कोबिड १९ को सकरात्मक पाठ

रामहरि पौड्याल
बिश्वो यतिखेर कोबिड १९ को त्रासदीले त्राहिमाम भएको छ । चीनको वुहानबाट शुरु भएको यो महामारी अहिले संसारको शक्ति सम्पन्न युरोप र अमेरिकातिर डडेलोको रुपमा सल्केको छ । एक लाख भन्दा बढीले ज्यान गुमाए भने दशौँ लाख संक्रमित भएका छन् । आधुकिकता र ग्ल्यामरको केन्द्र बनेर संसारका सबैलाई लोब्याइरहने ठूला ठूला सहरहरुमा यतिखेर मुर्दा शान्ति छाएको छ । कुनै आबाज छैन, कतै गाडीहरु गुडदैनन् धुलो धुवा कोलाहल केहि सुनिदैन । हिजोको महाशक्ति बेलायतको लन्डन होस् या जर्मनीको बर्लिन, फ्रान्सको पेरिस होस् या इटालीको मिलान, स्पेनको मड्रिड । अमेरिकाको नियुयोर्क होस् या क्यालिफोर्निया सबैतिर कोलाहल मचाएको छ एउटा सानो आंखाले नदेखिने भुसुनाले । बिश्वो बिजयी भएको स्वाङ्ग गर्नेहरुलाई चंद्रधरातल मात्र होइन, अब मङ्गल ग्रह र समस्त शौर्य मण्डलमा प्रभुत्त्वो जमाउने अभिलाषाले अगि बढेका मनुवाहरुलाई एउटा पाठ सिकाएको छ कोभिड-१९ ले । पेट्रिक क्षेप्यास्त्र, मिसाइल, संसार धोस्त पार्न सक्ने अणु परमाणु बमका धाकहरु आज दुला पसेका छन् मुसा बनेर जीवन रक्षाकालागि।

दोस्रो विश्वयुद्ध पछि सबैभन्दा ठूलो कार्बन उत्सर्जनमा कमि

“न सोभियत संघको पतन हुँदा होस्, न त विगत ५० बर्षका समयाबधीमा देखिएका विभिन्न बिश्वो घटनाहरु- तेलको कमि, तेलको बचतमा देखिने बिश्वो होडबाजी, आर्थिक मन्दीमा समेत यो महासंकटको जस्तो धेरै कार्बन उत्सर्जन भएको थिएन।” कार्बनको उत्पादनमा वार्षिक रूपमा ५ प्रतिशतले गिरावट आउन सक्छ जुन २००८ को आर्थिक मन्दीपछि १.४ प्रतिशतले घटेको थियो। क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयको अर्थ प्रणाली विज्ञानका प्राध्यापक ज्याक्सनले बताए | ग्लोबल कार्बन प्रोजेक्टका अध्यक्ष समेत रहेका उनले वार्षिक उत्सर्जनको अनुमान व्यापक रूपमा अध्ययन गरिरहेका छन् ।

“पृथ्वी बिरामी छ भन्ने कुरा पनि हामीलाई यो घटनाले सिकाएको छ । यसले हामीलाई पर्यावरण जोगाउन, वन फडाँनी नगर्नका लागि पनि सन्देश दिएको छ । त्यसैले पृथ्वीको ख्याल राख्नु हाम्रो कर्तव्य हो।“ विल गेट्सको भनाइ भनेर सामाजिक संजालमा यो भनाइ निक्कै भाइरल भयो यतिखेर| ‘प्रकृतिले कोरोना भाइरसको महामारी र चलिरहेको मौसम बिपत्ति मार्फत हामीलाई सन्देश दिएको छ|’ संयुक्त राष्ट्र संघका वातावरण प्रमुख इन्गर अनदर्सन| विशेषत: वन्यजन्तुहरूको विनाश र मौसम आपत्तिले मानवतालाई हानी पुर्‍याइरहेको छ, कोविड १९ ले ‘स्पष्ट चेतावनी दिएको’ छ विज्ञहरू भन्छन्।

काठमान्डौ लगाएत सँधै धुलो धुवाले भरिने देशका सबै शहरहरु एकाएक सफा देखिनु, हिमान्चल प्रदेशमा सयौं किमि परबाट हिमाल देखिनु, संसारका ब्यस्त शहरहरुमा देखिएका एयर क्वालिटी इण्डेक्स्मा आएको यो ऐतिहासिक गिरावटले हामी सबैलाई एउटा पाठ सिकाएको छ । यो सबै प्रदुषणको जिम्बेबार हामी नै थियौ । सुन्दर धर्तीमा थोपरिएका अनगिन्ति सबारी साधनहरुका भिड तिने फाल्ने धुलो धुँवा, कलकारखाना सबैले प्रीथ्वीलाई बिरामी बनाए । बिश्वो तापक्रमलाई बढाए । बन बनस्पति , जीव जन्तु सबै माथि धावा बोले । बर्षमा केहि हप्ता यस किसिमको बन्द गरिनु पर्दो रहेछ सफा स्वास फेर्ने धर्तिको पूजा गर्न । यो सकारात्मक संदेश आजको उपलब्धि हो ।

