लैङ्गिक अल्पसङ्ख्यक सबै तेस्रोलिंगी हैन, यो भ्रम हटाउन अत्यावश्यक

सन् २००१ देखिको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको आन्दोलन र मिडियामा यस विषयको चर्चासँगै धेरैजना व्यक्तिहरूलाई यो शब्द नौलो त होइन । तर यस विषयमा थुप्रै मिडीया कभरेजा हुँदा हुँदै पनि सामाजिक चेतना भने न्यून नै छ । लैङ्गिक तथा यौनिक अल्पङ्ख्यक बारे अत्याधिक सुनिएको शब्द भने तेस्रोलिंगी नै हुनुपर्छ र यसपछी हो समलिंगी । तर वास्तवमा यी शब्दको अर्थ के हो र यस जनसंख्या बारे तथ्य कुरा थहा हुने व्यक्तिहरू अत्यन्तै कम छन् ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू सम्बन्धी अङ्ग्रेजी भाषामा प्रशस्तै अध्ययन सामाग्रीहरू भएतापनी नेपालीमा भने न्यून नै छ । यस कारण पनि लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक बारे अध्ययन गर्ने चुनौतीहरू छन् । क्वयेर तथा महिलावादी शब्दकोष (Queer and Feminist Dictionary) 978-9937-0-6935-9 अनुसार लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक भन्नाले “स्त्रीलिङ्गी वा पुलिङ्गी परिभाषामा अटाउन सक्ने शारीरिक विविधता भन्दा परका शारीरिक विविधता भएका व्यक्तिहरू, जैविक लिङ्ग पुलिङ्गी र लैङ्गिक पहिचान पुरुष एवं जैविक लिङ्ग स्त्रीलिङ्गी र लैङ्गिक पहिचान महिला भन्दा परका लैङ्गिक विविधताहरू तथा पुरुष र महिला बीचको यौन र प्रणयात्मक आकर्षण भन्दा परका अनुभवहरूलाई समेट्ने व्यापक शब्द” भनी उल्लेख गरिएको छ । यो परिभाषा झट्ट सुन्दा जटिल लागे पनि यसको विखण्डन यस लेखले गर्दछ ।

जैविक लिङ्ग भनेर हाम्रो दुई खुट्टाको बीचमा रहेको अङ्ग अथवा हाम्रो यौन अङ्गलाई जनाउन खोजिएको हो । हाम्रो दुईवटा खुट्टा बीच रहेको त्यही अङ्गबाट हामी पिसाब फेर्छौँ । त्यही अङ्गबाट हामी यौन सम्पर्क गर्छौँ । यही अङ्गलाई आधार मानेर छुटिने हाम्रो जैविक लिङ्ग हो । कतिपय मानिसहरूको यौन अङ्ग भनेर शिश्न र अण्डकोष हुन्छ । त्यस अण्डकोष भित्र शुक्रकीट उत्पादन हुन्छ । यसलाई हामी ‘पुलिङ्गी’ भनेर भन्छौँ । त्यसै गरी अर्को थरी मानिसहरूको यौन अङ्ग भनेर योनी र पाठेघर हुन्छ । त्यस पाठेघरमा डिम्ब उत्पादन हुन्छ । यसलाई हामी ‘स्त्रीलिङ्गी’ भनेर भन्छौँ । हाम्रो समाजमा हामीले यसै गरी बुझ्दै आएका छौँ ।

यसरी पुलिङ्गी वा स्त्रीलिङ्गी अन्तर्गतको परिभाषामा न-अटाउने विभिन्न थरीका यौन विशेषता तथा अङ्गहरू भएका मानिसहरूलाई ‘अन्तर्लिङ्गी’ वा अङ्ग्रेजीमा ‘Intersex’ भनेर चिनिन्छ । पुलिङ्गी वा स्त्रीलिङ्गी दुईवटा परिभाषामा सम्मेलित नहुने विविध प्रकारका शारीरिक तथा यौन विशेषता भएका व्यक्तिहरूलाई एकमुष्ठ रूपमा ‘अन्तर्लिङ्गी’ शब्दले सम्बोधन गरिन्छ । अन्तर्लिङ्गी शब्द अन्तर्गत पनि आफ्नै विविधता छ । जस्तै कुनै मानिसको बाहिरी अङ्ग शिश्न र अण्डकोष छ, भित्री अङ्गमा पाठेघर छ भने ऊ अन्तर्लिङ्गी छाता अन्तर्गत पर्छ । त्यसै गरी कुनै मानिसको बाहिरी अङ्ग योनी छ र योनी द्वार भित्र अण्डकोष रहेको छ भने ऊ अन्तर्लिङ्गी छाता अन्तर्गत पर्छ । कुनै व्यक्तिको दुई खुट्टा बीचमा नै योनी र शिश्न दुबै हुन सक्छ, ऊ पनि अन्तर्लिङ्गी छाता अन्तर्गत पर्छ । यो त केही उदाहरण मात्र हुन् । हाल सम्म ४० वटा भन्दा बढी अन्तर्लिङ्गी विविधताहरू पत्ता लगाइएको छ । विज्ञहरूका अनुसार विश्वमा ०.०५ % देखि १.७ % जनसंख्या अन्तर्लिङ्गी व्यक्तिहरू हुन् ।

