अमेरिकामा नेपालकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठलाई २ वटा रजत पदक ,कूल ४ वटा पदक

विजय थापा ,डिसी । नेपाल काठमाडौँ सोह्रखुट्टे घर भएकी किशोरी टेनिस खेलाडी शर्भानी श्रेष्ठलाई अमेरिकामा ४ वटा पदक प्राप्त भएको छ । १४ बर्ष मुनिको प्रतियोगितामा श्रेष्ठले अमेरिकाको फ्लोरिडा राज्यमा संचालन भएको अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा चार वटा पदक जित्न सफल भएकी छिन् ।

लिटल मो इन्टरनेसनल टेनिस नामक प्रतियोगिताको लागि उनि टेनिस खेल्न नेपालबाट अमेरिका आएकी हुन् । सन् १९५० मा ४ वटा एकल ग्रान्ड स्लाम (प्रसिद्ध खेल ) जित्ने पहिलो अमेरिकन खेलाडी मौरिन क्याथरिन कोनोल्ली ब्रिङ्कर जसलाई लिटल मो भनेर चिनिन्थ्यो उनैको नाममा स्थापित लिटल मो इन्टरनेसनलले आयोजना गरेको कार्यक्रम खेल्न शर्भानी अमेरिकाको फ्लोरिडा आएकी हुन् ।

१३ औ बार्षिक लिटल मो इन्टरनेसनल टेनिस प्रतियोगिता फ्लोरिडाको पाम बीच उद्यानमा खेल सम्पन्न भएको छ भने गत डिसेम्बर ६ देखि ११ सम्म प्रतियोगिता संचालन भएको थियो ।

शर्भानीले आफ्ना उमेरका अन्तर्राष्ट्रिय किशोर/किशोरीहरुसंग प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छिन् । उनलाई आयोजकले मुक्त कण्ठले प्रशंसा गर्दै पहिलो पटक नेपालबाट टेनिस खेल्न आएकोमा हर्ष व्यक्त गर्दै बधाई दिएका छन् ।

शर्भानीले १४ बर्ष मुनिका गर्ल्स डबल (जोडी)मा फाईनल र मिक्स्ड डबल(मिश्रित जोडी )खेलमा दोश्रो स्थान (रजत पदक ) हासिल गर्न सफल भएकी छिन् । यसै गरि १४ बर्ष मुनिको एकल टेनिस प्रतियोगितामा उनलाई चोथौ स्थान हासिल भएको छ ।

उक्त प्रतियोगितामा अन्तर्राष्ट्रियबाट आएका करिव ५ सय जना मध्ये उनको उत्कृष्ट खेललाई उच्च सम्मान गर्दै उनलाई समग्र खेलको लागि उच्च प्रतिष्ठित पुरस्कार कृपा (काईण्डनेस ) पुरस्कार प्रदान गरिएको छ ।

यसरी यो लगायत ४ वटा पदक जित्ने शर्भानी पहिलो टेनिस खेल्ने नेपाली किशोरी भएकी छिन् । उनकी आमा योगिता प्रधान श्रेष्ठका अनुसार शर्भानीले १० बर्षको उमेर देखि नै टेनिस खेल्न सुरु गरेको बताइन । १४ बर्ष मुनिको उमेरको खेलाडीमा नेपाल भित्र आयोजना हुने खेलमा सक्रिय रुपमा सहभागी हुने गर्छिन भने शर्भानीले नेपालमा भएको बिभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् ।

उनलाई यस खेलमा तालिम दिलाउन शर्भानीका मातापिता अन्य देशमा उनलाई लाने गर्छन । चीन ,भारत लगायत यस पटक अमेरीकामा टेनिस खेल्न अमेरिका मातापिताको साथमा फ्लोरिडा आएका हुन् ।

शर्भानीले गत बर्ष सन् २०१८ मा सम्पन्न पोखरा ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । उक्त प्रतियोगितामा शर्मानीले भारतकी प्रियांसी चौहानलाई पराजित गरेकी थिइन् । यसै गरि नेपालमा सम्पन्न एटिएफले आयोजना गरेको प्रतियोगिता पनि उनि प्रथम भएकी थिइन् ।