गोर्खाली मेयर राजन राज पन्तले बेलायत पुगेर गोर्खालीहरुलाई नै चिढ्याए, मान गर्न खोज्दा उल्टै अपमान भो।

रुद्र ढकाल , लण्डन। हाल बेलायत भ्रमणमा रहेका गोर्खाका मेयर राजन राज पन्तले बेलायत पुगेर अस्वाभाविक रुपमा सारा गोर्खालीहरुकै शीर झुक्ने गरी रुखो, लाचारी र ठाडो ब्यबहार प्रस्तुत गरेको समाचार छ। समाचारदाताहरुका अनुसार मेयर पन्तले बेलयतमा आफूले स्वीकारिसकेको पूर्ब निर्धारित कार्यक्रममा आफू जाँदै नगएर त्यहाँको नागरिक समाजमा सार्है लाजमर्दो र असभ्य हर्कत प्रस्तुत गरेको भनी अहिले बेलायत लगायत संसारभरका नेपालीहरु माझ उनको नराम्रोसंग निन्दा भईरहेको समाचार छ।

गोर्खामा नेपाली कांग्रेसको तर्फबाट बिजयी भएका मेयर पन्त सहित गोरखा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ र पत्रकार महासंघ गोरखा जिल्ला अध्यक्ष किशोरजंग थापाको टोली पारस्परिक सम्बन्ध स्थापनाकोलागि अहिले बेलायत भ्रमणमा रहेको छ।

गोर्खाली मेयर पन्तले यहाँ स्थित गोर्खाली समाज युकेको पहलमा हन्स्लोका मेयरको औपचारिक तथा शिष्टाचार भेटघाटको पूर्ब निर्धारित निम्तोलाई स्वीकार गरेर पछि त्यस समारोहलाई लत्याउँदै उक्त समयमा मनोरन्जनकोलागि अन्यत्रै गएको खबर छ।

नेपाली दूताबाश लण्डनको पहलमा रसमूर बरो काउन्सिल र गोरखा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापनकालागि बेलायत भ्रमणमा रहेका गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको सम्मानमा भर्खरै त्यहाँ एक बिशेष समारोहको आयोजना गरिएको थियो।

त्यस कार्यक्रमको लगत्तैपछि मेयर पन्त र उनको टोलीलाई लण्डन बरो अफ हंस्लोका समकक्षी मेयर तथा गोर्खाली अफिसरहरु माझ बृटिश नेपाली समुदायले एउटा भब्य समारोहका बीच औपचारिक रुपले सम्मान गर्ने कार्यक्रम तय गरेको थियो। तर उनले भने केही स्थानीय सल्लाहाकार व्यक्तिहरुको ईशारामा राजनैतिक पूर्बग्रह राख्दै त्यस कार्यक्रमलाई पूर्ब सूचना बिना नै एकाएक तिरष्कार गरिदिए।

उनले औपचारिक रुपले पूर्ब निर्धारित उच्च स्तरीय कार्यक्रममा अनुपस्थित भएर कार्यक्रम आयोजक र सारा नेपाली समुदायलाई नै फिक्का र लज्जित पारिदिएको समाचार छ। यो समाचार बृटेन नेपाल डट कमले निकै प्राथमिकताका साथ् आफ्नो न्यूज वेबसाईटमा प्रकाशित गरेको छ। शुरुको उक्त समाचारकोलागि यो लिंकमा जानुहोस्।

भूतपूर्ब गोर्खा अफिसरहरुको अगुवाई तथा गोर्खाली समाज युकेको औपचारिक पहलमा यही फेब्रुअरी ६ तारीखका दिन पन्तले लण्डन बरो अफ हन्स्लोका मेयरको निम्तोलाई स्वीकार गरी उक्त नगरपालिकाको विशिष्ट ‘मेयोरल पार्लर’ मा गत बिहीबार दिउँसो २ बजे शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएकोमा, बेलायत स्थित नेपाली काँग्रेस निकट स्थानीय कार्यकर्ताहरुको ईशारामा राजनीतिक पूर्बाग्रहका कारण पन्तले सो कार्यक्रममा नगई अन्यत्रै डोभर भन्ने पर्यटकीय स्थल मनोरन्जनकोलागि घुम्न गएको बताईएको छ।

लण्डन बरो अफ हन्स्लोका मेयर टोनी लौकीको कार्यालयले गोर्खाली समाज युकेका बर्तमान अध्यक्ष कृष्ण दर्लामी मगरलाई उदृत गर्दै पठाएको अंग्रेजी पत्रमा गोर्खाली मेयर पन्तलाई गत फेब्रुअरी ६ तारीख बिहीबारका दिन दिउँसो २ बजेको समयमा त्यस समारोहमा उपस्थित हुन आमन्त्रण गरिएको कुरा उल्लेख छ। हामीलाई प्राप्त उक्त पत्राचारको प्रति प्रमाण स्वरुप यहाँ समाबेश गरिएको छ।

त्यहाँ उपस्थित प्रत्यक्षदर्शीहरु तथा जानकार सूत्रहरुका अनुसार गोर्खाली मेयर पन्तले युके स्थित आफ्नो गोर्खाली समाज र उनीहरुको सम्मानलाई मात्रै लत्याएनन्, उनले स्थानीय लण्डन बरो अफ हन्स्लोका मेयरले गरेको उच्च आधिकारिक निम्तो र शिष्टाचार अनि मानको समेत घोर अपमान गरेको पाईयो। उनले नेपालमै झैँ समयको अर्थ र पदीय मर्यादालाई समेत भुलेको कुरा त्यहाँ उपस्थित नेपाली तथा बेलायती पत्रकारहरुले बताए।

