भित्तेकलाको लोभ लाग्दो कौशल, यस्तो छ कहानी : भित्ता कोर्ने दाह्रीवाल (भिडियो सहित)

स्कटनेपाल,

तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि भित्तेकलाको काम सुरु गरेका हुन् । लामो कपाल, झुस्स दाह्री पाल्ने उनी दाह्री ग्याङमा पनि आवद्ध छन् । सुमनले विर अस्पतालसँगै सयभन्दा बढी भित्ताहरुमा आफ्नो कला देखाईसकेका छन् । उनको यो कलाले पछिल्लो समय प्रशंसा पनि पाईरहेको छ । बिजनेस स्टडिजका विद्यार्थी उनी अहिले भित्तेकलालाई नै आफ्नो मुख्य पेशा बनाईरहेका छन् ।

जागिरको लागि कोशिस पनि गरेँ तर चित्रकलामा जस्तो रमाउन सकिन र भित्तेकलामै केन्दि्रत भएँ, उनी सुनाउँछन् । बाल्यकालदेखि चित्र बनाउन रहर गर्ने उनलाई बुवाले नै उनलाई चित्रकलाको आधारभूत शिक्षा दिए । तर, चित्रकला संघर्ष बुझेका उनले छोरोलाई मूल पेशा नै चित्रकला नबनाउन सुझाव दिने गर्थे । यद्यपि, सुमनले बुवाको इच्छा अनुसार अन्य पेशामा रमाउन सकेनन् र अध्ययनको साथमा आफ्नो कलालाई पनि उति्तकै महत्व दिए । अहिले उनको लागि रहरको काम नै जीवन चलाउने आधार बनेको छ ।

अहिले उनी काम खोज्दैनन्, उनलाई नै कामले खोज्न सुरु गरिसकेको छ । तर, पाँच वर्ष अघि भने उनी चित्रकलाबाट दिक्क भएर नैराश्यमा गईसकेका थिए । सामाजिक संजालमा रहेको दाह्री ग्याङ ग्रुपले उनको कला यात्रालाई नयाँ मोड दिएको उनी बताउँछन् । सामाजिक कार्यमा पनि उति्तकै सकि्रय दाह्री ग्याङले धुर्मुस सुन्तली फाउण्डेशनको सामाजिक काममा पनि सघाउँदै आएको थियो । त्यही शिलशिलामा विर अस्पताल रंग्याउने अभियान चल्दै गर्दा सुमनले भित्तकला गर्ने नयाँ अवसर पाए । यो अवसरले अरु थुप्रै नयाँ अवसरहरु जुराईदियो ।

उनले केही विद्यालय, थुप्रै रेष्टुरेन्ट र घरका भित्तामा आफ्नो कला देखाईसकेका छन् । हरेक पटक फरक र नयाँ सिर्जना गर्न चाहन्छन् । तर, अल्लारे उमेर र हुलियाका कारण उनलाई कतिपयले भने अविश्वास गरेर नयाँ चित्र बनाउने अवसरै दिँदैनन् ।

हेर्नुहोस् भिडियो ।