‘ओ कोरोना विन्ती छ…’ भन्दै आए डा. डीआर उपाध्याय (भिडियोसहित)

काठमाडौं, चैत १६ ।

कोरोना भाइरस (कोभिड-१९)ले यतिखेर विश्वलाई नै आतंकित बनाइरहेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले समेत कोरोना भाइरसलाई ‘महामारी’ घोषणा गरिसकेको अवस्था यसलाई कसरी रोकथाम तथा नियन्त्रण गर्ने भन्ने ध्यान विश्वको गएको छ । नेपालमा पनि यसको संक्रमणबाट अहिलेसम्म पाँचजना व्यक्ति संक्रमित देखिएका छन् भने नेपाल सरकाले ‘लकडाउन’ गरेको छ । कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीत सङ्गीतका स्रष्टाहरुले यस सम्बन्धि गीत स्रोता/दर्शकमाझ ल्याइरहेका छन् । यही मेसोमा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले ‘ओ कोरोना विन्ती छ, अब यो धर्तीबाट विदा लेउ…’ स्रोता/दर्शकमाझ पस्किएका छन् । राज सागरको स्वर र सङ्गीत रहेको लिरिकल भिडियो स्रोता/दर्शकमाझ आएको हो । दीप घतानीको मिक्सिङ/माष्टरिङ रहेको गीत भ्वाइस अफ नेपालमा रेकडिङ गरिएको हो ।


‘यो बेला सबैले आ-आफ्नो ठाउँबाट सचेतना जगाउने र यसको संक्रमणबाट बच्नका लागि जनचेतना जगाउने उद्देश्यले गीत सार्वजनिक गरिएको हो’, कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले भने ।

दश उपन्यास र सयौ गीतमार्फत पाठक, स्रोता तथा दर्शकको मन मष्तिस्कम बस्न सफल डा. डीआर उपाध्यायको केही समयअघि बाह्र भाषामा रहेको गीतको एल्बम ‘मायाको सागर’ सार्वजनिक भएको थियो ।

गीत लेखेर एक पछि अर्को कीर्तिमान कायम गरेका डा. डीआर उपाध्यायले वल्र्ड बुक्स अर्फ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वल्र्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सक्लुसिभ वल्र्ड रकेर्ड, जीनस वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रकेर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।

उनले नेपाली गीत-सङ्गीतका विविध विधामा गरेको नामको खातिर विश्वका विभिन्न मुलुकले उनलाई सम्मान गरेका हुन् । ‘हिरो २०१९’बाट समेत सम्मानित गीतकार डा. डीआर उपाध्यायलाई गीतकार सङ्घ, नेपालको नवौं वार्षिकोत्सव कार्यक्रममा ‘वर्ष गीत पुरस्कारबाट पुरस्कृत गरिएको थियो । नेपाल र नेपाल बाहिर हुने विभिन्न गीत-सङ्गीतका अवार्डमा पनि उनका गीतले प्रायःजसो सबै अवार्ड चुम्न सफल भएका छन् ।