कोरोनाको कहरमा एनआरएनए पोल्याण्डमा तमासा

शेरबहादुर परियार, युरोप

संसार अहिले कोरोना(कोभिड १९)को महामारीको कहालीलाग्दो अवस्थामा छ ।विश्वका विभिन्न देशमा रहेका एनआरएनए राष्ट्रिय समितिहरु आफ्नो सम्पूर्ण शक्ति सो देशमा रहेका नेपालीहरुलाई सम्भव भएका सहयोग गर्न लगाइरहेका छन् तर यस्तो संवेदनशील समयमा एनआरएनए पोल्याण्डमा आन्तरिक शक्ति संघर्षको तमासा देखिएको छ ।युवा संयोजक भीम परियारको निलम्बन संगै यो सतहमा देखिएको छ ।

एनआरएनए पोल्याण्ड अध्यक्ष नरेश सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा परियारलाई युवा संयोजकको पदबाट निलम्बन गरिएको उल्लेख छ। परियारलाई संस्थाको हितविपरीत लगातार लागेको, पदको दुरुपयोग गरेको,सिङ्गो कार्यसमितिको अपमान गरेको,संस्थामा कुनै छलफल नै नगरी अरु कसैको निर्देशन मा संस्थाको गरिमा गिराउने गतिविधि गरेको,अध्यक्षलाई पदबाट हटाउन हस्ताक्षर संकलनमा संलग्न भएको,अहिलेको कोरोना भाइरसको महामारीको समयमा कार्यसमितिमा कुनै छलफल नै नगरी पोल्याण्डमा रहेका नेपालीहरुको तथ्यांक संकलन जस्तो संवेदनशील र जटिल विषय झिकेर विवाद निम्ताएको लगायतका गम्भीर आरोपहरु लगाइएको छ।साथै विज्ञप्तिमा कार्यसमितिको बैठकले अनुशासन समिति निर्माण गर्ने र त्यसले बुझाएको प्रतिवेदनका आधारमा अन्तिम टुङ्गो लगाइने उल्लेख छ ।यता यो अनलाईन समाचार संग कुरा गर्दै निलम्बित भएका परियारलेभने”मलाई निलम्बित गरेको भनिएको प्रेस विज्ञप्ति संस्थाको नभएर अध्यक्ष नरेश सापकोटाको पत्र हो”।
अध्यक्षले महाधिवेशन बाट निर्वाचित युवा संयोजकलाई संस्थागत छलफल नै नगरी व्यक्तिगतरुपमा निलम्बन घोषणा गरेको हुँदा यो विधान विपरित छ।एनआरएनए पोल्याण्ड उनको व्यक्तिगत प्राइभेट कम्पनी होइन ।मलाई निलम्बन गरेको विषय एनआरएनए केन्द्रीय र क्षेत्रीय कमिटी युरोप मा समेत पुगिसकेको हुँदा उपयुक्त छिनोफानो हुने बताए।

के हो त विवादित चुरो?

एनआरएनए पोल्याण्डमा बारम्बार विवादका विषयहरु आउने क्रममा पछिल्लो श्रृङ्खलाको रुपमा यहाँ रहेका नेपालीहरुको तथ्यांक संकलनको विषय देखिएकोछ ।

एनआरएनए आइसिसी सदस्य डाक्टर बोधराज सुवेदीद्धारा उद्घाटन गरिएको भन्दै युवा संयोजक भीम परियारले ०६,अप्रिल देखि २०अप्रिल २०२० सम्मको समय सिमा तोकेर पोल्याण्डमा रहेका नेपालीहरुको व्यक्तिगत विवरण(तथ्यांक संकलन) अनलाइन मार्फत माग गरिएको थियो। त्यस्को दुई दिन पछाडि ०८ अप्रिलका दिन तथ्यांक संकलनको विषयमा संस्थाको गम्भीर ध्यानाकर्षण भएको र यो संस्थाले नगरेको र कसैले पनि आफ्नो व्यक्तिगत विवरण नदिन र यदि कसैको विवरण दुरुपयोग भएमा जिम्मेवार नहुने भन्दै एनआरएनए पोल्याण्डका अध्यक्ष नरेश सापकोटा र महासचिव कविन्द्र सुवेदीले विज्ञप्ति जारी गरेका थिए। उक्त विज्ञप्तिको सामाजिक सञ्जाल मार्फत युवा संयोजक परियारले युथ फोरमले सुरु गरेको तथ्यांक संकलन निरन्तर जारी रहने र आएको प्रेस विज्ञप्ति आधिकारिक नभएको यो केवल कागजको खोस्टा मात्र भएको र यसको खोजी भैरहेको कडा प्रतिक्रिया दिएका थिए जसको कारण यहाँ रहेका नेपाली समुदाय मा द्विविधा उत्पन्न भएको भन्दै तीव्र आक्रोश उत्पन्न भएको थियो ।