जैविक लिङ्गको आधार यौनाङ्ग भएजस्तै लैङ्गिक पहिचानको आधार व्यक्तिको अन्तर-अनुभूती तथा भावना र अभिव्यक्ति हो । पुरुषत्व र नारीत्व बीच रहेको भिन्नतालाई लैङ्गिकता (Gender) भनिन्छ । हाम्रो समाजले जैविक लिङ्ग र लैङ्गिक पहिचानलाई गडबड र एउटै हो भन्ने रूपमा हेर्दछ । अधिकांश २० औँ शताब्दी सम्म पनि यस्तै हिसाबले हेर्ने गरिन्थ्यो । तर जैविक लिङ्ग र लैङ्गिक पहिचान फरक हुन् भनी वैज्ञानिक मान्यताको निस्कर्ष रहेको छ । कोही व्यक्तिको शिश्न हुँदैमा उसको अभिव्यक्ति यस्तै हुन्छ वा कोही व्यक्तिको योनी हुँदैमा उसको अभिव्यक्ति यस्तै हुन्छ भन्ने आवश्यक छैन । लैङ्गिक पहिचानलाई अझै बुझ्नु पर्दा कुनै व्यक्तिको भित्री मनबाट आफू महिला रहेको, पुरुष रहेको, दुबै रहेको वा कुनै पनि नरहेको भनी गरिने अनुभवलाई जनाइन्छ ।

कुनै व्यक्ति लिंग लिएर जन्मन्छ र उसले आफ्नो अन्तरात्माबाट आफू पुरुष रहेको अनुभव गर्छ, एवं कुनै व्यक्ति योनी लिएर जन्मन्छ र उसले आफ्नो अन्तरात्माबाट आफू महिला रहेको अनुभव गर्छ, यही दुई किसिमका लैङ्गिक पहिचानहरूलाई समाजले अपनाएको वा स्वीकारिएको छ । हाम्रो समाजको बुझाइमा यो पुरुष र महिला हो । समाजले यही प्रकारको लैङ्गिक अनुभवलाई मात्र ‘सामान्य’ भनेर इङ्गित गरिदिएको छ । यस लैङ्गिक अनुभवलाई एउटै शब्दले जनाउन परेमा ‘त्याचलिङ्गी’ वा अङ्ग्रेजीमा Cisgender भनिन्छ । आफ्नो जैविक लिङ्गसँग मेल खाने लैङ्गिकता भएका व्यक्तिहरूलाई त्याचलिङ्गी भनिन्छ । यही हाम्रो समाजले जुन लैङ्गिक अनुभवलाई मात्र ‘सामान्य’ भनेर मान्दछ, त्यसैलाई नै ‘त्याचलिङ्गी’ भनेर नाम दिइएको हो । ‘त्याचलिङ्गी’ वा Cisgender नयाँ लैङ्गिकता होइन, हाम्रो समाजले “यो मात्र सामान्य हो है” भनेको लैङ्गिकतालाई गरिदिएको एउटा नामांकन मात्र हो । लिंग लिएर जन्मेका व्यक्ति केटा वा पुरुष र योनी लिएर जन्मेका व्यक्ति केटी वा महिला ।

समाजले इङ्गित गरिदिएको वा स्वीकारिएको भन्दा पर पनि विभिन्न लैङ्गिक पहिचानहरू छन् । महिला र पुरुषकै पहिचान अन्तर्गत पर्ने ‘पारलिङ्गी’ वा अङ्ग्रेजीमा Transgender हो । पारलिङ्गी व्यक्तिहरूको जैविक लिङ्ग र लैङ्गिक पहिचान मेल खाँदैन । अथवा कुनै व्यक्ति जसको जैविक लिङ्ग पुलिङ्गी हो र उसको अन्तरात्माबाट उसले आफूलाई महिला भएको अनुभव गर्छ र सोही अनुसार आफ्नो हाउभाउ, अभिव्यक्ति र प्रस्तुतीकरण हुन्छ, नीजलाई पारलिङ्गी महिला अथवा अङ्ग्रेजीमा Transgender woman भनिन्छ । त्यसै गरी कुनै व्यक्ति जसको जैविक लिङ्ग स्त्रीलिङ्गी हो र उसको अन्तरात्माबाट उसले आफूलाई पुरुष भएको अनुभव गर्छ र सोही अनुसार आफ्नो हाउभाउ, अभिव्यक्ति र प्रस्तुतीकरण हुन्छ, नीजलाई पारलिङ्गी पुरुष अथवा अङ्ग्रेजीमा Transgender man भनिन्छ ।

