हिलसाइडको वक्तृत्वकलामा केफका आयुष पहिलो

पोखरा । पोखराको मालेपाटनस्थित हिलसाइड इङ्लिस स्कुलले आफ्नो रजत जयन्तीका सन्दर्भमा शनिबार आयोजना गरेको कास्की जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा करुणानिधि एजुकेशन फाउन्डेशन (केफ), सिम्पानीका आयुष अधिकारी पहिलो भएका छन् ।

‘नेपालमा प्राविधिक शिक्षा र यसका चुनौतीहरु’ विषयक प्रतियोगितामा ११ विद्यालयका १८ जना प्रतियोगी सहभागी थिए । प्रतियोगितामा ज्ञान सरोवर बोर्डिङ स्कुल, हेमजाकी सरिस्मा बाँस्तोला, मदरल्याण्ड माविकी कृतिका थापा व्रmमशः दोस्रो र तेस्रो भए भने केफकै जागृति अधिकारी र धर्मस्थली आधारभूत विद्यालयकी रन्जू दाहाल सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । प्रतियोगितामा उद्घोषण तथा भाषण कलाका प्रशिक्षक, गजलकार अनुराग अधिकारी, साहित्यकार तथा सञ्चारकर्मी रुपिन्द्र प्रभावी र उत्प्रेरणा प्रशिक्षक भक्तराज रसाइली निर्णायक रहेका थिए ।

अतिरिक्त क्रियाकलाप विभागका प्रमुख मिनप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि आदर्श समाज राष्ट्रिय दैनिकका प्रधान सम्पादक कृष्णप्रसाद बाँस्तोलाले बोली–बोली मात्र नभई कलासँग सम्बन्धित रहेको धारणा राखे । हरेक क्षेत्र र विधामा सफलताका लागि बोलीको प्रभावकारिता आवश्यक पर्ने भन्दै स्वतन्त्र पत्रकार सङ्घका संस्थापक अध्यक्षसमेत रहेका बाँस्तोलाले यस्ता प्रतियोगिताले जीवनमा सफल हुन प्रेरणा दिने बताए ।

संयोजक विष्णु हमालको सञ्चालनमा भएको कार्यक्रममा निर्देशक लीलाप्रसाद पराजुलीले स्वागत गरेका थिए । विद्यालयले आगामी फागुन २ गते हुने रजत जयन्तीका अवसरमा विजेता विद्यार्थीहरुलाई नगदसहितको पुरस्कार वितरण गर्ने प्रिन्सिपल सन्तोष लामिछानेले जानकारी दिए ।