आदिवासीहरूको न्युयोर्क सम्मेलन
न्युयोर्क यतिखेर कोरोनाको डरलाग्दो बिपात्तिबाट गुज्रेको छ जहाँ सयौं नेपालीहरु समेत कोरोना संक्रमित भएको र केहीको दुखद मृत्युको खबर सुनिएको छ| एउटा सन्जोग नै मान्नु पर्छ मार्चको १३ मा न्युयोर्क शहरमा भेला भएका विश्वका आदिवासी नेताहरुका अनुसार कोविड १९ र स्वास्थ्यसम्बन्धी अन्य रोग सीधा मौसम परिवर्तन र वन फँडानीमा जोडिएको बताएका छन् | “कोरोना भाइरसले पृथ्वीको सन्तुलन खतरामा रहेको कुरा सम्झायो, र हामीले नाजुक जैबिक विविधताको सन्तुलन कायम गर्नु आवश्यक छ | संसारले प्रयोग गर्ने २0 प्रतिशत औषधिहरू जंगलबाट बाहिर आउँदछन् र जंगलहरू नासेर हामीले भविष्यका समाधानहरूलाई जोखिममा पारेका र्छौं|” यो महामारीले संसारलाई बताउँदै छ आदिवासीहरू हजारौं बर्षदेखि के भनिरहेका छन – यदि हामीले जैबिक विविधता र प्रकृतिलाई बचाउन सहयोग गरेनौं भने हामी यो र अझ डरलाग्दो खतराको सामना गर्ने छौं,” सुक्रे रोमेरो अमेरिकन एलायन्स अफ पीपुल्स एंड फरेस्ट्स (एएमपीबी) का सह-संयोजकले भने।

वैज्ञानिक अनुसन्धान अनुसार आदिवासी जनजाति र उनीहरुको ज्ञान प्रणालीले हजारौं बर्षमा वन बिनासको हानिकारक प्रभावहरू, जैविक विभीधताको चर्को बिनास र ठूला औद्योगिक विकासको नाममा गरिने प्रकृतिको दोहनको दाबीलाई समर्थन गर्दछन ।

यदि संसारले आदिवासी जनजातिहरूको अधिकारलाई सुदृढ पार्नका लागि काम गरेको भए, उनीहरुले प्रकृतिमा बस्न र पशु र बोटबिरुवाको प्रजातिहरूको रक्षा गर्न सिकेका छन भन्ने सत्यलाई चिनेका भए, हामीले अहिले सामना गरिरहेको जस्ता थोरै महामारीहरू देख्ने भोग्ने थिएनौं|” मीना सेत्रले मार्च १३को उक्त सम्मेलनमामा भने। हाम्रो समुदायमा हामीले एउटा खास जैविक बिविधताको सम्मान गरेका छौं जसले आज हाम्रो सुरक्षा गर्दछ,” हामी के खान्छौं ? त्यो हामी आफै रोप्छौं, र हामीसँग यस्तै समयहरू पाउनको लागि आवश्यक संसाधनहरू र ज्ञान छ, र यो नै हामी बाँकी विश्वलाई भन्न खोजिरहेका छौं।” रोमेरोले भने।

दुखको कुरा बिश्वोलाई आदिबाशी जनजाती र जैविक बिभिधताको रक्षा गर्दै बन जंगल र प्रकृतिलाई जोगाउन गरिएको उक्त अन्तरास्ट्रिय सम्मेलनको मात्र दुई हप्तामा अमेरिकाको नियोर्क शहर कोरनको प्रकोपले सत्यास भएको छ | यसबाट हामी सबैले ठुलो पाठ सिक्नु पर्छ बेलैमा |

बेलायतको प्रसिद्ध पत्रिका गार्डियनमा एन्डरसनले बताइन् “मानवजातिले गरेको प्राकृतिक बिनास र त्यसको अस्तित्वोमा बोलेको तीब्र धावा नै अहिलेको हानिकारक परिणामहरू हुन् । उनले चेतावनी दियिन आफ्नो ग्रहको हेरचाह गर्न असफल हुनु भनेको आफ्नै ख्याल नगर्नु हो र आफनै सन्ततिको भविष्यमा हतियार चलाउनु हो । अझ यस्ता प्रकोप रोक्न विशेषज्ञहरूले भनेका छन्, विश्वव्यापी बढ्दो तापक्रम, खेतीपाती, खानी र आवासको लागि प्राकृतिक संसारको विनाशको अन्त्य हुनुपर्दछ किनभने त्यस्ता क्रियाकलापले वन्यजन्तुलाई मानिससँग सम्पर्क राख्ने काम गर्दछ।“ उनीहरूले अवैध वैश्विक पशु व्यापारको बजार अन्त्य गर्न पनि आग्रह गरे – जसलाई उनीहरू रोगका लागि “आदर्श मिक्सिंग बाउल” भन्छन् | कोरनाको उदगम बुहान पनि यस्तै पशुको अबैध ब्यापर र पैठारीमा जोडिएको थियो| रेनफरेस्ट एक्सन नेटवर्क–२०१७ का अनुसार विश्वमा ठूला खाद्य उत्पादक कम्पनीका कारण बर्सेनि २० हजार हेक्टर जंगल सखाप भइरहेको छ।