हाम्रो समाजमा कुनै बच्चा जन्मन बित्तिकै उसको लिंग छ भने उसलाई केटा वा योनी छ भने केटी भनी निर्धारण गरिदिन्छ । हुर्कने बढ्ने क्रममा पारलिङ्गी व्यक्तिहरूलाई समाजले भनिदिएको वा इङ्गित गरिदिएको भन्दा विपरीत आफ्नो अन्तरात्माको अनुभूती हुँदछ । पारलिङ्गी हुनु कुनै रोग वा असामान्यता होइन । पहिले पहिले त्यसो भनी अवहेलना गरिन्थ्यो भने अहिले वैज्ञानिक प्रमाणहरूले त्यसो होइन भनी भनीसक्यो । परलिङ्गी हुनु प्रकृतिकै विविधता हो र सामान्य नै हो । यो अहिले मात्र उत्पत्ति भएको विशेषता पनि होइन । पारलिङ्गी व्यक्तिहरूको बारेमा इतिहासमा विभिन्न अभिलेखिकरणहरू छन् । हाम्रो समाजमा अल्पज्ञान हुनाले अवहेलना हुने डरबाट धेरै व्यक्तिहरूले खुलेर यस बारेमा बोल्न सक्दैनथे । अब सामाजिक परिस्थिति बदलिँदो छ । मानिस भएपछि समान व्यवहार गरिनुपर्छ भनेर आवाज उठाउँदै खुलेर आएका छन् ।

पारलिङ्गी व्यक्तिहरू आफूलाई कि त महिला कि त पुरुष नै भनेर पहिचान गर्छन् र यो नीजको भित्रि मनको अनुभवको आधारमा नीजले पहिचान गर्दछन् ।

महिला र पुरुष अन्तर्गत पहिचान नगर्ने व्यक्तिहरूलाई एकमुष्ठ रूपमा गैर-द्वयसांखिक अथवा अङ्ग्रेजीमा Non-binary भनेर भनिन्छ । यस अन्तर्गत विभिन्न लैङ्गिक पहिचानहरू पर्दछन् । कोही व्यक्तिहरूको लैङ्गिकता तरल हुन्छ, अर्थात् पुरुषत्व र नारीत्व बीच तरलता हुन्छ, जसलाई द्रवलिङ्गी (Gender fluid) भनिन्छ । त्यसै गरी पुरुषत्व र नारीत्वको मिश्रित अभिव्यक्ति भएका व्यक्तिहरूलाई मिश्रितलिङ्गी (Androgyne) भनिन्छ । आफूलाई महिला र पुरुष दुबै हुँ भनी पहिचान गर्ने व्यक्तिहरूलाई दुईलिङ्गी (Bigender) भनिन्छ । यसरी गैर-द्वयसांखिक लैङ्गिक पहिचानहरूको पनि विविधता छ ।

गैर-द्वयसांखिक व्यक्ति हुनु जैविक लिङ्ग होइन, यसमा नीजको यौनाङ्गसँग सम्बन्ध छैन । गैर-द्वयसांखिक व्यक्तिहरू जुनसुकै जैविक लिङ्गका हुन सक्छन् ।

त्यसै गरी अन्तर्लिङ्गी व्यक्तिहरूको पनि लैङ्गिक पहिचान हुन्छ । किनभने अन्तर्लिङ्गी हुनु एउटा जैविक लिङ्ग हो । जसरी कुनै पुलिङ्गी व्यक्ति आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनेर पहिचान गर्न सक्छ र कुनै स्त्रीलिङ्गी व्यक्ति आफूलाई पुरुष, महिला वा गैर-द्वयसांखिक भनेर पहिचान गर्न सक्छ, त्यसै गरी अन्तर्लिङ्गी व्यक्तिहरू पनि आफूलाई पुरुष ( अन्तर्लिङ्गी पुरुष / Intersex man ), महिला ( अन्तर्लिङ्गी महिला / Intersex woman ) वा गैर-द्वयसांखिक ( अन्तर्लिङ्गी गैर-द्वयसांखिक / Intersex non-binary ) भनेर पहिचान गर्न सक्छन् ।

