वाग्मतीमा ७ बर्ष : उत्तम पुडासैनी वाग्मती सुन्दरता सरोकार मन्च

२०७० फागुन ३ गतेबाट मुहानदेखि नै वाग्मती सफा गरौं भन्ने आग्रहका साथ प्रारम्भ भएको माथिल्लो भेगको वाग्मती सफाई अभियानको ३१४ हप्ताको अभियान संचालन हुँदैगर्दा आजैबाट ७ बर्षमा प्रबेश गरेको छ । पछिल्लो समय वाग्मती सफाई अभियानको नेतृत्व स्थानीय स्तरका बिद्यालयहरुले लिईरहेको बखत आज २०७६ फागुन ३ गतेको सफाई अभियानको नेतृत्व वाग्मती सुन्दरता सरोकार मन्चको आग्रहमा गोकर्णेश्वर स्थित लर्ड्स लाईट एकेडेमी स्कूलले गरेको थियो ।

अघिल्लो हप्ताबाट महाबिशवरात्री बिशेष वाग्मती सफाई अभियान हरेक दिन संचालन भैरहेको सन्दर्भमा शिबरात्रीको दिनमा पाशुपत क्षेत्रमा वाग्मती नदीको पानी नुहाउन योग्य बनाउने दृढ इच्छा सहित अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत बिकास समितिसंगको सहकार्यमा वाग्मती सुन्दरता सरोकार मन्चले दैनिक अभियान संचालन गरिरहँदा बितेका ६ दिनमा जया मल्टिपल कलेज, बाल संसार मा.बि., गोकर्णेश्वर लाईट एकेडेमी, आकाशदिप मा.बि., सेलिब्रेशन कोएड तथा लर्डस् लाईट एकेडेमी, अधिकार सम्पन्न वाग्मती सभ्यता एकिकृत बिकास समिति र वाग्मती सुन्दरता सरोकार मन्चका तर्फबाट ९ सय ब्यक्तिहरुले वाग्मती सफाईमा योगदान गरेका छन ।

वाग्मती सफाई अभियान ७ बर्षमा प्रबेश गर्दैगर्दा वाग्मती किनारमा बृक्षरोपण गर्दै हराभरा बनाउने, वाग्मती बाटिकाहरु निर्माण गर्ने तथा जनचेतना बिस्तारका लागि वाग्मती साहित्य कार्यक्रमको आयोजना गर्ने सम्पदा सफाई अभियानहरु संचालन गर्ने कार्यलाई निरन्तरता दिईएको छ । यस अवधिमा २ हजार भन्दा ज्यादा घरमा कम्पोष्ट बीन बितरण गर्दै घर घरबाट फोहोर ब्यवस्थापनका लागि योगदान गर्ने बातावरण सिर्जना भएको छ । ८ हजार भन्दा ज्यादा बिद्यार्थीहरुलाई फोहोर मैला ब्यवस्थापन सम्बन्धि तालिम प्रदान गरिएको छ भने समूदायमा झण्डै २५० भन्दा ज्यादा प्रशिक्षण कार्यक्रम मार्फत १२५०० भन्दा ज्यादालाई फोहोर ब्यवस्थापन र कौशी खेती सम्बन्धि प्रशिक्षण प्रदान गरिएको छ । बितेका ६ बर्षमा नदीबाट कति फोहोर संकलन गरियो भन्नुभन्दा पनि कति फोहोरलाई नदी किनारमै ब्यवस्थापन गरियो भन्ने बिषयलाई ज्यादा महत्व दिईएको छ । यस अवधिमा नदीबाट उत्सर्जित फोहोर मध्ये झण्डै ७० प्रतिशत कुहिने फोहोरलाई नदी किनारमा नै खाडल खनेर ब्यवस्थापन गरिएको थियो ।

३१४ हप्ताको सफाई अभियानका क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष रमेश अर्याल, अभियन्ता उत्तम पुडासैनी तथा नानीकाजी गिरी र बिद्यालयका सहायक प्रधानाध्यापक रुद्र कुँवरले वाग्मती अभियानको उतार चढावका बारेमा प्रकाश पार्नु भएके थियो ।

भवदीय
उत्तम पुडासैनी
अध्यक्ष
वाग्मती सुन्दरता सरोकार मन्च
९८५११७५७७७