पछि १० अप्रिल मा संयोजक परियार ले प्रेस विज्ञप्ति जारी गर्दै एनआरएनए पोल्याण्डले तथ्यांक संकलन गर्न आवश्यक छैन भन्नु आम पोल्याण्डबासी नेपालीहरुको हित विपरीतको कार्य हो भन्दै तथ्यांक संकलन स्थगित गरेकाथिए।

यस विषयमा टेलिफोनमा प्रतिक्रिया दिदै एनआरएनए पोल्याण्डका संस्थापक अध्यक्ष तथा आइसिसी सदस्य डाक्टर बोधराज सुवेदीले आफुले युवा संयोजकले कोरोना को वर्तमान जटिल परिस्थितिमा यहाँ रहेका नेपालीहरुको अबस्थाको जानकारीका लागि तथ्यांक लिने भन्दा राम्रै हो भनेर स्विकार गरेको यद्यपि यसका वैधानिक र संस्थागत प्रक्रियाहरु पुरा हुनुपर्ने विषयमा आफ्नो सबैको जस्तै मत रहेको बताउँछन्।साथै सतह मा आएको विवाद सबैको प्रयासमा समाधान हुनु पर्ने र यो जटिल समयमा आएका यस्ता विवादले हामी सबैको क्षमता माथि नै प्रश्न उठ्न सक्ने तर्फ सबैले जिम्मेवार ढंगले सोच्न अनुरोध गर्दछन।
यता प्रवासी नेपाली एकता मञ्च,पोल्याण्डका अध्यक्ष टंक कट्वाल यो तथ्यांक संकलनको विषय कानुनी र जटिल विषय भएको कारणले गर्दा यसलाई हल्का रुपमा लिनु गलत हुने बताउँछन् । अहिले एनआरएनए,पोल्याण्ड मा भएको विवाद केवल तथ्यांक संकलनको मात्र नभएर एनआरएनए जस्तो साझा र छाता संस्थालाई जनसम्पर्क समिति को भातृसंगठन जस्तो बनाइनु र आफू भन्दा भिन्न बैचारिक आस्था राख्ने लाई त्यहाँ भित्र छिर्नै नदिनुको परिणाम हो भन्दै यसबाट सबैले पाठ सिकेर अघि बढ्नु पर्ने बताउँदै यो समयमा साझा संस्था हुनुको नाताले एनआरएनए ले यहाँ रहेका सम्पूर्ण क्रियाशील संघसंस्था संग हातेमालो गर्दै भोलि आउन सक्ने सम्भावित कठोर परिस्थिती संग जुध्नु पर्ने बताउँछन् । तर जनसम्पर्क समिति,पोल्याण्डका महासचिव नारायण चालिसे भने यो एनआरएनए को आन्तरिक विषय भएकोले जनसम्पर्क समितिको कुनै धारणा नदिने भन्ने संस्थाको निती नरहेको भन्दै प्रतिक्रिया दिनबाट पन्छिए ।
तर जनसम्पर्क समिती र एनआरएनए,पोल्याण्ड दुवैतिर महत्वपूर्ण भुमिका मा रहेका एक सदस्य भने नाम उल्लेख नगर्ने शर्तमा यो जनसम्पर्क समिति भित्रको आन्तरिक शक्ति संघर्षले निम्ताएको दुखद् परिणाम भएको बताउँछन् ।उनी अगाडि थप्छन् एनआरएनएको पाँचौं महाधिवेशन पछिको नेतृत्व आएपछि बनेको एनआरएनए सल्लाहकार समिति चयनमा आफु अनुकुल नभएको लगायतका कारण उत्पन्न भएको विवादले हालको नेतृत्वलाई विस्थापन गर्ने तह सम्मको पर्दा पछाडि बाट चलखेल भएको बताउँछन् ।पोल्याण्डमा संकुचित मानसिकता भएको एउटा समूह एनआरएनए लाई आफ्नो आदेश मान्ने कारिन्दा मात्र होस् जसलाई कठपुतली जस्तो नचाएर आफ्ना कुत्सित इच्छाहरु पुरा गर्न चाहन्छ तर अब त्यो सम्भव छैन ।अब एनआरएनए,पोल्याण्ड लाई यसको उद्देश्य अनुसारको साझा संस्थाको रुपमा निर्माण गर्नुको विकल्प छैन ।