”बिषालु कार्वनमोनोअक्साइड/ थाहै नपाई शान्तसॅंग मार्ने ग्यास “ मैले बुझेको

शशी के.सी,
अमेरिका आएको भर्खर भर्खर भएको बेला सबै कुरा नौलो नै लाग्थ्यो। हेरेर, सोधेर बिस्तारै सिक्दै गइयो। शुरूका दिनहरूमा घर, पसल, स्कुल, क्याम्पस, अस्पताल, ठुलाठुला घरको हिॅंडने बाटो, भर्याङ जताततै माथि भित्तामा टासेको गोलो सानो बत्ती जस्तो, बेलाबेलामा रातो पिलिक्क पिलिक्क बलि रहने देख्दा के होला जस्तो लाग्थ्यो। बुझ्दै जादा आगो लाग्न लाग्यो है भनेर संकेत / सावधान गर्ने मेशिन वा भनौं “फायर अलार्म” रहेछ। हुन पनि यो मेशिनले खाना पकाउॅंदा धुवा धेरै भएको बेला, कतै केही जलेको/ पोलेको जस्तो गन्ध आएको बेलामा ट्वार ट्वार कराएर पुर्व संकेत गर्छ पनि । अमेरिकन सरकारले नै पनि सबैतिर सबैले अनिवार्य नै राख्नै पर्ने, अझ सार्वजनिक संस्था, होटेल, व्यापारीक स्थलमा राखे/नराखेको बेलाबेलामा चेकजांच गर्न आउने गर्ने र नभएको खण्डमा धेरै जरिवाना तिराउने भएकोले सबैले राख्छन यो मेशिन।

यसरी फायर अलार्म मेशिनको त जानकारी पाएको थिॅंए रहदा बस्दा, छोरा त्योबेला सानै थियो र उसलाई केटाकेटी जाने प्रिस्कुलमा भर्ना गर्न लगेको ठाउॅंमा त माथि भित्तामा फायर अलार्म मेशिनको साथसाथै सबै कोठामा अर्को पनि मेशिन राखेको देखें। पहिलो पटक छोरालाई स्कुल राख्न लागेको सोधखोज त गर्नै पर्यो, सोधे केहो त्यो मेशिन भनेर, त्यो चाहीं “बिषालु कार्वनमोनोअक्साइड ग्यास नाप्ने मेशिन” रहेछ। केटाकेटी राख्ने स्कुलमा अनिवार्य नै राख्नै पर्ने रहेछ यो मेशिन। गज्जवै लाग्यो।

के रहेछ त यो “बिषालु कार्वन मोनोअक्साइड ग्यास ” खोजेर हेर्दा: अमेरिकामा प्राय: घरहरू जाडोमा बिजुलीले वा ग्यास प्रयोग गरेर चल्ने घरघरमा राखेको मेशिनबाट तताएको हुन्छ। बिजुलीबाट चल्ने मेशिनको त डर भएन तर ग्यासको प्रयोग गरेर पुरै घर तताउने मेशिन बिग्रेर पुरै तातो दिननसक्दा निक्लन सक्ने रहेछ यो बिषालु ग्यास त्यस्तै ग्याॅंसको हिटर राम्रो नबल्दा, तेलबाट बल्ने पानी तताउने मेशिन चलाउॅंदा, कोइला वा दाउरा “आगो बाल्ने ठाउॅंमा”बाल्दा राम्रोसॅंग नबलेर पनि निस्कने रहेछ। अनि अर्को जाडोमा,गाडीको पुरै झ्याल, ढोका बन्द गरेर खुल्ला हावा नआउने ठाउॅंमा वा घरको ग्यारेजमा चलाउॅंदा पनि निक्लन सक्ने रहेछ। साथै दुखको कुरा त यो ग्याॅंसको रंग,गन्ध र स्वाद केही पनि नहुने रहेछ। अनि कतै फैलिएको पत्ता लगाउन गार्हो हुने रहेछ। यसरी फैलिएको पत्तै नपाउने यस बिषालु ग्याॅंसलाई “थाहै नपाई शान्तसॅंग मार्ने” ग्याॅंस पनि भनिन्छ।

ओहो यस्तो डर लाग्दो ग्याॅंससम्म नाप्ने मेशिन राखेको साथै अरू सुविधा सबै देखेर छोरालाई ढुक्क भएर भर्ना गरें तेस प्रिस्कुलमा। यसरी सरकारी स्तरमा घरघरमा आगो लागेको संकेत दिने मेशिन, कार्वनमोनोअक्साइडको मात्रा नाप्ने मेशिन राख्नु, बेलाबेलामा चलेको/ नचलेको हेर्नु भन्दाभन्दै पनि बर्षमा केही अप्रिय घटना भइनै रहेको हुन्छ अमेरिकामा। एकपटक धेरै हिॅंउ परेकोबेला, बच्चालाई गाडी स्टार्ट गरेर तातो पारेर गाडी भित्र राखेर, आफु गाडीको बरीपरी सफा गरेर, ढोका खोलेर हेर्दा बच्चा निस्सासिएर मरेको खबर सुनिएको थियो, तेस्तै एकजना बुढीआमा घरको बेसमेन्टमा ग्याॅंस हिटर बालेर सुतेको सुत्यै मरेको सुनियो।

यो सबै त अमेरिकाको कुरा भए, अब कुरा गरौं नेपालको। केही महिना अगाडी छाउगोठमा आगो बालेर सुत्दा एक महिला निस्सासिएर मरेको भेटियो, काठमाडौंमा एक महिला बाथरूममा ग्याॅंसबाट चल्ने तातो पानी मेशिन चलाएर नुहाउॅंदा निस्सासिएर मरेको भेटियो, तेस्तै केही हप्ता अगाडी आठजना भारतिय पर्यटकहरूको दामनको एक रिसोर्टमा जाडो भयो भनेर ग्याॅंस हिटर बालेर ढोका बन्द गरेर सुतेको सुत्यै मरेको भेटियो, तेस्तै केहीदिन अगाडी जावलाखेलको “फिटनेस सेन्टरमा “एक दम्पतिको सावनाबाथ लिएर बाथरूममा तातो पानीमा नुहाउॅंदै गर्दा निस्सासिएर मरेको भेटियो। यसरी एकबर्षमा यती धेरै घटना भएपछि, यो “बिषालु कार्वनमोनोअक्साईड” को बारेमा नेपाली जनतालाई सरकारी स्तरमै कुनै कार्यक्रम गरेर वा टेलिभिजन, रेडियोतिर प्रचार गरेर जानकारी दिनु पर्ने आवस्यक देखियो अव त ।

अन्तमा, भन्छन नी हुने कुरालाई रोकेर रोक्न सकिन्न तर सावधान त गराउन सकिन्छ नी!!
इनेप्लिज डट कममा बाट