पुजा गर्दागर्दै भागे पण्डित दलित भन्ने थाहा पाउना साथ

साराको अगाडी अपमानित हुनु परेकामा निकै दुख लागेको छ

सरु सुनार, काठमाडौ । कपिलवस्तुको शिबराज नगरपालिका ५ चन्दौटाका मिलन बिकले कार्तिक ३० गते आफ्नो घरको घर पैचो , रुद्री र सत्यनारायणको पुजा राखेका थिए । छिमेकी , आफन्त, साथिभाई गरी करिब ३०० जनाको उपस्थितिमा गर्न लागेको सत्यनारायण पुजामा वडा अध्यक्ष लगायत नगर र विभिन्न पार्टी , मानवअधिकारकर्मी , समाजसेवीहरुको समेत बाक्लो भिड नै थियोे । मिलन बिक आफै जिल्लाका निर्माण ब्यबसायमा राम्रो छवि बनाएका ब्यबसायी भएको हुँदा आफ्ना सर्कलका इन्जिनियर , ओभरसियर देखि जिल्ला भरी नै विशिष्टहरुलाइ निमन्त्रणा र उपस्थिती देखिन्थ्यो ।

गाउँमा नजिक पन्डित नभएको हुँदा र पन्डित २,३ जना चाहिने हुँदा मिलनलाई पन्डित बोलाउन सहयोग गाउँ कै कृष्ण पौडेलले गर्नु भएको थियोे । मिलन बिक भन्छन् , कृष्ण पौडेलले बोलाइदिनु भएको हो ३ जना पन्डित खै को – को कहाँबाट ल्याउनु भो मलाई थाहा भएन ।

कसरी घटयो घटना ?

हामी घर परिवार ३० गते पुजाको दिन तयारीको लागी एकदम ब्यस्त थियौं । करिब बिहान ८ बजेतिर पन्डितहरु आएका थिए । घरमा रेखी र पुजा मन्डपमा पुजाको तयारी गर्दै थिए लगभग आधा जति पुजा सकिएको थियो । उनिहरुलाई कोही उनिहरुकै चिनजान या नाता पर्नेबाट हामी बिश्वकर्मा भएको खबर भएछ । म माथी कोठामा पुजाको ड्रेस चेन्ज गर्दै थिए करिब बिहानको १०.३० बजेको थियोे । म तल झरी पुजा मन्डपमा हेर्दा पन्डितहरु थिएनन् कतै गए होलान् भनी कुर्दाकुर्दा उनिहरु आएनन् पछी थाहा भयो दलित भन्ने थाहा पाए पछि उनिहरु भागेको भन्ने । हामीले पन्डितहरुको बारेमा खोजनिती गरिरहेका छौं एकजना पन्डित कपिलवस्तु गणगाउको लक्ष्मण ज्ञवाली भएको सुनिएको छ । उनिहरुलाइ सम्पर्कमा ल्याएर छलफल गराउने कुरा भए पनि उनिहरु सम्पर्कमा आएका छैनन् बिहिवार छलफलको लागी समय राखिएको छ र आएनन् भने अब कानुनी प्रक्रियामा जानेछु ।

यो घटनाले आफुलाई आफ्नो आत्मसम्मानमा निकै ठुलो आघात पुराएको र आफ्ना साथी , साराको अगाडी अपमानित हुनु परेकामा निकै दुख लागेको छ । म जस्तो आर्थिक रूपमा सम्पन्न एउटा ब्यबसायीलाई त खुलेलाम जातीय विभेद हुन्छ भने दुरदराजका निमुखा दलित समुदाय माथी कति विभेद भएको होला ? आफुलाइ यो घटना पछी निकै मानसिकरूपमै असर परेको बताएका छन् ।

थाहा अनलाइन बाट साभार