अस्ट्रेलियाका प्रधानमन्त्रीको सुझाव : बिदेशी विद्यार्थी र पर्यटकलाई घर फर्कन

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले कोरोना भाइरसका कारण अत्यन्तै समस्या परेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा आगन्तुक भिसामा रहेकाले आफ्नै देश फर्कन सक्ने बताएका छन् ।
‘तपाईंहरु अहिलेको परिस्थितिमा अत्यन्तै समस्यामा छु जस्तो लाग्छ र आफूलाई सपोर्ट गर्न सक्नुहुन्न भने तपाईंहरु आफ्नो देश फर्कन सक्नुहुन्छ,’ शुक्रबार राजधानी क्यानबेरामा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मरिसनले भने । उनले विद्यार्थी भिसाका साथै अन्य विभिन्न भिसामा रहेका अर्को देशका नागरिकले आफ्नो देश फर्किएको खण्डमा आफूले चाहेको सहयोग पाउनसक्ने समेत बताए । उनले आफू अहिलेको अवस्थामा आफ्ना देशका नागरिक तथा स्थायी बासिन्दामा केन्द्रित रहेको बताउँदै ती भिसामा रहेका नागरिकलाई अनिवार्य रुपमा यहाँ बस्न नभनिएको समेत बताए ।

अन्तर्राष्ट्रिय विद्यार्थीलाई सहयोग गर्न सरकारले के गरिरहेको भन्ने प्रश्नको जवाफ दिने क्रममा उनले विद्यार्थी अध्ययनका क्रममा नै कम्तीमा एक वर्षसम्म आफू आर्थिक रुपले सबल भएको प्रमाण भएपछि मात्र आउन पाउने आधारभूत शर्त भएको बताए । प्रधानमन्त्री मरिसनले विद्यार्थीले यहाँ आउनुअघि गरेको प्रतिबद्धताअनुसारको अपेक्षा राख्नु गलत नभएको बताउँदै यसबारेमा अध्यागमन मन्त्रीले जवाफ दिनसक्ने बताए । यद्यपि उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका बारेमा केन्द्रीय सरकारले कस्तो योजना बनाइरहेको छ भन्ने बारेमा सम्बन्धित मन्त्रीले जानकारी दिने सुनाए ।

अस्ट्रेलियामा अहिले करिब ७ लाख अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ । उनीहरुले सरकारलाई आफूहरुका लागि समेत सरकारले सहायताका कार्यक्रमहरु ल्याउनुपर्ने माग गरिरहेका छन् । तर पनि हरेक दिनजसो हुने पत्रकार सम्मेलनमा उनीहरुको बारेमा सरकारी तवरबाट कुनै औपचारिक कार्यक्रमको घोषणा नभएपछि विद्यार्थीहरु निरास बनिरहेका छन् । विद्यार्थीले आफ्नो घरभाडालगायतका अन्य अत्यावश्यक कुरामा राहतका कार्यक्रम ल्याउनुपर्ने बताइरहेका छन् । जसका लागि दबाबस्वरुप हस्ताक्षर अभियानसमेत सञ्चालन गरिएको छ ।
अस्ट्रेलियामा अहिले करिब ५४ हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । जसमा पनि भर्खरै आएका विद्यार्थीहरुमा अत्यन्तै समस्या आएपछि दूतावास, एनआरएनलगायतका अन्य संस्थाहरुलाई गुहार्दै आएका छन् । एनआरएनले आवेदनका आधारमा कम्तीमा दुई साताका लागि खानाको व्यवस्था गरिरहेको बताए पनि पर्याप्त नभएको विद्यार्थीको गुनासो छ ।

अहिलेसम्म ६ सय ४० जनाले निवेदन दिएरै एनआरएनलाई सहयोग गरिदिन आग्रह गरिसकेको उपाध्यक्ष नवीन पन्तले बताए । दूतावासले यसअघि नै यहाँस्थित विदेश विभाग, गृह, शिक्षालगायतका मन्त्रालयमा औपचारिक रुपमा नेपाली विद्यार्थीको समस्याका बारेमा पत्राचार गरिसकेको जनाएको छ ।
यो समाचार हामीले AVENUES KHABAR बाट साभार गरेका हौ !