जंगली र घरेलु जनावरबाट मानिसमा रोग सार्ने यति धेरै अवसरहरू पहिला कहिल्यै भएको थिएन,” उनले गार्जियनलाई बताइन्, कि सबै उदाउँदो संक्रामक रोगहरूमध्ये ७५ % वन्यजीवबाट आएका हुन्। “जंगली ठाउँहरूको निरन्तर क्षयले हामीलाई अप्ठेरोमा परेको जनावरहरू र बोटबिरुवाहरूको नजिक पुर्याएको छ तेसैले सार्न सक्ने रोगहरू मानिसमा पुग्न सक्छ।”

अष्ट्रेलियाको बुशफायर, अत्त्यधिक तातो रेकर्ड र केन्यामा भएको सबैभन्दा नराम्रो सलहको आक्रमण। यी सबै घटनाहरूसाथ, प्रकृतिले हामीलाई सन्देश पठाउँदै छ,” एन्डरसनले बताइन् ।

अमेरिकाको हार्वर्ड स्कूल अफ पब्लिक हेल्थका आरोन बर्नस्टेनले भने, प्राकृतिक स्थानहरूको विनाशले वन्यजन्तुलाई मानिससँग बस्न बाध्य तुल्यायो र मौसम परिवर्तनले जनावरहरू पनि सर्न बाध्य पारेको छ: “यसले रोग जन्माएको छ र मानिसहरुलाई संक्रमित बनाइरहेको छ ।

नेपालको सन्दर्भ
सौभाग्य नै मान्नु पर्छ नेपालमा यो महामारीले अहिले सम्म कसैको ज्यान गएको छैन । तथापि यसको प्रभाब बढ्दै गएको छ लक् डाउन गर्दा समेत घटनाहरु सेलाएका छैनन् । खुला सिमाना भारत र तिब्बत हुँदै भित्रिने मान्छेहरुले त्यो संक्रमण कति दिन सम्म रोकिएला ? योरोप र अमेरिकाले आफ्ना जनतालाई पुर्याउन नसेको टेस्ट किट र क्रिटिकल बिरामीलाई राखिने भेन्टिलेटरको सुबिधा गरीब देशका हामीहरु सबैले पाउने कुरै भएन । आत्मा अनुसासन कायम गर्दै घरभित्र लक् डाउनमा बस्नु नै सबै भन्दा उत्तम उपाए हो यतिखेर । पुरै खाण्डब बन जलेर खरानी हुँदा लाक्षा गृहमा सल्केको आगोबाट बच्न पाण्डबहरुले गुप्त सुरुङ खनेका थियेरे र त्यहि दुलोमा मुसा जस्तै लुकेर बाचेका थिए रे दुर्योधनको जिउदै जलाउने षड्यन्त्रलाई चिर्दै । पुर्बिय संसारको गरिमामय सभ्यता र मान्यताको ठुलै चर्चाले यतिखेर हाम्रो सामाजिक संजाल भरिएका छन् कोरानाबाट बच्न । योग नित्य स्नान, शाकाहार, गाई र पशु पन्छी संगको सामिप्यता, गाई गोरु देखि कुकुर सम्मलाई पुजा गर्ने हाम्रो धार्मिक आस्था ।प्रकृति प्रेम तिनका जीवन्त उदाहरण हुन् ।

जुन दिन हामीले त्यो आफ्नो आत्मा अनुसासनको परिधिको लक्ष्मण रेखा नाग्ने छौं अनि हामीलाई समाउने छ कोरोना रुपी कलिले जसरि महाभारतको एउटा कथामा नल दमयन्तीको प्रसङ्ग आउछ – नल राजालाई कलिले प्रवेश गर्न युगौं कुर्नु पर्यो रे उनि धर्मभिरु ज्ञानी कर्मग्य थिए संधै आफ़्मो आचरणमा बस्ने । यस्ता धीर पुरुषलाई कलिले प्रवेश गर्ने कुनै छिद्र नपाउने हुँदो रहेछ । अपसोच जब एकदिन राजाले लघु सौच गरेर हात धुन बिर्सिए र कलिले प्रवेश पायो उनको जीवनमा र उनको बर्बादी त्यहि दिनबाट भयो र त्यहि सानो छिद्र नै उनको जीवनको सबै भन्दा दुर्भाग्यपूर्ण बन्यो । हामी सबै अनुसासन पालन गरेउ भने कुनै कलिरुपी कोरानाले हाम्रो जीवनलाई नर्क बनाउने छैन । यो समय आफ्ना गल्ति कमजोरीहरुलाई सुधार्ने बेला हो । प्रकृतिलाई पुजा गर्ने समय हो । बातावरण जैविक विभिधतालाई सम्मान गर्ने समय हो भोलिका हाम्रा सन्ततिहरुले अर्को कोरोना नाभोगुन भनेर।