला!