कोरोना भाइरस संक्रमित रोगीहरुको उपचारमा अमेरिकामा अहोरात्र खटेकी नेपाली नर्स भन्छिन् – हामी अस्पतालमा सुरक्षित काम गरिरहेका छौं (भिडियो सहित)

नेपाली मुलकी रजिष्टर्ड नर्स चन्द्रा खरेल आइतवार रातभर कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारमा व्यस्त रहिन् । उनी केन्टकी राज्यको लुइभेल डाउनटाउनमा रहको नर्टन अस्पतालमा कार्यरत छिन् । अस्पतालमा विरामीलाई सेवा दिंदा र अस्पतालवाट वाहिरिएपछि उनले सजगता अपनाइन् । अस्पतालवाट निस्किएपछि उनले आफुले लगाएका सवै कपडा खोलेर गाडीको डिक्कीमा राखिन् र सफा कपडा लगाएर घर आइ पुगिन् । घरमा आएर सधैझैं परिवारसंग हेलमेल भने गर्न सकिनन् ।

‘पूर्ण रुपमा सावधानी अपनाए पनि अहिले आफ्नै घरमा सेल्फ आइसोलेसनमा वस्न थालेकी छु’- इनेप्लिजसंग खरेलले भनिन् ।

अमेरिकामा अहिले थुप्रै नेपाली नर्सहरु कोरोना भाइरस संक्रमित विरामीहरुको उपचारमा सक्रिय रहेकाछन् । कोरोना संक्रमण फैलदै गएको अवस्थामा अमेरिकाका अस्पतालको अवस्था र नर्सहरुको मनोदशाको वारेमा केन्द्रित रहेर इनेप्लिजको फेसवुक लाइभमा उनी करिव ७ मिनेट प्रस्तुत भइन् र लाइभ सकिएपछि केही इनेप्लिजका प्रश्नहरुको जवाफ पनि दिइन् ।

‘कोरोना संक्रमितहरुको उपचारमा पहिलो दिन जानु अघि डरले पसिना पसिना भएकी थिए, तर मैले डरलाई कर्तव्यवोधले जित्नुपथ्र्यो’- खरेलले भनिन् – ‘स्वास्थकर्मीहरुनै डराउने हो भने कोरोना विरुद्धको लडाइ जित्न सकिदैन’ ।

कोरोना संक्रमित विरामीहरुको उपचारमा खटेका थुप्रै चिकित्सक र नर्सहरुले चीनमा ज्यान गुमाएको समाचार उनले पनि पढ्की थिइन्, त्यसैले सकेसम्म सावधानी अपनाइन् । अमेरिकाका अस्पतालहरुमा पनि यथेष्ट पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीइ) हरु नभएको समाचारहरु आइरहेकानै छन् । उनको अस्पतालको अवस्था कस्तो होला त ?

‘पक्कै पनि पहिलाको जस्तो प्रसस्त पीपीइहरु उपलव्ध छैनन्, यो कोरोना विरुद्धको लडाइ कति लड्नुपर्ने हो, कुनै अनुमान पनि छैन, त्यसैले हामीले मास्क, पञ्जा र अन्य सामग्रीहरु जोगाउनु पर्नेछ’- खरेलले स्वास्थ सामग्रीहरुको अभावको वारेमा भनिन्- ‘नर्स र नर्स एड दुइजना एउटै विरामीको सेवामा जांदा धेरै स्वास्थ सामग्री खर्च हुने हुंदा सवै सेवा नर्सले मात्रै दिनुपर्ने अवस्था आएको छ’ ।

कोरोना भाइरस संक्रमित विरामीहरुलाई सेवा दिंदा नआत्तिन समेत उनले अन्य नर्सहरुलाई आग्रह गरिन् ।

संक्रमितको उपचारमा खटिएकी नेपाली नर्स युके बाट संसारलाई अपिल गर्दै यसो भनिन

श्वासप्रश्वास सम्वद्ध रोगीहरुलाई एकोहोरो हावा दिने सीप्याप प्रविधि, दोहोरो हावा दिने वाइप्याप प्रविधि र वाष्पिकरण मार्फत औषधि दिने एरिसोल ट्रिटमेन्ट गर्दा वाहेक सामान्य सर्जिकल मास्क लगाएर विरामीको कोठामा गए पनि कोरोना भाइरस नसर्ने जानकारी दिंदै उनले श्वास प्रश्वासका विरामीहरुलाई नेगेटिभ प्रेसर रुममा राखिने त्यो कोठाको हावालाई अस्पतालमा फैलिन नदिने र तुरुन्तै प्रशोधन गरिने गरेको पनि जानकारी गराइन् ।

‘सीप्याप, वाइप्याप र एरिसोल ट्रिटमेन्ट गरिएका विरामीहरुको कोठामा भने एन ९५ मास्क र गाउन लगाएर जानु उचित हुन्छ किनकी भाइरस वाफमार्फत हावामा मिसिएका हुनसक्छन्’ – उनले अस्पतालको अवस्थाको वारेमा जानकारी गराइन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वास्थकर्मीहरुले मास्कलाई एकपटक लगाएर फाल्न नहुने वरु सेनिटाइज गरेर पुन लगाउनु पर्ने भनी दिएको अभिव्यक्ति त्यति व्यवहारिक नभएको उनले तर्क गरिन् ।

मास्कलाई सेनिटाइज गर्ने दुइवटा मात्रै प्रविधि हुन्छन्, – ‘खरेलले भनिन्- ‘सेनिटाइज गर्ने पहिलो प्रविधि भनेको स्टेरलाइज हो तर मास्कलाई स्टेरेलाइज गर्न संभव नै छैन किनकी स्टेरेलाइजका लागि वाष्पिकरण प्रक्रियामा लैजादा मास्कले थाम्दैन भने खर्च पनि वढी हुन्छ, अर्को प्रविधि भनेको व्लिचले सफा गर्ने हो तर व्लिचले सफा गरेको मास्कले मानिसको छालालाई छुनु खतरनाक मानिन्छ’ ।

उनले मास्कलाई जोगाउनका लागि व्यवहारिक रुपमा विरामीको शरिरवाट आउने छिटाहरु नपर्दा वा चिसो नहुंदासम्म लगाउन मिल्ने सुझाव पनि दिइन ।

‘अस्पतालले कोरोना विरुद्धको लडाइमा आआफ्ना नीतिहरु तय गरेका छन् र ती नीतिहरुवारेमा गम्भीर रुपमा छलफल गरेर कार्यान्वयनमा जानुपर्छ- उनले सवै स्वास्थकर्मीहरुलाई आह्वान गरिन् -‘हामी सवै एकजुट भएर मात्रै यो लडाइ जित्छौ, त्यसैले सकारात्मक सोचका साथ विरामीको सेवामा जुटौं ‘।

नर्स खरेलले अस्पतालमा रहेका विरामी र स्वास्थकर्मीहरु मात्रै होइन, घरमा परिवारसंग वसिरहेका व्यक्तिहरुले पनि सावधानी अपनाउनु पर्ने सुझाव दिइन ।

‘अस्पतालका वेडहरु दिनदिनै भरिदै गएका छन्, त्यसैले कसरी विरामी नहुने भन्ने वारेमा घरमा वस्नेहरुले पनि सावधान हुनुपर्छ’- खरेलले भनिन् – ‘घरमा एकदमै स्वस्थ र पौष्टिक खाना खाइदिनुहोस, व्यायाम गरिदिनुहोस् र सकेसम्म भिटामिन सी पाइने अतिरिक्त भीटामिन पनि खाइदिनुहोस्’ ।

कुराकानीको अन्तमा भनिन्- ‘हामी कोरोना भाइरसविरुद्ध अस्पतालमा लडिरहेका छौ, तपाइहरु घरमा वसेर पनि सहयोग गरिदिनुहोस’ ।