गौरिका सिंहकाे राष्ट्रियतामा प्रश्न ??? देशबाहिरका लाखौं गौरिकाहरुले (पनि) चिनाउने छन् देश !

वरिष्ट पत्रकार प्रेम बानिया लेख्नु हुन्छ :

जब गौरिका सिंहले ‘साग गेम्स’मा चार स्वर्णसहित राष्ट्रलाई उच्च पौरख र गौरव दिइन् त्यसपछि मान्छेहरुले उनको राष्ट्रियतामा गम्भिर प्रश्नहरु गरेको देखेर लेख्न मन लाग्यो !

आज हजारौं, लाखौं गौरिकाहरु देशमा जन्मिएर वा देशमा जन्मिएका बाआमाबाट बाहिर जन्मिएर (पनि) ‘नेपाल-नेपाल’ भनी नेपालैखातिर केही गर्ने अठोटका साथ संघर्षरत छन् । अझ यो पनि भनौं गौरिकालाई ‘गौरिका’ बनाउन उनका बाआमाले गरेको संघर्षमा स्वाभिमान र राष्ट्रियताको रंग लत्पतिएको छ । तर, विदेशमा हुर्किरहेको यो पुस्तालाई नेपालको ‘राष्ट्रवादी’ भनिने एउटा पुस्ताले यसरी खेदिरहेको छ कि मानौं यी सब ‘अपराधीहरु’ हुन् ।

हो, यहीँनिर मलाई केही प्रश्नहरु गर्न मन छ :
के गौरिकाहरु जो नेपालमा जन्मिए, विदेशमा उच्च सिप र शिक्षा लिइरहेका छन् तिनले नेपाल र नेपालीका खातिर योगदान गर्न नपाउने ? गौरिकाहरु र यस पुस्तालाई देशमा बार लगाएर नेपालको भलो हुन्छ वा तिनलाई स्वागत गरेर ? अनेकौं परिस्थितीबीच देशबाहिर हुर्किरहेका लाखौंलाख गौरिकाहरुले म जन्मिएको मेरो देशका लागि योगदान गर्छुभन्दा अब अर्कैखाले ‘अराष्ट्रिय तत्व’ हुनुपर्ने हो ? किन आइरहेछन् यस्ता प्रश्नहरु ? म मेरो छोरीको भविष्यमा गौरिकाहरुको आजको दिन देखिरहेछु ! अरु लाखौं गौरिकाका अभिभावकहरु र गौरिकाहरुले यो प्रश्नको आन्तरिक रेखाचित्र बनाएका हुनुपर्छ । र, यो नेपालको राष्ट्रियता अनि स्वाभिमानको इतिहासमा नयाँ आयामको आरम्भ हो । गौरिका एक विम्ब मात्र हुन् अरु लाखौं गौरिकाहरु नेपाली स्वाभिमान र राष्ट्रियताका नयाँ बहसहरु हुन् । यस्तो नहोस् कि आमालाई सम्मान र आदर गर्दै आमाको नाममा गर्व गर्दछु भनी मातृभूमि आएको आफ्नै सन्तानलाई ‘गैर’ भनेर ‘डाम्न’ खोज्दा घेरो लगाएर घेरोभित्रको सिमिततामा घेरो बाहिरको आफ्नै असिमित सम्भावना बिरानो !

म त गर्वले छाति फुलाएर गौरिकाका अभिभावकहरुलाई सम्मान गर्दै भन्छु कि तपाईंहरुले आफ्नो ‘करियर’ वा अरु धेरै सम्भावनाहरुलाई थाँती राखेर गौरिकाका लागि दिनुभएको सिप र शिक्षा अब त्यो गौरिकाका लागि मात्र रहेन त्यो त देशका लागि भयो ! बेलायतमा बसेर तपाईंहरुले छोरीका लागि गरेको लगानी त देशका लागि गरेको लगानी भयो । म अनुमान गर्नसक्छु गौरिकालाई ‘साग गेम्स’मा चार स्वर्ण र अरु महत्वपूर्ण उपलब्धीहरु हासिल गर्नसक्ने बनाउनमा तपाईंहरुले कति धेरै पसिना पोख्नुभएको छ, कति धेरै समय योगदान दिनुभएको छ, कति धेरै लगानी गर्नुभएको छ र भन्नै नसकिने कति-कति मिहेनत र त्याग गर्नुभएको छ । र, गर्वसाथ भन्नसक्छु ती सवैसवै लगानीहरु तपाईंहरुले नेपालका लागि गर्नुभएको लगानी हो ।

आज जति पनि प्रश्नहरु गौरिकाको राष्ट्रियतालाई लिएर भइरहेका छन्, तपाईंहरुले यो सम्झिनुस् कि गौरिकालाई अझ बढी मिहेनत र समयको लगानी गर्नुपर्ने भएको छ किनकी गौरिकालाई संसारका प्रतिस्पर्धीहरुमाझ अझ केही यस्ता अग्ला गौरवका पहाडहरु चढाउनु छ जस्को चुचुरोबाट संसारले सुन्नेगरी (अस्तिजस्तै) एक पटक भन्नैपर्ने भएको छः “म नेपालकी छोरी हूँ, यो जित मेरो देशको हो ।” किनकी यहाँ सत्य, साँच्चिकै सत्य र साँच्चिकै राष्ट्रियता अनि स्वाभिमान बिक्न छाडेको छ ! कान्तिपुर टीभीका लागि साथी सविना कार्कीसँगको यो अन्तरवार्ताले झन् छाेयाे !

जय स्वाभिमान !