लन्डनमा नेपाली महिलामा कोरोना भाईरस देखियो

स्कटनेपाल – बेलायतमा बस्दै आएकी नेपाली महिलामा कोरोना भेटिएको छ । लमजुङ घर भइ हाल बेलायतमा बस्दै आएकी भगवती रानाभाटमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो । उनी बेलायतमा समाजसेवीको रुपमा समेत परिचित छिन् ।

उनले आइतबार आफ्नो फेसबुक वालमा स्टाटस राख्दै आफूलाई कोरोनाको संक्रमण पुष्टि भएको सार्बजनिक गरेकी छिन् । उनले लेखेको मन छुने स्टाटस यस्तो छ ।

‘यो महामारी कति पीडादायक हुँदोरहेछ, आज १३ दिनसम्म पनि निको हुने छाँटकाट छैन । फेसबुकमा राख्ने सोच थिएन, कतै आफन्त अनि साथीभाईलाई थप भयावह बनाउला भन्ने लाग्यो, तर सोचें सबैले सावधानी अपनाउनुहुनेछ । सबैलाई विशेष सावधान रहन अनुरोध गर्दछु ।’

स्रोतको अनुसार उनि अहिले लन्डनको ह्यारोस्थित नर्थ्विक पार्क अस्पतालको क्रिटिकल केयर युनिटमा उपचाररत छिन् । यसअघि १० दिन उनी घरमै आइसोलेसनमा रहेको बताइएको छ ।

गत मार्च ८ तारिखका दिन उनी लन्डनको भेन्यू फाइभमा आयोजित अन्तर्रा्ष्ट्रिय नारी दिवस कार्यक्रममा सहभागी भएकी थिइन् । त्यसपछि बिरामी परेकी उनी घरमै आइसोलेसनमा रहेको भएपनि शुक्रबार भने अस्पताल नै भर्ना भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई संक्रमण भएपछि श्रीमान् सहित परिवारका अन्य सदस्यलाई आइसोलेसनमा राखिएको बताइएको छ ।