‘कोरोना लाग्दैमा मान्छे मर्दैन’ कोरोनालाई परास्त गरेर घर फर्किन नर्स सुशीला !

शिब भण्डारी, लन्डन बेलायत । लन्डनमा कोरोना संक्रमणलाई परास्त गरेर सुशीला गैरे शुक्रबार घर फर्केकी छन् ।।डार्टफोर्ड स्थित डारेन्ट भ्याली अस्पतालमा कार्यरत सुशीला पेशाले स्वास्थ्यकर्मी हुन् । दुई सन्तान र श्रीमान् कृष्ण गैरेसँग साउथ इस्ट लन्डनको चार्ल्टनमा बसोबास गर्ने सुशीलाको नेपाल घर बुटवलको मणिग्राम हो । घरमै पूर्ण स्वास्थ्यलाभ गरिरहेकी सुशीला लकडाउनको पालना गर्दै घरमै बस्न सुझाव दिन्छिन् । तातो पानी सेवन गरिराख्नुस्, जिरा पानी, बेसार बीरे नुन अथवा हनी लेमन दिनमा दुई पटकभन्दा बढी सेवन गरिराख्नुपर्ने उनको सुझाव छ । मुखलाई सुख्खा हुन नदिनुस्, चिसो पानी नखानुस् ।

ज्वरो आउँदैमा नआत्तिनुस्, उच्च मनोबल बनाउनुपर्छ्, कोरोना केही होइन, मैले खानु पिउनुपर्छ, म बलियो हुनुपर्छ, मलाई केही हुँदैन भन्ने आत्मविश्वास राख्नुपर्छ । हात धोइराख्ने, सेनिटाइजर लगाइराख्ने गर्नु होस् । संक्रमणका बेला कस्तो लक्षण देखिदो रहेछ भन्ने जिज्ञासामा सुशीलाले भनिन्, एकदमै ज्वरो आएको थियो, टाउको दुखेको थियो, आँखा निस्केलाजस्तो गरी दुखेको थियो । आफैले काम गरेको अस्पतालमा ६ दिन उपचारपछि उनी घर फर्किएकी हुन् ।

डाक्टरले १४ दिन घरमै आइसोलेसनमा बस्न निर्देशन गरेका छन् । त्यसैले उनी घरमै आइसोलेसनमा बसेकी छन् । कसरी संक्रमण हुँदो रहेछ भन्ने लन्डन नेपाल न्यूजको जिज्ञासामा सुशीलाले भनिन्, ‘फ्रन्टलाइनमा काम गर्नेले पीपीइ लगाएन भने सर्छ, मेरो बिचारमा हावाबाट पनि फैलिन्छजस्तो लाग्छ । यत्ति छिटो नत्र कसरी फैलिन्छ ? स्वास्थ्यकर्मीले सावधानी अपनाउँदा पनि कसरी सरेको छ भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन । फ्रन्टलाइनमै काम गर्दा संक्रमित हुनुभएको हो भन्न मिल्छ ? सुशीलाले भनिन्, “मिल्दैन । ढाँडको समस्याले गर्दा केहि दिन देखि म काममा गएको थिइन् । डाक्टरले नै मलाई बिदा दिएको थियो । म क्वीन एलिजावे अस्पतालको फिजियोमा गइराख्थे । सम्भवतः त्यहीबाट म संक्रमित भएँकी भन्ने लाग्छ । तर यकीनका साथ भन्ने सक्ने अवस्थामा म छैन ।”

कस्तो लक्षण देखियो भने कोरोना भाइरस हो कि भनेर सचेत हुने त?

तपाईंलाई हाछ्यूँ आउने, नाक बग्ने-टालिने केही पनि समस्या छैन तर सुख्खा खोकी लागिरहेको छ भने तपाईं सचेत हुनुपर्‍यो।

सुख्खा खोकीसँगै तपाईंको सास छोटो भएको छ, ज्वरो आएको छ र सास फेर्न कठिन छ भने तपाईं तुरुन्तै डाक्टरकहाँ जचाउन जानुस्। किनकी यी कोरोना भाइरसका लक्षण हुन्। कोरोना भाइरसमा कहिलेकाहीँ जिउ दुख्ने र थकान लाग्ने पनि हुन्छ। यस्तोमा तपाईं सचेत हुनुपर्छ।

– लन्डननेपालन्युज