धेरै व्यक्तिले भन्छन् – नेपालीले धुलोधुंवा खाएका छन्

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा नेपालीहरुलाई कोरोना सम्बन्धित बिशेष जानकारी गराउदै आउनु भएको छ त्यस्तै फेरी पनि उहाले पटक पटक कसरी सावधानी प्रयोगमा लेउने र भर्ममा नजाने भनेर जानकारी गराउनु भएको छ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ लेख्नु हुन्छ : धेरै व्यक्तिले भन्छन् – नेपालीले धुलोधुंवा खाएका छन् , बिषादी मिलाएका खाना खाएका छन् , प्रदुषित पानी पिएका छन् … तसर्थ भाइरससंग लड्ने इम्युनिटी पावर धेरै छ |

यो सरासर गलत र उल्टो अभिव्यक्ति हो | धुलोधुंवा, प्रदुषण र बिषादीयुक्त खानाले गर्दा हामी नेपालीको इम्युनिटी पावर एकदम कम छ | प्राय सबै व्यक्तिलाई उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वासका रोगहरु, उच्च कोलेस्टेरोल , बाथ, पाचन प्रणालीका रोग, मनोरोग, क्यान्सर, किड्नीको समस्या लगायतका स्वास्थ्य समस्या ब्यापक छन् | इम्युनिटी पावर बढाउने त स्वच्छ हावापानी, शुद्ध खाना र आरोग्यताले हो |

नेपालमा कोरोना संक्रमण देखियो भने अकल्पनीय र भयाबह स्थिति आउन सक्छ | सरकारले लाखौँ किट ल्याएर ब्यापक परिक्षण गरोस, मान्छेको भीड हुने ठाउंहरु बन्द गरोस् | जति सकिन्छ, घरभित्र बस्ने वातावरण सिर्जना गरोस् |


होम क्वारेन्टाइन अर्थात एकान्तबासमा अनिबार्य बसौं

छिमेकी देश भारतदेखि विश्वका जुनसुकै ठाउँबाट आउनुभएका सम्पूर्ण व्यक्तिहरु ( स्वदेशी तथा बिदेशी ) २ हप्ताको लागि घरमै एकान्तबास बसौं | अहिले आफु स्वस्थ देखिएपनि कोरोना संक्रमण भएको हुनसक्छ |

एकान्तबास नबस्दा त्यो भाइरस पहिले आफ्नो परिवार, आफन्त, नजिकका मित्रहरु, टोलबासी लगायत नजिकका व्यक्तिलाई सर्दछ | कोरोना संक्रमण पराइभन्दा आफन्तबाट सर्दछ | यदि घरको कोठामा एकान्तबास गरेनौं भने आफ्नो परिवार, आफन्त, समाज र राष्ट्रलाई ठूलो पीडा दिएको ठहर्नेछ |
यस्तो गम्भीर बिषयमा खेलठट्टा नगरौं | जिम्मेवार बनौं | बाहिरबाट कोहि व्यक्ति आफ्नो टोलमा आएको छ भने टोलबासीले पनि अनुगमन गरौँ | एकान्तबास अपनाएको छैन भने उसलाई अनुरोध गरौँ | अनुरोध नटेरेमा नजिकको प्रहरी कार्यालयमा जानकारी प्रदान गरौँ |

एकान्तबास नअपनाउदा संसारभर कोरोना संक्रमणले आतंकित बनाएको तथ्य नबिर्सौं | कोरोना भाइरसको फैलाबट तीब्र भएकोले जुनसुकै बेला अकल्पनीय परिस्थिति आउन सक्छ | त्यसको लागि मानसिक तथा भौतिक रुपले तयार बनौं | ज्वरो, खोकी तथा सास फेर्न गाह्रो भए जो कोहि पनि एकान्तबासमा बसौं | सरकारले बाहिरबाट आउने हरेक व्यक्तिको विवरण सम्बन्धित वडा कार्यालय, वडा प्रहरी कार्यालय, टोल सुधार समिति, आमा समुह आदिलाई चेनमार्फत जानकारी प्रदान गरोस |