कोरोनाको कारण वढ्यो घृणाको अपराध, चाइनिज ठानेर दुइ नेपाली नागरिकको गाडीमा आगजनी

लण्डन । कोरोना संक्रमणले विश्वलाई आक्रान्त वनाउंदै लगेको वेला वेलायतमा घृणाको अपराध वढ्दै गएको छ । बेलायतको मेडस्टोनमा अघिल्लो रात चाइनिज नागरिकको ठानेर अपराधीहरुले सेवानिवृत्त गोरखा सैनिक रामकुमार लिम्वुको कारमा आगजनी गरिदिएका छन् ।

आफ्नो घर वाहिर विष्फोटको आवाज सुनेपछि पूर्व सैनिकको परिवारले सावधानीपूर्वक हेर्दा आफ्नो कारमा आगलागी भइरहेको देखे । सो परिवारका केही सदस्यहरु कोरोनाविरुद्ध राष्ट्रिय स्वास्थ सेवामा कार्यरत रहेका छन् ।

हाम्रो अनुहार चाइनिज अनुहारसंग मिल्ने हुंदा आक्रमण हुने धेरै डर रहेको छ, पीडित परिवारका एक सदस्यले गुनासो गरेको स्थानीय केन्ट अनलाइनले जनाएको छ ।

यो घटनाको एक घण्टा पछि सोही क्षेत्रमा अर्का नेपालीको कारमा पनि आगजनी गरिएको थियो ।

सो परिवारका सदस्यहरुलाई स्थानीय अतिवादीहरुले हिंडडुलका लागि वाहिर निस्कदा समेत चाइनिजहरु आफ्नो देश जाऊ, चमेरा खान छाड भनेर अपमानित गर्ने गरेका छन् ।

लिम्बुकी भतिजीलाई उद्धृत गर्दै केन्ट अनलाइनले कोरोना भाइरसको महामारी सुरु भएपछि सो क्षेत्रमा नेपालीप्रति जातीय द्वेष बढेको पाइएको उल्लेख गरेको छ । उनले आफ्नो पितालाई किनमेलका लागि निस्कँदा पनि सुरक्षित रहन सल्लाह दिने गरेको बताएकी छिन् ।

लिम्बुका छोरा मिलन लिम्बुले विष्फोट सुनेपछि यतिबेला कसले आतसबाजी गर्यो होला भन्ने लागेको र आफूहरुको कार जलिरहेको देखेपछि वरिपरि छरछिमेक, प्रहरी, बारुणयन्त्र सबैलाई खबर गरेको बताए ।

मेडिस्टोनमा गोरखाहरुको ब्यारेक रहनुका साथै पूर्व गोरखाहरुको पनि बाक्लो बसोबास छ ।
– इनेप्लिज