दक्षिण एसियाको समाजहरूमा भने ‘तेस्रोलिङ्गी’ अथवा अङ्ग्रेजीमा Third Gender को पनि मान्यता छ । यसलाई हिन्दु धर्मको दर्शनसँग पनि जोड्ने गरिन्छ भने इश्लामी समाजमा पनि पाउन सकिन्छ । यो भने अलिकति सांस्कृतिक पक्षमा आफूलाई महिला पनि होइन पुरुष पनि होइन भनी पहिचान गर्ने व्यक्तिहरू हुन् । तेस्रोलिङ्गी पहिचान पारलिङ्गी र गैर-द्वयसांखिक भन्दा फरक हो । पारिभाषिक रूपमा हेर्ने हो भने तेस्रोलिङ्गी व्यक्तिहरूलाई पनि ‘गैर-द्वयसांखिक’ अन्तर्गत राख्न सकिन्छ, तर अधिकांश तेस्रोलिङ्गी व्यक्तिहरू आफूलाई छुट्टै वा भिन्न रहेको र यसरी आधुनिक शब्दभण्डार प्रयोग गरी पहिचान गर्न नचाहेको देखिन्छ । दक्षिण एसियामा तेस्रोलिङ्गी व्यक्तिहरूको छुट्टै समाजहरू पनि छ र ती समाजहरूको छुट्टै रहनसहन र संस्कार पनि हुन्छ । हिजडा, किन्नर, मंगलामुखी, पावैया, मौगियाह, ख्वाजासिरा, इत्यादी केही तेस्रोलिङ्गी समुदायका उदाहरणहरू हुन् ।

हाम्रो समाजमा जैविक लिङ्ग र लैङ्गिक पहिचान एउटै हो भनी अन्योल गरी हेरिने हुनाले, यी दुई फरक हुन् र यसमा पनि विविधता छ भनी बुझ्नु अझै समय लाग्न सक्छ । यस बारे अझै अध्ययन अध्यापन गर्दै गयौँ भने थप बुझ्दै जान्छ ।

यौन अभिमुखिकरणलाई अङ्ग्रेजी भाषामा Sexual orientation भनिन्छ । हामी कुन लैङ्गिकता तर्फ यौन रूपले आकर्षित हुन्छौँ भन्ने विषय हाम्रो यौन अभिमुखिकरण हो ।

हाम्रो समाजको बुझाइमा महिलालाई पुरुष मनपर्छ र पुरुषलाई महिला । यसरी आफू भन्दा फरक लैङ्गिक पहिचान भएको मानिस तर्फ आकर्षित हुनुलाई विषमयौनिकता (Heterosexuality) भनिन्छ । महिला र पुरुष भन्दा पारलिङ्गी महिला तथा पुरुष पनि समावेशित हुँदछ । यसै गरी उस्तै लैङ्गिक पहिचान भएको मानिस तर्फ आकर्षण हुनुलाई समयौनिकता (Homosexuality) भनिन्छ । अङ्ग्रेजी भाषामा भने समयौनिक पुरुषहरूलाई Gay र समयौनिक महिलाहरूलाई Lesbian पनि भनिन्छ । कतिपय मानिसहरूले समलिंगी भन्ने शब्द सुन्नु भएको होला । तर सन् २०१७ मै समलिंगी शब्द प्रयोग नगर्ने यसको सट्टा ‘समयौनिक’ शब्द प्रयोग गर्ने भन्ने घोषणा भइसकेको थियो । “समलिंगी” शब्दको प्रयोग गर्दा मानिसहरूले यसलाई अर्कै छुट्टै लिङ्गको रूपमा हेरे । तर यो शब्दले खासमा अर्कै लिङ्ग होइन, एउटै लिङ्ग भएको मानिस मनपराउने व्यक्तिलाई जनाउन खोजेको हो । यो भ्रम अत्याधिक फैलिएको र समलिंगी शब्द आफैमा शाब्दिक अर्थ त्रुटी भएको हुनाले यस शब्दलाई ‘समयौनिक’ शब्दले प्रतिस्थापन गर्ने अभियानकर्ताहरूको घोषणा भएको थियो ।

त्यसै गरी महिला र पुरुष दुई प्रति नै आकर्षण अनुभव हुनुलाई द्वयौनिकता (Bisexuality) भनिन्छ । त्यसै गरी सबै लैङ्गिक पहिचान भएका व्यक्तिहरू प्रति आकर्षण हुनु वा प्रणयात्मक तथा यौन आकर्षण अनुभव हुन कसैको लैङ्गिक पहिचान बाधा नहुनुलाई सर्वयौनिकता (Pansexuality) भनिन्छ । कुनै प्रकारको यौन आकर्षण अनुभव नहुनुलाई अयौनिकता (Asexuality) भनिन्छ ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अन्तर्गत अन्तर्लिङ्गी, पारलिङ्गी, गैर-द्वयसांखिक, तेस्रोलिङ्गी व्यक्तिहरू ‘लैङ्गिक अल्पसङ्ख्यक’ हुन् भने समयौनिक, द्वयौनिक, अयौनिक, सर्वयौनिक व्यक्तिहरू ‘यौनिक अल्पसङ्ख्यक’ हुन् ।