भीरकोटमा क्लबले गर्यो सेनिटाइजर वितरण तथा सचेतना कार्यक्रम ।

भीरकोट, चैत्र १५, मन गुरुङ । आँधीखोला पिस युथ क्लब बयरघारीले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सेनिटाइजर, सावुन तथा मास्क वितरण सहित सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कोरोना भाइरस (COVID-19) बाट आफु पनि बाँचौं र अरुलाई पनि बचाऔं भन्ने नारा सहित शनिवार भिरकोट नगरपालिका वार्ड न. ८ को विभिन्न टोलमा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा वितरित सामाग्री ग्रहण गर्दै जनएकता युवा क्लबका अध्यक्ष धन बहादुर गुरुङ्गले सिंगो समाज प्रतिको सह्रानीय कार्य गरेकोमा क्लब प्रति आभार प्रकट गर्नु भयो । दुर्गम भेगमा रहेका न्युनवर्गिय परिवारलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कार्यक्रमलाई नगरपालिकाले विशेष सहयोग गरेको थियो ।

नेपाल तरुणदल भीरकोट एवं आँधीखोला पिस युथ क्लब बयरघारीका अध्यक्ष युवा समाजसेवी राज कुमार गुरुङ्गको संयोजकत्वमा आयोजित कार्यक्रममा क्लबका सचिव सुस्मिता गुरुङ्ग, भीरकोट जेसिज बर्ष २०२० का वरिष्ठ उपाध्यक्ष प्रसुन मगर, युवा व्यवसायी भुवन सिंह गुरुङ्ग र पतलादेवी यूवा क्लब पखेरेका उपाध्यक्ष मन प्रसाद गुरुङ्गले कार्यक्रममा सहजीकरण गरेका थिए ।

कार्यक्रम बीच बोल्दै संयोजक राज कुमार गुरुङ्गले विश्वभर महामारीको रुपमा फैली रहेको कोरोना भाइरस प्रति केहि सरकार पक्षका व्यक्तित्वहरु नै सजग नभएको प्रति दुख व्यक्त गर्नु भयो । पछिल्लो समय इटालीमा भैरहेको विषम परिस्थितिको स्मरण गर्दै भोलि नेपालमा पनि त्यस्तै रुप लियो भने हाम्रो के हाल होला? तसर्थ आजै बाट सबै सजग बनौं, -उहाँले भन्नु भयो । आज आयोजित उक्त कार्यक्रम बाट वार्ड नम्बर ८ मा रहेका १५ सय भन्दा बढि घरधुरी लाभ्वान्वित हुनेमा विश्वस्त रहेको उहाँले बताउनु भयो । उहाँ भीरकोट जेसिज बर्ष २०२० का कानुनी सल्लाहाकार एवं भीरकोट उद्योग बाणिज्य संघ बयरघारीका सदस्य समेत हुनुहुन्छ ।

यसअघि गत विहिबार क्लबले नगरपालिकाको कार्यालयलाई ७ लिटर सेनिटाइजर र १०० थान मास्क हस्तान्तरण गरेको थियो ।