कसरी गरे त मेयर पन्तले सारा नेपाली समुदायको र देशकै शीर झुक्ने काम?
उक्त भेटघाटको अवसर तथा बिशेष समारोहको आयोजना, गोर्खाका बारपाक सुलिकोटबाट आएर लन्डन बरो अफ हउन्स्लोमा उपमेयर समेत भई हाल त्यसै लण्डन बरो अफ हन्स्लोका बहालवाला काउन्सिलर भईरहेका बिष्णु बहादुर गुरुङ तथा गोर्खाली समाजका अध्यक्ष समेत रहेका अर्का गोर्खा अफिसर कृष्ण दर्लामीको बिशेष पहलमा गरिएको थियो।

उनलाई लण्डनको हन्स्लो नगर पालिकाको मेयर टोनी लुकीको कार्यकक्षमा नै बोलाएर औपचारिक किसिमले स्वागत तथा सम्मान गर्नकोलागि भब्य तयारीका साथ् लामो प्रतीक्षा गरिएको थियो। तर ‘मानको अपमान’ गर्दै आफ्नै स्वागतकालागि आयोजना गरिएको उक्त समारोहमा मेयर पन्त बिना कुनै याचना तथा बिना कुनै पूर्ब जानकारी एकाएक गायब भएका थिए।

पन्तको प्रतिक्षामा त्यस क्षेत्रकी सांसद (एमपी) रुथ क्याड्बरी, डेपुटी मेयर, काउन्सिलर बिष्णुबहादुर गुरुङ, स्थानीय सरकारका उच्च अधिकारी लगायत हन्स्लो वरपरका नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। तर गोर्खाली मेयर र उनको टिम नै त्यस कार्यक्रममा उपस्थित नै नभई दिंदा सहभागी नेपालीले साह्रै खल्लो र अपमानित महसूस गरिरहे।
त्यहाँ उपस्थित एक मिडियाकर्मीका अनुसार मेयर पन्तको उपस्थितिमा गोरखा नगरपालिकाको तर्फबाट हन्स्लो काउन्सिललाई नेपाली राष्ट्रिय झण्डा हस्तान्तरण गर्ने कार्यक्रम तय गरिएको थियो।

तर एकाएक “जसको बिहा, उसैलाई नजिक नल्या” भने जस्तो उक्त कार्यक्रम अकस्मात् दुलहा/दुलही गायब भएको बिहे जस्तो भईदियो। त्यसमा पनि बिशिष्ट अतिथिको रुपमा डाकिएका मेयर पन्त नै अस्वाभाविक र अशिष्ट रुपले अनुपस्थित भएपछि समारोहको माहोल निकै खिन्न र खल्लोमा परिणत भएको थियो। त्यति मात्रै नभई उनको अनुपस्थितिले देशकै ईज्जत र राष्ट्रिय झण्डा झुक्ने काम समेत भयो भन्ने गुनासो छ। त्यस स्थितिको परिणाम स्वरुप बिदेशीहरुको अगाडी आफूहरु निकै नै लज्जित भएको महसूस गर्दै मेयर पन्तको हातबाट थमाउन ठीक पारिएको उक्त नेपाली झण्डालाई नेपाली कम्युनिटी हन्स्लोका अध्यक्ष डोल मल्लले रातोपिरो र लज्जित मुद्रामा आफ्नो हातबाट लण्डन बरो अफ हन्स्लोका मेयर टोनी लौकीलाई हस्तान्तरण गरे।

बिरानो ठाउँमा पुगेका नेपाली मेयरले बेलायत रहँदा स्थानीय अरु नेपालीहरुको भर पर्नुपर्ने भएता पनि नेपालकै शैलीको लज्जास्पद गुटबन्दी र राजनैतिक पूर्वाग्रहका कारण अहिले अन्तराष्ट्रिय समुदायको अगाडी नेपालीहरुले अझै पनि समयको महत्व र पदीय मर्यादाको अर्थ बुझी सकेका रहेनछन् भन्ने आरोप बटुलेका छन्।

यसरी बिरानो ठाउँमा पुगेर पनि नेपालीहरुको पुरानै राजनैतिक पूर्बग्रह अनि हानाहान र तानातान प्रवृतिले गर्दा बेलायत पुगेर पनि गोर्खाली मेयरले गोर्खाहरुलाई नै चिढ्याएकोमा बेलायती समुदायका मानिसहरु भने रमिते बनेर तमासा हेरिरहेको खबर छ।

यस बिषयमा सम्बन्धित अरु समाचार लिंकहरु:
“बेलायतमा हरेक दिन पुर्व निर्धारित गोर्खाली सँगको कार्यक्रममा, गोरखाका मेयर” भन्ने शिर्षकमा दरौंदी अन लाईनमा छाप्छ: https://bit.ly/2UCP1QY
“गोरखाका मेयरले लन्डनमा गरे देशकै बेइज्जत” भन्ने शिर्षकमा नेपाल बृटेन डट कम छाप्छ: https://bit.ly/2vhwwXS

यस समाचारलाई ई-सिधाकुरा अन्लाईन न्यूजले “बेलायत पुगेका गोरखा नगरपालिकाका मेयर पन्त हराए” भन्ने शिर्षकमा छापेको छ। सम्पन्धित समाचारकोलागि यो लिंकमा जानुहोस्: https://bit.ly/2viSpG0